काठमाडौं । मंगलवारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन हलभित्र अहिले नयाँ नेतृत्वको खोजी भैरहेको छ । पुरानो नेतृत्वले आफूहरुलाई गौरव गर्नसक्ने स्थानमा लैजान नसकेको भन्दै राप्रपाका केही नेताहरु नयाँ नेतृत्व चयन गर्ने सिलसिलामा जुटेका छन् ।
राप्रपाको महाधिवेशन हलमै युुवा नेताहरु आफूहरुलाई नयाँ नेतृत्वमा ल्याउन लबिङ गर्दै प्रचार प्रसारमा लागि परिरहेका छन् । यिनीहरुको एउटै माग छ, नेतृत्व हस्तान्तरण हुनु पर्छ । राप्रपा अध्यक्ष कमल थापा र अर्का नेता राजेन्द्र लिङदेन चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।
यी दुवैले आआफूले जित्ने दाबी गरिरहेका छन् । कमल थापा भन्छन्– ‘निर्मल निवासको हस्तक्षेप नहोस्, मैले अत्यधिक मतले जित्छु ।’ तर लिङदेन पनि ढुक्क देखिन्छन् । उनले आफू विजयी हुनेमा ग्यारेन्टी रहेको घोषणा गरिरहेका छन् । डा. प्रकाशचन्द्र लोहनीको समर्थन लिङदेनलाई रहेको हुँदा पनि उनी बढी ढुक्क देखिएका हुन् । त्यसो त युवाहरुको टिम उनको पक्षमा रहेको छ ।
पहिले पनि नेतृत्वकै लागि सहमति हुन नसक्दा तीनजना अध्यक्ष रहेको यो पार्टी आफैमा नेताहरुको पार्टीमा परिणत हुन गएको छ । युवाहरुको कमै अस्तित्व देखिने यो पार्टीमा हुन गैरहेको महाधिवेशनबाट नेतृत्व नयाँ पुस्तामा आउन सक्ने कुरा सपनाजस्तो पनि देखिन गएको छ ।
तर पनि पार्टीभित्र सापेक्ष युवा पुस्ताको प्रतिनिधित्व गर्ने राजेन्द्र लिङदेन, धवलसमशेर जवरा आदि नेताहरुले पहिल्यैदेखि युवा पुस्ताको तर्फबाट लबिङ गर्दै आएका छन् । उनीहरुको जोड अब विना ढिलाइ राप्रपाको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनु पर्छ भन्ने रहेको छ ।
तीनजना अध्यक्ष बनाएर बल्लतल्ल निर्माण गरिएको राप्रपा अबका दिनमा फेरि फुटको संघारमा पुग्ने त होइन भन्ने प्रश्नको जवाफमा राप्रपा नेतृ नानु आचार्य भन्छिन्– ‘नेतृत्व अहिले नै हस्तान्तरण गर्न सकिने अवस्था देखिएको छैन, अर्कोतिर फुट पनि राप्रपाका लागि स्वीकार्य छैन, त्यसैले मिलेर अघि बढ्नुको विकल्प देखिदैन ।’
नानु आचार्य यसैमाथि बल पुग्ने संकेत गर्दै थप्छिन्– ‘नेतृत्व पाको, अनुभवी र राष्ट्र तथा अन्तर्राष्ट्रले पत्याएको हुनुपर्छ । रहरले मात्र नेतृत्व स्वीकार्य हुँदैन ।’ तर पनि यसपालीको महाधिवेशनमा भने पुस्ता हस्तान्तरणको विषय पेचिलो बनेर उठेको छ ।
युवा पुस्ताको नेतृत्व गर्न जमजमाएर अघि बढिरहेका नेता राजेन्द्र लिङदेनको भाषामा अहिलेका नेताहरुले आफूहरुलाई गर्व गर्नसक्ने ठाउँमा पुर्याउन सकेनन् । यसको विकल्प भनेको नयाँ नेतृत्व निर्माण नै हो ।
यसरी पुरानो पुस्ता र नयाँ पुस्ताको लडाइँमा होमिएको राप्रपपामा रहेका अधिकांश नेताहरुको अबका दिनमा राप्रपा फुट्नु हुँदैन र निर्वाचन भए पनि एकढिक्का भएर जानु पर्छ भन्ने समान धारणा रहिआएको देखिन्छ । तर पनि पशुपति समशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको छायाँ रहिरहेको पार्टी राप्रपा उक्त छायाँबाट मुक्त हुन सक्ला भन्ने प्रश्न सबैका माझमा उभिइरहेको छ ।