किरात राई बान्तवा समुदायको पुर्खाको एउटा कथन अनुसार मल्ल र शाहवंशीय राजाहरूले किरात राजा बुढाहाङलाई युद्धमा हराउन नसकेपछि घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे । आमन्त्रणलाई स्विकार गरी बुढाहाङ सो दावतमा सामेल भए । त्यही मौका पारी मल्ल र शाहवंशीय राजाहरूले बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिए ।
पछि किरातहरू त्यस शिलामा कोदो, मर्चा र अदुवा लगेर पुजा गर्दा त्यो शिला हल्लिने गर्दथ्यो । यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा नक्कली शिला राखिदिए जसलाई आज बुढानिलकण्ठ भनेर चिनिन्छ ।
किरात चाङफेवा हाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दीतिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपाल वंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्तासम्म उपत्यकामा शासन गरे ।
यो तथ्य हामी इतिहासहरुमा पढ्न पाउँछौं । त्यतिखेर तिनको शासन सुव्यवस्थालाई देखेर लिच्छबीवंशी आर्यहरु ईष्याले जल्दथे । उनीहरुले कैयौं पटक किराती राज्यमा आक्रमण पनि गरे । तर हरेक पटक हार व्यहोरे । कारण, किरातीहरु नागवृक्ष हावा, पानी, आगो र चट्याङ हेन्खामा र निनाम्माको पूजा अर्चना गर्दथे ।
साथै किरातीहरुले आफ्ना तीन चुलालाई सुम्निमा पारुहोङ र दृष्टिकर्ता निरेवाभुमोङको रुपमा पूजा गर्दथे । र तिनै प्रकृति र सुप्तुलुङबाट किरातीहरुले अथाह शक्ति प्राप्त गर्दथे । पछि किराती चेलीलाई टुनामुना लगाई उनीहरुले फसाए । यो उनीहरुको कुटनीति जालझेल थियो । किरातीहरुको पतनको इतिहास यहीबाट शुरु हुन्छ । किरातीहरुको राज्यमा कैयौं पटक विशाल शक्ति लगाउँदा पनि लिच्छवीहरुले हार व्यहोर्नु परेपछि किरातीहरुको शक्तिकेन्द्र सम्बन्धी जानकारी लिन उनीहरुले किराती चेलीसँग नाटकीय माया रची विवाह गरेका थिए । देखावटी रुपमा उनले श्रीमानबाट धेरै माया पाएकी थिइन् ।
त्यसैले त किरातीहरु कोमल हृदयका हुन्छन् । श्रीमानको अभुतपूर्व मायाको जालमा फसेकी किराती चेलीले श्रीमान समक्ष आफ्ना माइती किरातीरुको शक्तिकेन्द्रका बारेमा एकपछि अर्को गर्दै जानकारी गर्दै गईन् । उनले आफ्नो श्रीमानलाई सर्वस्व ठानेकी थिइन् ।
यद्यपी उनलाई आफ्ना माइतीको माया पनि बचेकै थियो । त्यसैले उनले आफ्ना बाउमाइतीको शक्तिश्रोतको बारे सुनाउनु अगाडि उनले श्रीमानलाई तीनवटा बाचा गर्न लगाएकी थिइन् ।
तीनवटा बाचाहरुः
१) बाउलाई नमार्नु २) दाजुलाई नमार्नु र ३) भाइलाई नमार्नु ।
