• मंसिर १५ २०८१, शनिबार

बारले बिहीबार सर्वोच्चदेखि बालुवाटारसम्म ‘मार्चपास’ गर्ने

मंसिर ७ २०७८, मंगलवार

काठमाडौँ। नेपाल बार एसोसियसनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिए । जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने बेला आएको भन्दै मार्चपास गर्न लागिएको उनले बताए। उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने श्रेष्ठको भनाइ छ ।

बालुवाटारमा नै धेरै कुरा तय हुने भएको र प्रधानन्यायाधीश लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्चपास गरिएको उनले जिकिर गरे । श्रेष्ठले प्रधानन्यायधिशको राजीनामा नआए शुक्रबार बारले अर्को चरणको आन्दोलनको घोषणा गर्ने स्पष्ट पारे ।

बारले प्रधानन्यायाधीशविरुद्ध मंगलबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले निरन्तर सवोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ ।

त्यस्तै बारमा आयोजित विरोध सभामा अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले अब प्रधानन्यायधिशलाई पदमा बस्ने कुनै अधिकार नभएको बताइन् । प्रधानन्यायधिशलाई भ्रष्टाचारको आरोप लाग्दा पनि सांसदहरू चूप लागेर बस्नु बिडम्वना भएको उनको भनाइ छ ।