नेपालको कम्युनिस्ट आन्दोलनमा हस्तबहादुर केसी स्थापित नाम हो । वैचारिक बहस र विभिन्न समयमा हुने राजनीतिक आन्दोलनमा उनी सधै अग्रपंक्तिमा रहँदै आएका छन् । केसी विचारमा परिपक्वता र व्यवहारमा सरल स्वभावका मानिस हुन् । अध्ययन मनन, चिन्तन र समाजमा हुने र भएगरेका विविध घटनालाई उनी निकै चासोका साथ हेर्छन् र आफ्नो धारणा व्यक्त गर्दछन् । उनै कम्युनिस्ट नेता हस्तबहादुर केसीद्धारा लिखित ‘ मार्क्सवाद : विकासको इतिहास’ नामक पुस्तक प्रकाशन भएको छ ।
अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सो पुस्तक प्रकाशनमा ल्याएको हो । लेखक केसीका यसअघि कम्युनिस्ट आन्दोलन र विश्व राजनीतिसित सम्बन्धित झण्डै २ दर्जन पुस्तकहरु प्रकाशनमा आइसकेका छन् ।
यो पुस्तकमा माक्र्सवादी धारा र संशोधनवादी धाराका विभिन्न प्रवृत्तिहरुका बारेमा समेत चर्चा गरिएकोे छ ।
पुस्तकमा कार्ल मार्क्सले फ्रेडरिक एङ्गेल्सको सहयोगमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा तमामखाले अवैज्ञानिक चिन्तन, प्रवृत्ति तथा मान्यताका विरुद्ध सैद्धान्तिक सङ्घर्ष चलाउँदै विश्व सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय र सिङ्गो मानव जातिको परिवर्तन र मुक्तिको सिद्धान्तका रुपमा माक्र्सवादको प्रतिपादन गर्नुलाई विश्वको इतिहासमा एक अद्वितीय तथा महान् युगान्तकारी कदम भनिएको छ ।
पुस्तक ४२० पृष्ठ रहेको छ । पुस्तक दर्शनको विकासको इतिहास, मार्क्सवादी दर्शन, ऐतिहासिक भौतिकवाद, साम्राज्याद र सर्वहारा क्रान्तिको युगको दर्शन, वैज्ञानिक समाजवाद, अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास, नेपालमा मार्क्सवादको प्रयोग, विश्व कम्युनिस्ट आन्दोलन, सर्वहारावर्गका महान् नेताहरुको योगदान, मालेमाको रक्षा, प्रयोग र विकासको प्रश्न, संशोधनवादको जन्म र विकास र मार्क्सवादी–लेनिनवादी–माओवादी सौन्दर्य दर्शन गरि १२ मा विभक्त छ ।
नेपालको र विश्व कम्युनिस्ट इतिहासका बारेमा ज्ञान लिन चाहनेहरुका लागि पुस्तक पठनीय र संग्रहनीय रहेको छ । नेपाली र विश्व राजनीतिका प्रवृति र विविध पात्रहरुका बारेमा एउटै पुस्तकमा यति धेरै जानकारी दिन सफल लेखकले पुस्तक तयार पार्न धेरै मेहनत गरेका छन् ।
पुस्तकको आकार र समेटिएका विषयवस्तुले पनि लेखक अध्ययन र चिन्तनमा धेरै गहिरो गरि लागेको अनुमान गर्न सकिन्छ । पुस्तक पढेर यसमा प्रकासित सामग्रीका बारेमा साङ्गोपाङ्गो समिक्षा र बहस गर्ने जिम्मेवारी नेपालका बौद्धिक र पढेलेखेकाहरुको हो तर हामीले हाम्रा पाठकहरुका लागि भने पुस्तक प्रकाशनको जानकारीका लागि यो सामग्री प्रकाशन गरेका छौं । लेखक केसीका आगामी दिनहरुमा पनि अझ महत्वपूर्ण विचार सहितका सामग्रीहरु प्रकाशन हुँदै आऊन । शुभकामना ।