लिच्छबवीवंशी आर्य जातिको कुटनीति यसरी सफल भयो । उनीहरुले किरातीहरुको शक्तिकेन्द्र र तिनको कमीकमजोरीको बारेमा किराती चेलीबाटै थाहा पाए । त्यसपछि लिच्छवीहरुले सर्वप्रथम किराती शक्तिश्रोतहरुलाई वित्तल पारे । उनीहरुले किरातको सांस्कृतिक धरोहरहरु नास गर्न थाले । कूलपितृ र भूमिदेवहरुमा वित्तल पार्न थाले । शुरुमा किरातीहरु जाँड, रक्सी खाँदैनथे । काटमार गर्दैनथे । किरातीहरुको सुप्तुलुङमा वित्तल पार्न लिच्छवीहरुले जाडरक्सी खन्याइदिए । सुँगुर र कुखुराको बली चढाए । यसरी किराती शक्तिकेन्द्रमा वित्तल पारे ।
र अन्तमा तत्कालिन किराती राजा खिगुहोङलाई पराजित गरेरै छाडे । राजा खिगुहोङलाई उपत्यकाको अन्तिम किराती राजा मानिन्छ । उनी यङलुहोङ यलम्बरका बत्तीसौं सन्तान थिए । उपत्यकामा किराती राजा खिगुहाङले पराजय भोगेपछि आर्यहरुको किरातीहरु माथि दबाब बढ्दै गयो ।
क्रमैसँग किरातीहरुको मौलिक भाषा, संस्कृति र परम्पराहरु माथि लिच्छवी शासकहरुले प्रतिवन्ध लगाउँदै गए । लिच्छवीवंशी आर्यहरु किरातीहरुको समूल नास चाहन्थे । जसको लागि किराती सांस्कृतिक धरोहरहरुमा प्रतिवन्ध लगाएका थिए । तिनले किराती मुन्धुम र किराती शिलालेखहरु नष्ट गर्दै लगे । उनीहरुले किराती चेलीबाट किराती धर्म र संस्कार महत्वपूर्ण शक्तिकेन्द्र हो भन्ने थाहा पाएका थिए ।
यसरी तिनको किरातीहरु माथिको दबाब बढ्दै गएपछि किराती राजा खिगुहोङ उपत्यकाबाट पूर्वतिर लागे । केही किरातीहरु उपत्यकामा नै रहे । हाल उपत्यकाका ज्यापुहरु किराती राजाका सन्तति हुन् भन्ने भनाई छ । मिथाहोङ पालुन पुमा राई वंशावली–२०६२ खिगुहोङ काठमाडौंबाट पूर्व लागि बनेपालाई आफ्नो राज्यकेन्द्र बनाए । उनका छोरो योक्नेहोङ त्यहाँका दोश्रो राजा भए । योक्नेहाङका दुई छोराहरु भए ।
उनीहरु लेलिमहोङ र खम्सोङहोङ थिए । योक्नेहोङको मृत्युपछि उनका छोराहरुले सन् ६०० राज्य विभाजन गरे । राज्य विभाजन भए अनुसार लेलिमहोङ लिम्बुवान र खम्सोङहोङ खम्बुवानको राजा भए । खम्सोङहोङका छोरा जुमहोङ थिए । जुमहोङका छोरा खम्बुहोङ भए । खम्बुहोङले आफ्नो राज्यकेन्द्र बेलकातरी वालिखामा सारे । इतिहासका अनुसार किरातीहरु उपत्यकाबाट बनेपा हुँदै बेलकातरीसम्म पुग्दा जंगली रुपमा परिणत भइसकेका थिए । आफ्नो मुन्दुम भाषा संस्कृति र परम्पराको सुरक्षाका निम्ति खिगुहोङले उपत्यका छोडे पनि स्थायी बसोबास र पूर्वशिलालेखहरुको अभावमा तिनको मौलिकता क्रमशः नास हुँदै गयो । यसरी समयक्रमसँगै किरातीहरुले आफ्नो मौलिकताका धेरै हदसम्म गुमाउन पुगे । उनीहरु शतप्रतिशत वनमा निर्भर हुन पुगे ।
वनको कन्दमुल तरुल र खोलाको माछा तिनको मुख्य आहारा बनेको थियो भन्ने आख्यानहरु पाइन्छन् । खम्बुहोङले वेलकातरीमा आफ्नो राज्यको केन्द्र बनाए । उनले नाहिमा नागाकी चेलीसँग विबाह गरे । उनीहरुका दश छोरा र एक छोरी गरी जम्मा एघार सन्तान भए ।
