काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विवादका बीच पनि जिल्ला अधिवेशन गरिएको छ ।
वडा अधिवेशनदेखि नै यहाँ विवाद थियो । क्रियाशील सदस्यतामा देखिएको विवादपछि जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले अधिवेशनमा भाग नै लिएको थिएन ।
गत भदौ २५ मा वडा अधिवेशन भएको थियो । पालिका, प्रदेश, प्रदेश सभा क्षेत्रहुँदै प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन पनि सभापति देउवा पक्षले एकलौटी हिसाबले सम्पन्न गरेका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा एकलौटी अधिवेशन भएकोले खारेज गरी नयाँ अधिवेशन गर्न माग गर्दै उजुरी परेको छ । सात दिनदेखि जिल्ला सभापति मल्लसहित कार्यकर्ता सानेपामा रिले अनशनमा बसेका छन् ।
यसैबीच सोमबार डडेल्धुरामा जिल्ला अधिवेशन गरिएको थियो । देउवा पक्षकै दुई जना नेता सभापतिमा प्रतिस्पर्धा गरेका थिए । जसअनुसार भीमबहादुर साउद सभापति पदमा निर्वाचित भएका छन् । उनले सभापतिका अर्का प्रतिस्पर्धी चुडामणी ठकुराठीलाई हराएका छन् ।
साउदले ७३४ मत पाएका थिए भने चुडामणीले जम्मा ७६ मत मात्रै ल्याएका थिए । साउद परशुराम नगरपालिकाका मेयर पनि हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुरामा एकलौटी हिसाबले अधिवेशन भएकोले रोक्न माग गरेका छन् ।
जिल्लाबाट पठाइएका क्रियाशील हटाएर केन्द्रबाट नयाँ नाम थपेर पठाइएको भन्दै डडेल्धुरामा विवाद छ । जिल्ला अधिवेशन रोक्न सभापति मल्लले सोमबार केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएका थिए ।