काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आफू पुनर्गठन भएको आठौँ दिवस मनाएको छ । देशका विभिन्न जिल्ला र पालिकास्तरमा कार्यक्रम ठोस गरेर देशव्यापी रुपमा पार्टीको पुनर्गठन दिवस मनाउने निर्णय गरेअनुसार महासचिव विप्लव नेतृत्वको सो कम्युनिष्ट पार्टीले साताव्यापी रुपमा आफ्नो पुनर्गठन दिवस मनाएको हो ।
सोही अवसरमा पार्टीको काठमाडौँ जिल्लाको आयोजनामा राजधानीमा एक विशेष समारोह गरेर सो दिवस मनाइएको छ । पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौँ जिल्लाद्वारा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले नेपालमा नेपाली जनताको इच्छा र चाहनाविपरित लादिएको दलाल पुँजीवादी राज्य व्यवस्थाले नेपाली जनतालाई लुट्नुसम्म लुटेको बताए ।

दलाल पुँजीवाद नै आफूहरुको क्रान्तिको दुश्मन भएको भन्दै ‘एकीकृत जनक्रान्ति’को निशाना पनि दलाल पुँजीवाद नै भएको कुरामा उनले जोड दिए । उनले भने, ‘दलाल पुँजीवाद एकीकृत जनक्रान्तिको दुश्मन हो ।’
कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला इञ्चार्ज माइला लामाले आफ्नो पार्टी र आफूहरुलाई देशका श्रमजीवी, देशभक्त तथा वामपन्थीहरुको साथ भएकाले आफूहरु अहिले पनि शक्तिशाली भएको धारणा व्यक्त गरे ।
आफूहरुले निरन्तर क्रान्तिका क्रममा ‘एकीकृत जनक्रान्ति’मा सहिद भएकाहरुका हत्याराहरुसँग कुनै पनि हालतमा पार्टी एकता नगर्ने उल्लेख गर्दै लामाले भने, ‘माओवादी केन्द्रका नेताहरुले आफ्नो पार्टीका इमान्दार तथा क्रान्तिकारी नेता, कार्यकर्ताहरु नेकपामा जानबाट रोक्न सकिन्छ कि भनेर पार्टी एकताको अफबाह फैलाएका छन् ।’

कम्युनिष्टको नाम बेचेर खाने दलालहरुसँग कहिल्यै एकता हुन नसक्ने बताउँदै उनले अगाडी भने, ‘नेपालका जुनै पार्टीमा भएका इमान्दार, देशभक्त र क्रान्तिकारीहरुसँग ध्रुवीकरण भने हुनेछ ।’
नेपालको सिंगो कम्युनिष्ट आन्दोलन र माओवादी आन्दोलन प्रचण्ड र बाबुरामहरुको छायाबाट बाहिर आइसकेको उनको भनाइ रहेको छ ।
कार्यक्रममा सो पार्टीका केन्द्रिय सदस्य टेकबहादुर केसी ‘आजाद’, केन्द्रिय सदस्य प्रज्ज्वलन, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द, जनक्रान्तिका महान सहिद परिवार संगठनका अध्यक्ष खुमा सुवेदी, जनपत्रकार संगठनका केन्द्रिय संयोजक शेरबहादुर बि.क., अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया, युवा संगठनका महासचिव सावित्रा अधिकारी ‘विदुषी’, अखिल (क्रान्तिकारी)महासचिव मिलन राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टी प्रतिबन्धको समयमा सहिद हुनेहरुका परिवारका साथै घाइते हुनेहरुलाई विशेष सम्मान गरिएको थियो । पार्टी पुनर्गठन दिवस मनाउन उपस्थित भएका सो पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी स्थापना दिवसलाई एक आपसमा खुसियाली साटफेर गरेर मनाएका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सुदर्शनले आठवटा दियो बालेर कार्यक्रमको उदघाटन गरेका थिए भने उपस्थितहरुले एक आपसमा अबिर आवरण गरेर खुसी साटासाट गरेका थिए । कार्यक्रममा जनवादी कविहरुले कविता वाचनका साथै जनकलाकारहरुद्दारा जनावादी गीत र नृत्य प्रस्तुत गरिएका थिए ।
काठमाडौँ जिल्लाद्वारा आयोजित सो कार्यक्रमलाई जिल्ला सचिव तुल्सी नारायणले अध्यक्षता गरेका थिए । कार्यक्रमलाई जिल्ला सचिवालय सदस्य भीम बटालाले सञ्चालन गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाई सचिवालय सदस्य अनिल खड्गाले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।
थप तस्विरहरु⇓







