• मंसिर ११ २०८१, मंगलवार

मंगलचौथी र श्रीगणेशको चर्चा

मंसिर ७ २०७८, मंगलवार

यसै मंसिर ७ गते विशेष दिन मंगल चौथी परेको छ । हाम्रो जीवनसँग यस्तो पर्व यस्ता विशेष दिनमा गरिने श्रीगणेशजीको सेवा बारे चर्चा गर्ने यो लेखको उद्देश्य रहेको छ । त्यसो त भाद्र शुक्ल चतुर्थीलाई गणेशको जन्मदिनको रुपमा मान्ने चलन हो । यो दिनलाई शिवा भनिन्छ । माघ शुक्ल चौथीलाई भने शान्ता भनिन्छ र हरेक मंगलबारको चौथीलाई भने सुखा भनिन्छ र यी यस्ता दिनहरु विशेष वन्दनीय छन् । अन्य दिनमा गरिएका हजारौं पुण्यकर्म बराबरको फल यस्ता दिनको एकैक्षणले प्राप्त हुन्छ । कल्प अनुसार गणेशजीकोे उदय बारे फरक मत छ । सूर्य पुत्र शनिको दृष्टि पर्दा उनको शिरच्छेदन भई श्रीविष्णुको हातबाट हात्तीको टाउकोद्दारा जियाइएको प्रसंग पनि छ । कतै माता पार्वतीले आफ्नो शरीरको मयलबाट गणेशको उदय गराइएको र पछि पिता शिवको कोेपभाजन  हुँदा शिरच्छेदन भएको र माता पार्वतीको शोक निवारण गर्न हात्तीको टाउकोले उनलाई जियाएको कथा प्रसंगहरु भेटिन्छन् । पछि गणेशजीकै व्रतबाट पार्वती माता र सबै देवताको कष्ट निवारण भएका प्रसंगहरु पुराणहरुमा पाइन्छ ।

गणेशका ठूला कान छन् जसले हामीलाई अरुको कुरा धेरै सुन्नु पर्ने संकेत गर्छ, तर प्रतिक्रिया दिने कम गर्नु पर्छ । उनमा भएको ठूलो पेटले संसारका सबै प्राणी जति खाए पनि नअघाउने संकेत गर्छ तर मानिसले थोरै र सात्विक आहार गर्नु पर्ने संकेत मिल्छ । उनका आँखा साना छन्, हात्तीका आँखा साना भए पनि सूक्ष्म सियो पनि उसले सजिलै देख्छ । हात्ती हेर्दा आकारले ठूलो छ तर एउटा समान्य माउतेको अधीनमा हुन्छ, ऊ । यसको तात्पर्य हामी सबैले अरुलाई ठूलो देख्नु पर्छ, समाजमा आपूm सानै देखिएर पनि प्रगतिमा अग्रसर हुन सकिन्छ भन्ने संकेत हो, बडप्पन गर्नु हुन्न भन्ने हो । बाँगो सूँडले भने सबैलाई समालोचनात्मक, समीचीन रुपमा हेर्नु पर्छ भन्ने हो ।

आगह्र पूर्वाग्रहको दृष्टिले हेर्नु हुँदैन । गणेशका आँखा साना छन् तर संसार हेर्ने दृष्टि साह्रै ठूलो छ । बाहन मुसो हो र पनि मयुर बाहक कुमार भन्दा प्रतिष्पर्धामा खरो उत्रन्छन् श्रीगणेश, आमा बाबुको सेवागर्नु भनेको संसारको विजय गर्नु हो भन्ने संकेत मिल्छ यसबाट । मोहलाई नाश गर्नु भन्ने पनि हो । आफ्नो ह्याउ हेरेर काम गर्ने, घाँटी हेरी हाड निल्ने अरुको धेरै नक्कल नगर्ने, सादा जीवन उच्च बिचार पनि हो । गणेशको शरीरमा भएका मालाले मानिसले गर्ने हरेक दिनको सुकर्मको गिन्ती गर्न सिकाउँछ, हामीले हरेक दिन कति राम्रो काम गर्न सकियो त्यही नै हाम्रो सम्पत्ति होे भन्ने सिकाउँछ । देवताका गलामा लागेका अक्ष मालाले हामीले पुण्यलाई अक्षय गर्न भनिएको हो । दे उता अर्थात् यता होइन, उपकार गर अरुलाई देऊ को अर्थ नै देवता होे । आफ्नो मात्र सोच्ने जिन्दगी राक्षसी हुन्छ, पशुवत् हुन्छ, मानिस  आफै देवता हो । यसले जति परोपकार अरु कसैले गर्न सक्दैन ।

