काठमाडौँ। आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। युएईमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार भुटानलाई ८ विकेटले हराएको हो।
भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पार गर्यो।
नेपालको जितमा सीता रानामगरले १७ रन जोडिन्। उनले १३ बलमा २ चौका प्रहार गरिन्। कप्तान रूबिना क्षेत्री १० रनमा रनआउट भइन्।
इन्दू बर्माले नटआउट २६ रन जोडिन्। उनले २६ बल नै खेल्दा २ चौका हिर्काइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ६ विकेटको क्षतिमा ६१ रन जोड्यो। भुटानका लागि ओपनरद्वय नवाङ छोडेन १३ रन र सोनाम पाल्दनले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा नेपालकी सीता रानामगरले ३ विकेट लिइन्। उनले ४ ओभरमा १० रन खर्चिइन्। करुणा भण्डारीले १ विकेट हात पार्दा भुटानका दुई ब्याटर रनआउट भए।
अब नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ।
छनोटको अंक तालिकामा युएई लगातार दुई जित निकालेर ४ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपाल, भुटान र हङकङले २-२ अंक जोडेका छन्।
यसअघि नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो।
छनोटमा नेपालसहित घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। ।