• मंसिर १० २०८१, सोमबार

एमाले महाधिवेशन : ओलीका बफादार विजयी, विरोधी पराजित

मंसिर १५ २०७८, बुधबार

काठमाडौं । एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली चाहेका व्यक्तिहरू मात्र केन्द्रीय कमिटीमा आएका छन् । प्रतिनिधिले मत दिने आफ्नो अधिकार ओलीलाई सुम्पिएर केन्द्रीय कमिटी र पदाधिकारीको सूची तयार पारिएको थियो ।

प्रतिनिधिले केन्द्रीय कमिटी चयन गर्ने अधिकार प्रयोग गर्दै ओलीले आफूप्रति बफादारहरूको केन्द्रीय समिति र पदाधिकारीको सूची बनाएका थिए । उनले तयार पारेको सूचीलाई महाधिवेशनको बन्दसत्रमा मध्यराति वाचन गरिएको थियो । जसलाई पछि निर्वाचन प्रक्रियामार्फत औपचारिकता दिइएको छ ।

दसौं महाधिवेशनबाट ओलीका काम र क्रियाकलापको आलोचना गर्नेहरू कमिटीबाट बाहिरिएका छन् । फरक मतको नेतृत्व गर्नेहरू बाहिरिएसँगै ओलीप्रति बफादारहरू रहेको केन्द्रीय कमिटी र पदाधिकारी रहेको नेतृत्व चयन भएको छ । विगतमा केन्द्रीय कमिटीमा रहेकाहरूलाई पनि समेटिएको छ तर उनीहरूले रावल र भूसालले जसरी ओलीका क्रियाकलापको आलोचना गर्ने सम्भावना न्यून देखिन्छ ।

आफ्नो टिम चयन गर्ने सर्वाधिकार प्रतिनिधिबाट पाएका ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई राखे । अन्तिम समयसम्म पनि उक्त पदमा उम्मेदवारी दिने अडान लिएका सुवासचन्द्र नेम्वाङलाई नसोधिकनै पोखरेललाई उक्त पदमा रोजियो । नेम्वाङसहित रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डेलाई उपाध्यक्षको जिम्मेवारी तोके । जसको निर्वाचनबाट अनुमोदन भयो ।

अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा ओलीले आफ्ना एस म्यानु शंकर पोखरेललाई रोजे । नवौं महाधिवेशनका प्रतिनिधिले उपमहासचिवमा नरुचाएका शंकरलाई ओलीले दसौं महाधिवेशनमा महासचिव नै बनाए । त्यस्तै, उपमहासचिवमा पनि ओलीले आफ्ना बफादारहरूलाई नै अगाडि सारे ।

प्रतिनिधिले तपाईंले ल्याएका नाम थपडी बजाएर पारित गर्छौं भनी सबै अधिकार दिएपछि ओलीले आफ्ना अर्का विश्वासपात्र विष्णु रिमाललाई उपमहासचिव बनाएका थिए । उनी नवौं महाधिवेशनमा सचिवमा पराजित भएका थिए । उनले उपमहासचिवमा रिमालसँगै आफ्ना विश्वासपात्रहरू पृथ्वीसुब्बा गुरुङ र प्रदीपकुमार ज्ञवालीलाई जिम्मेवारी दिए ।

सचिव पदमा पनि ओलीले दुई पुरानै अनुहारलाई दोहोर्याए । १० बुँदे सम्झौता गरी एमालेमै फर्किएका र पछिल्लो समय ओलीका क्रियाकलापप्रति कुनै प्रश्न नउठाएका योगेश भट्टराई र गोकर्ण विष्टलाई सचिवको सूचीमा राखियो । ७ जना सचिवमध्ये ओलीको रोजाइमा पर्ने बाँकी नामहरू छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा अर्याल, रघुवीर महासेठ र लेखराज भट्ट हुन् ।

सचिवमा ओलीको यो रोजाइलाई यसअघिका सचिव भीम आचार्यले चुनौती दिए । उनी यसअघि ओलीको टिममा थिएनन् । पार्टी विभाजन भएपछि प्रदेश १ को मुख्यमन्त्रीको जिम्मेवारी पाएका आचार्यले अन्याय भएको महसुस गरेर उम्मेदवारी दिएका थिए र पराजित हुन पुगे । त्यस्तै, बौद्धिक नेताको छवि बनाएका पूर्वराजदूत टंक कार्की ले पनि सचिवमा उम्मेदवारी दिए । उनको पक्षमा पनि एमालेका प्रतिनिधिले आवश्यक मत भने जाहेर गरेनन् ।