प्राचीन, अर्वाचीन मात्रै होइन सत्ययुगदेखि नै तपोपुरीको नामले चिनिने नेपालको मुख्य स्थल काठमाडौंको चारै दिशामा सूर्य विनायक, कार्य विनायक, अशोक विनायक र चन्द्र विनायकले यस नगरीलाई संरक्षण दिएका छन् । स्थान विशेषमा गणेशको मन्दिर, मूर्ति मुलुकभरि यत्र तत्र नै छन् । हनुन्मती, वागमती, विष्णुमती एवं रुद्रमती साक्षी स्वरुप बग्ने चार नदी यी चारै गणेशका स्थलहरु हिजो आज प्रदूषित छन् । यसमा थप अध्ययन अनुसन्धान हुन जरुरी छ । यी लगायत नेपालमा रहेका असंख्य प्रसिद्ध देवदेवी स्थलहरुवाट हामीले वाह्य पर्यटनलाई समेत प्रसस्त टेवा, सेवा गर्न सक्छौँ । विश्वका सभ्य र विकसित क्षेत्रमा जे छैन त्यो हामी कहाँ छ यसलाई हामीले गौरव मान्नुपर्छ, नष्ट हुन दिनु हुँदैन ।

पूर्वीय दर्शनमा मङ्गलचौथीलाई अत्यन्तै शुभ दिन मानिन्छ । मानिसलाई नैतिक र चारित्रिक बनाउने हाम्रो पूर्वीय दर्शनशास्त्रका अधिकांश रचनाहरुका मूल लेखक श्रीगणेश नै हुन् । पूर्वीय धर्म संस्कतिमा कुनै पनि कार्य सिद्धिका लागि मङ्गलाचरण गर्ने गरिन्छ । वाणीका देवता श्रीगणेशलाई स्मरण गर्नाले निर्विघ्नतापूर्वक कार्य सम्पन्न हुने र मानिसका इच्छा सिद्धि हुने विश्वास गरिन्छ । शिव–गौरी पुत्रका रुपमा रहेका श्रीगणेशको उदय भाद्र शुक्लचतुर्थीमा भएको हो । त्यस दिनको सर्वकल्याण महत्व बढी भए आफैं माघशुक्ल, असारशुक्ल र मंगलबार सहितको चतुर्थीलाई मानिसका लागि क्रमशः मनको शान्ति र शरीरको सुखको प्रतीकका दिनका रुपमा लिइन्छ । त्यस्तै मंगलबार युक्त चौथी परेको मङ्गलचौथीले जीवनमा असीम आनन्द प्राप्त हुने गर्छ । वर्षमा कहिलेकँही मात्र पर्ने यस्तो पर्वको विशेष महत्व छ ।

गणेश उपासना गर्दा धेरै मन्त्र जप गर्न सकिन्छ मूल मन्त्रःभने ॐ एक दन्ताय विद्महे बक्रतुण्डाय धीमहिः तन्नो दन्ती प्रचोेदयात् हो । सबैलाई सजिलो मन्त्र भनेः ॐ गं गणपतये नम : हो । तनाव, क्रोध, आवेग एवं रक्तचाप र अशान्ति मेटाउन पनि र कलहका कारक मंगलग्रहको दोष निवारण हेतु पनि श्रीगणेशको उपासना गर्नु पर्छ । २१ वटा मगलबारको व्रतले मंगल दोष निवारण हुन्छ । ज्योतिष शास्त्र अनुसार जन्म कुण्डलीमा मंगलदोष, बालग्रह, अरिष्ट शान्ति, त्रिभागी एवं योगीनी दशा शान्ति गर्न पनि मंगलबार श्रीगणेशको विशेष पूजा आराधना गर्नु पर्ने हुन्छ । २१ दुवो, २१ लड्डू, रातो बस्त्र, रातो पूmल सहित गणेशजीको उपासना गर्नाले मानिसको स्थूल शरीर र यसैको सूक्ष्म शरीर मनको विकार नाश हुन्छ । व्रतमा गहुँको परिकार र शख्खरको सेवन राम्रो मानिन्छ । यसो गर्दा शरीरका बिकार नास भई तेज वृद्धि हन्छ ।

