काठमाडौं । रुसले आफ्नो अत्याधुनिक क्षेप्ययास्त्र मार्फत् आफ्नै भूउपग्रह खसालेर प्रविधिको सफल परीक्षण गरेपछि त्यसको तीखो आलोचना गरिरहेको अमेरिकी नासाले डार्ट मिसन अन्तर्गत डाइमर्फस क्षुद्रग्रहमाथि प्रहार गर्ने गरी आफ्नो प्रविधि प्रयोगमा ल्याउने भएको छ ।
नासाका अनुसार यो प्रविधिले अन्तरीक्षयान र पृथ्वीका लागि खतरनाक हुनसक्ने क्षुद्रग्रहलाई पृथ्वीमा बज्रन आउन नदिनबाट बचाउनका लागि ठूलो काम गर्ने छ । यसको उद्देश्य भनेको क्षुद्रग्रहलाई अन्यत्र मोड्न उक्त प्रविधिले प्रहारमार्फत् सहयोग पुर्याउनु हो ।
नासाको डार्ट मिशनले कुनै पनि बेला पृथ्वीतिर आएर मानव जीवन नै ध्वस्त पार्नसक्ने त्यस्ता क्षुद्रग्रहको दोहोलो काढ्न यो परीक्षण सफल हुने आशा गरेको छ ।
यो परीक्षण नासाले पत्तालगाएको डाइमर्फस नामक क्षुद्र ग्रहसँग ठोक्काएर त्यसको गति र मार्गलाई अर्कोतिर परिवर्तन गर्न गरिने भएको छ । नासाका अनुसार यो परीक्षण सफल भएमा कुनै पनि बेला पृथ्वीमा आएर ठोकिइ क्षुद्र ग्रहले गराउन सक्ने चट्टानी वर्षा र लाभाको समुद्रको अवस्थाबाट पार पाउन सकिने छ ।
यो परीक्षण बुधवार नेपाली समयानुसार मध्याह्न १२ः०५ बजे क्यालिफोर्नियाबाट गरिने छ । अमेरिकी फाल्कन–९ रकेटले डार्टलाई अन्तरीक्षमा पु¥याउने आशा नासाले गरेको छ ।
यो मिसनमा ३३ करोड अमेरिकी डलर खर्च हुने बताइएको छ । यसले बाइनरी भनिने एकअर्कालाई परिक्रमा गर्दै आएका जुम्ल्याहा क्षुद्रग्रहलाई लक्ष्य बनाउने भएको छ ।
(एजेन्सीको सहयोगमा)