एमालेको पदाधिकारीमा ओलीले बफादार रोज्दा कतिपय नेताहरू पाखा लागेका छन् । उनीहरू ओलीले दिएको जिम्मेवारी लिने र चुपचाप रहन बाध्य भएका छन् । पदाधिकारीको रूपमा हेरिएकी र पार्टीमा नेतृत्वलाई आलोचनात्मक साथ दिँदै आएकी बिन्दा पाण्डे महिला खुला सदस्युको एक नम्बरमा चित्त बुझाउन बाध्य भइन् ।

पार्टीमा निर्वाचन भए पदाधिकारीमा एक तिहाई महिलालाई उम्मेदवार बनाउने तयारीसाथ चितवन पुगेकी उनी त्यो स्थिति नै नआएको बताउँछिन् । निर्वाचनमा जाने स्थितिमा एकतिहाइ उम्मेदवारी दिने तयारी थियो तर जान पाएनौं । हलले सूची तयार गर्ने सर्वाधिकार अध्यक्षलाई दियो । उहाँले जोजो सहज हुन्छन्, उनीहरूलाई टिममा राख्नुभयो । त्यसको विपक्षमा जानुको खास अर्थ थिएन, उनले भनिन् । उपमहासचिव पदमा उम्मेदवारी दिने तयारीसाथ महाधिवेशनस्थलमा पुगेकी उनले ओलीले दिएको जिम्मेवारीमै चित्त बुझाएकी हुन् ।

पदाधिकारीको अपेक्षा गरेर चितवन पुगेका लालबाबु पण्डित भने महाधिवशेन नसकिँदै काठमाडौं फर्किए । उनले ओलीले दिएको केन्द्रीय सदस्य पनि अस्वीकार गरे । ओलीको सूचीमा परेका पण्डितले त्यसलाई वैधानिकता दिने मनोनयनको प्रक्रियामा भागै नलिई सोमबार नै काठमाडौं फर्किए ।

पार्टीको साधारण संगठित सदस्य भएर काम गर्ने अबको योजना रहेको उनले बताए । पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा थिएँ । त्यसमा नेतृत्वले अर्कै सूची घोषणा गरेपछि बागी, विद्रोही बन्न चाहिनँ । बागी र विद्रोह मेरो खुनमा छैन, उनले भने, अहिले जस्ता प्रतिनिधि आउनु भएको छ, यो परिस्थितिमा नेतृत्वको सूचीबाहिर गएर उम्मेदवारी दिनुको अर्थ थिएन ।

ओलीले सकेसम्म कसैलाई पनि उम्मेदवार बन्न नदिने नीति लिए । जसको उदाहरण दुई दिनको बन्दसत्र कसरी चल्यो भन्नेबाट देखिन्छ । बन्दसत्रको पहिलो दिन ८ बजे सुरु हुनुपर्ने बन्दसत्र दिँउसो चार बजेमात्रै सुरु भएको थियो । आफ्नो खेमामा रहेका नेताहरूलाई पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार बन्न रोक्नका लागि त्यो दिन उनले पूरै समय खर्चिए । साँझ बसेको बन्दसत्रबाट ओलीले प्रतिनिधिको चुन्ने र चुनिने अधिकार आफूमा खिचेका थिए । जसको भीम रावललगायतले विरोध गरेका थिए । त्यसरी विरोध गर्दा ओली पक्षका नेताहरूले बन्दसत्र हलभित्रै रावलविरुद्ध हुटिङ भएको थियो ।

बन्दसत्रको दोस्रो दिन १२ गते पनि दिनभर ओलीले आफू निटक नेतारहरूलाई मनाउन खर्चिए । वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका नेम्वाङ र महासचिवमा उम्मेदवारी दिन तयार भएका विष्णु पौडेललाई मनाउन उनले समय खर्चिए । साथै उनले केन्द्रीय सदस्यको सूची पनि तयार गरिरहेका थिए ।

ओलीले सूची लिएर राति बन्दसत्रमा प्रवेश गर्दा भोट माग्न लागेका भीम रावलविरुद्ध चर्को नारबाजी भयो । ओली सेभेन स्टर होटेलस्थित बन्दसत्रस्थलमा प्रवेश गर्दा रावलविरुद्ध केपी बा वी लभ यू, आज होइन भोलिलाई १० वर्ष ओलीलाईु भनेर नाराबाजी गरिरहेको भीडले पार्टी फुटाउने मतियार होसियार, भीम रावल गद्दार हो, ओलीसँगको जोरी त्यहिँ तिम्रो कमजोरी भन्दै नाराबाजी गरे ।