तमाम बिघ्न बाधा हटाई सम्मान चाहनेले श्रीगणेशको आराधनामा अल्छी गर्नु हुन्न । बालकहरुलाई सर्वप्रथम शिक्षा आरम्भ गर्दा श्रीगणेशाय नमः भनी सरस्वतीको पूजा साथ अध्ययन सुरु गराइन्छ भने गणेशको पूजामा वेलपत्र अर्पणलाई निषेध मानिएको छ । विध्नेश, हेरम्व, गजानन, सुर्पकर्ण, विनायक, लम्वोदर, एकदन्त र गणेश गरी तिनको ८ नाम मुख्य छन् भने गणेशका हजार नाम लिई मन्त्र जप र हवन कार्य गर्नाले जुनसुकै कडा रोग पनि निको हुने विश्वास गरिन्छ । सवैजसो पूजामा अग्रपूजाका अधिकारी श्रीगणेश नै हुन् । जीवनको सुख, सौभाग्य, कीर्ति, यश, पराक्रम, धन र मनोवल प्राप्त गर्न गणेशकै आशीर्वाद आवश्यक छ । मानिसको शरीर भनेको पञ्चतत्वको पिण्ड हो । चित्त शक्ति आत्माको प्रवेशले यसलाई चलायमान गरेको हुन्छ । प्रकृतिका पाँच तत्वले बनेको शरीर संरक्षणमा पाञ्चायन देवता शिव–विष्णु–देवी–सूर्य र गणेशको प्रमुख देन रहेको हुन्छ । शिव ज्ञानका प्रतीक, विष्णु शरीर सन्चालनका प्रतीक, देवी शक्तिको प्रतीक, सूर्य आत्माको प्रतीक र गणेश वाकशुद्धि, वाणीका प्रतीक हुन् । कोमल हिर्दय र मधुर वाणीका लागि गणेशको सेवा गर्नु पर्छ ।

पूजा वा उपासना भन्नु मनको एकाग्रता नै हो, निष्ठा हो, एकाग्र मनले लगनशील भएर गरिएको कुनै पनि कार्य सफल हुन्छ, पूर्ण हुन्छ । स्वच्छ र पवित्र मनले गरिएको सात्विक संकल्प र दृढ निश्चयले मानिसले जस्तोसुकै कठिनतम कार्य पनि सजिलै गर्न सक्छ । आत्मबल, मनोवल प्राप्त हुने देवदेवीको उपासनाले मानिसका आवश्यकता भुक्ति र मुक्ति दुवै मिल्छ । मनको व्यापार हटाएर शुद्ध, सात्विक भई पूजा, उपासनामा बस्नाले मानिसलाई आनन्द प्राप्त हुन्छ । अन्य विषय वस्तु बिकारहरुबाट प्राप्त हुने आनन्द दिगो हुँदैन, सात्विक निष्ठाबाट प्राप्त हुने आनन्द बढी दिगो हुन्छ । आनन्दको अर्को नाम नै ईश्वर हो चाहे गणेश, शिव, विष्णु बुद्ध वा अल्लाह जे भने पनि ! निश्चित नियम, आचरण र संकल्पको साथ सेवामा समर्पित हुन प्रेरणा दिने पूर्वीय धर्म, संस्कृतिको जरो हाम्रो मुलुकमा वैदिक चिन्तनको अथाह भण्डार रहेको छ । पश्चिमी संस्कृतिका मानिसहरु यस्तो स्रोत केन्द्रको अध्ययन अनुसन्धान गर्दैछन् । युरोप, अमेरिका, जर्मनीतिर यसबारे खोजवीन बढेको छ, हामी भने डुंगा चल्दैछ, पाइला मेटिँदैछ भन्ने अवस्थामा पुगेका छौँ, धर्म कर्ममा स्त्रहिरुलाई मात्र सुम्पिने परम्परा बसेको छ, स्त्री, दिदी, बहिनीहरुमा पनि नव पुस्तामा चासो घटेको देखिन्छ ।