तिनको नामावली यसप्रकार छ : १) जेठा : मापेहोङ २) माइला : खिन्चीहोङ ३) साइला : हिनाहोङ ४) काइला : वानाहोङ ५) अन्तरे : खप्पाहोङ ६) जन्तरे : कुसेरहोङ ७) लखन्तरे : चालिमहोङ ८) मन्तरे : सेकुहोङ ९) गनन्तरे : रामलिहोङ १०) कान्छा : सेक्रोहोङ ११) छोरी : सायामा खम्बुहोङले आफ्नी छोरी सायामाको उनकै मन्त्री न्योहोङसँग विवाह गरिदिएका थिए ।
समयक्रम बढ्दै गयो । किरातीहरु ताडो चढाउन खप्पिस थिए । उनीहरु धनुषवाण लिएर सिकार खेल्न जान्थे । यसैक्रममा खम्बुहोङका छोराहरु मापेहोङ र सेक्रोहोङ बेलकातरीबाट शिकार खेल्दै सप्तकोशी पूर्वतिर लागे । घनघोर जंगलमा शिकार गर्ने क्रममा उनीहरुले आफ्नो शिकारलाई घेरामा पार्ने क्रममा थिए । दुईजनाले दुईतिरबाट घेर्न थाले । घेर्ने क्रममा मापेहोङको अगाडि चाल सुन्यो ।
नदेखिकनै शिकार हो भनी हानेको मापेहाङको बाणले भाइ सेक्रोहोङको मुटु छिचोल्यो । उनी त्यहीँ ढले । मापेहोङ बेहद बेहद पछुताए । पीडा ग्रस्त मापेहोङलाई घरमा बाबाको पनि डर भयो । र उनी अरुणको उत्तरैउत्तर लागे । उनी हालको तिब्बत पुगे र त्यहाँका ग्याल्जुङमा भुटियासँग विहे गरे । र नाम्चेमा आइ त्यसको आसपासमा उनले आफ्नो बोबी थलो बनाए । छोराहरु हराएपछि खम्बुहोङले अदुवाको कचुर काटी आफ्नो छोराहरु भएको दिशा पत्ता लगाए । कचुर जोखानामा उनीहरु बेलकातरीबाट उत्तर दिशामा भएको देखे । उनले रामलिहोङलाई छोराहरुको खोजी कार्यमा खटाए ।
रामलिहोङले मापेहोङलाई भेटे । मापेहोङले बाबु समक्ष उपस्थित भइ दुर्घटनाको वृत्तान्त बतए । उनले बाबुको गाली खानसम्म खाए । फेरि मापेहोङ आफ्नै बोबी नाम्चेतिर लागे । खम्बुहोङले छोरा सेक्रोहोङको मृत्युपछि उनको ठाउँमा छोरी सायामालाई राखेर दश सन्तानलाई दश किरातको नाम दिए । हाल पनि दश किरात एक भान्सा भन्ने लोकोक्ति किरात समुदायमा पाइन्छ ।
सायामा र न्योहोङको सन्तानलाई आफ्नै सन्तानमा गाभे । किराती लोककथाका अनुसार मापेहोङका सन्तान खालिङ खिन्चीहोङका सन्तान सुनुवार हिनाहोङका सन्तान वायुङ वाहेङ र वाम्बुले अम्बु खप्पाहोङका सन्तान कुलुङ कुसे्रहोङका सन्तान तिलुङ चालिमहोङका सन्तान चाम्लिङ साङपाङ र पुमा सेकुहोङका सन्तान दुमी नाछिरिङ लोहरुङ र याक्खा रामलिहोङका सन्तान थुलुङ र सायामाका सन्तान यम्फु र नेवाहोङ हुन् भन्ने छ ।
समयसँगै किरात बस्ती विस्तार हुन थाल्यो । दश किरातले आ–आफ्नो बोबी क्षेत्र छुटाउँदै बस्न थाले । उनीहरु जहाँ जुन ठाउँ राम्रो लाग्यो त्यही बस्न थाले । यसरी खम्बुहोङका सन्तानहरु खम्बुवान क्षेत्रभित्र आफ्नो साहोन बोबी या क्षेत्र बनाएर बस्न थाले । आफ्नो बोबी सोहोन या किपट चुन्ने क्रममा चालिमहोङका छोराहरु पनि अग्रसर भए । यस क्रममा चाम्लिङ मूलघरमा बस्ने भयो भने साङ्पाङले आफ्नो सोहोन छुट्यायो । दाइहरुले राम्रो क्षेत्र उनीहरुको साहोन बनाएपछि पुमाहोङ पनि आफ्नो अनुकुल ठाउँ खोज्न मूलघरबाट दक्षिणतिर परदेश झर्यो ।