सर्वसम्मत बन्नका लागि हरसम्मभव प्रयत्न गरेका ओलीलाई निर्वाचनमा जान बाध्य पारेका रावलविरुद्ध ओली पक्षको असहिष्णुता काठमाडौंबाटै सुरु भएको थियो । अध्यक्षमा उम्मेदवारी घोषणा गर्नक लागि थापाथलीस्थित केन्द्रीय कार्यालयमा ठाउँ नपाएका रावलले रिपोर्टर्स क्लब पुग्नुपरेको थियो । अध्यक्षको उम्मेदवारी घोषणा गरेर सौराहा पुगेका दिन नै उनी बसेको होटल बाहिर नाराबाजी गरियो । जसका कारण उनले आफू बसेको होटल परिवर्तन गर्नुमात्रै परेन सुरक्षाकर्मीको संख्या पनि बढाउनुपर्‍यो ।

रावलले बन्दसत्रमा बोल्ने मौका पाएनन् । जबकी ओलीले सवा २ घण्टा भाषण गरेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । रावलले भने आफू किन अध्यक्षको उम्मेदवार बन्न लागेको छु भनेर तयार पारेको पत्र पनि बाँड्न पाएनन् । रावलले अध्यक्षमा किन उम्मेदवारी दिए भनेर वितरण गरेको पत्र बाँड्न त्यहाँ खटिएका स्वयं सेवकले दिएन । अर्कातिर ओलीले सार्वजनिक गरेको सूचीबाहिर गएर उम्मेदवार बनेकालाई भोट नदिन भनेर मंगलबार सूची नै बाँडियो ।

कतिपयले महाधिवेशनबाट ओलीले आफ्ना विरोधीलाई तह लगाएको रूपमा व्याख्या गरेका छन् । रावल र भूसालले ओली सरकारमा रहँदा र प्रतिनिधिसभा विघटनमा साथ नदिएका कारण अहिले उनीहरूलाई तह लगाउने मौकाका रूपमा व्याख्या गरिएको छ । सचिवका प्रत्यासी टंक कार्कीले भने, संस्थापन पक्षलाई हर हालतमा विपक्षीको नामोनिसान मेट्न लागेको देखिन्थ्यो । यत्रो बलियो भएको ठान्ने मान्छे (केपी ओली) ले यस्तो तल्लो स्तरको अभ्यास गर्न मिल्छ रु संस्थापन पक्षमा हुर्किइरहेको असहिष्णुता महाधिवेशनको सम्पूर्ण प्रक्रियामा झल्कियो ।

महाधिवेशनमा ओली पक्षबाट भएका क्रियाकलापलाई जित्नका लागि जे पनि गर्ने प्रवृति भएको कार्कीको भनाइ थियो । यो महाधिवेशनको क्रममा संस्थापन पक्षबाट असभ्य असहष्णुता प्रदर्शन भयो । लोकतन्त्र भनेको सहिष्णुता पनि हो । लोकतन्त्रमा सहिष्णुता, संयमता र स्वच्छता चाहिन्छ तर उहाँहरूले साध्य प्राप्त गर्नका लागि जुनसुकै साधान प्रयोग गर्न खोजेको जस्तो देखिन्छ, उनले भने ।

लोकतान्त्रिक ढंगबाट नेतृत्व चयन भएको भन्दै नेता खगराज अधिकारी भने असहिष्णुता प्रदर्शन भएको भन्ने कुरा मान्न तयार छैनन् । उनले भने, महाधिवेशन अत्यन्त लोकतान्त्रिक ढंगले कुनै ठाउँमा सर्वसम्मत र कुनै ठाउँमा निर्वाचनबाट महाधिवेशन सम्पन्न भयो । उन्नत स्तरबाट नेतृत्व चयन भएको छ । महाधिवेशनमा लोकतन्त्रलाई ठेस पुगेको भन्नेहरूले नवौं महाधिवेशनमा के गरेका थियौं भन्ने स्मरण गर्नुपर्ने अधिकारीको भनाइ छ । पार्टीभित्र लोकतन्त्रलाई ठेस पुग्यो भन्नेहरूले नवौं महाधिवेशनमा के गर्नुभएको थियो रु त्यस्तो नै गरिएको ठान्नुहोला तर त्यो होइन, उनले भने । भीम रावलको पक्षलाई भोट नदिन भनेर पर्चा वितरण गर्नेहरू पार्टीका आधिकारीक नभएको पनि ओलीको भनाइ थियो ।

ओलीले आफ्ना बफादारको पदाधिकारी र सदस्यको टिम बनाएको भन्नेबारे भने अधिकारीले जवाफ दिन मानेनन् । उनले भने, अध्यक्षले आफ्ना बफादारको टिम छनोट गरेको विषयमा त उहाँलाई नै सोध्नुपर्ने होला । यो समाचार कान्तिपुर दैनिकमा छ ।