सामान्यतः सर्वसाधरणका लागि बिबाहको महिना मानिने मंसिर महिना राजनीतिक पार्टीका लागि आआफ्ना पार्टी महाधिवेशनको महिना बन्न गएको छ । बढी राजनीतिकृत हुँदै गएका सर्वसाधरण नेपालीको लागि पनि यो महाधिवेशनको महिना नै हुन गएको छ ।
सहर, गाउँघर, चौपारी, पानीघाट र चियापसलमा पार्टी महाधिवेशनको जाने जतिको चर्चा हुने गरेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी आदिको पक्ष र विपक्षमा सकी नसकी बहसमा जुटेको पनि देखिन्छ । तर जनस्तरमा आआफ्ना पार्टीको पक्ष र बचाउका लागि जानेजत्तिको बहस देखिए पनि वास्तवमा पार्टीका यी महाधिवेशन वैचारिक बन्न सकिरहेका छैनन् ।
यस विपरीत राजनीतिक दलका पार्टी महाधिवेशन गुटगत नेतृत्व चयनमा केन्द्रीय प्लेटफर्महरु बन्न गएका छन् । त्यहाँ कुन गुटले जित्छ, कुन गुटको नेता निर्वाचित हुन्छ भन्ने जोडकोणमा प्रशस्तै गृहकार्य हुने गरेका छन् ।
पार्टी महाधिवेशनमा कसले कुन विचार ल्याउँछ भन्ने कुरा आएका छैनन् । यसको प्रमुख कारण हो पहिले विचार र पछि नेतृत्व चयनका लागि हुनुपर्ने महाधिवेशन विचारविहीन हुन जानु । विचार र निष्ठाको खडेरी परिरहेका बेलामा हुन लागेका महाधिवेशन आफैमा व्यक्तिवादी नेतृत्व चयनमा मुखरित र संकेन्द्रीत हुँदै गएका छन् ।
नेपाली कांग्रेसले आफ्नो ‘प्रजातान्त्रिक समाजवाद’को आस्था र निष्ठा सतत् उच्चारण गर्नसम्म छाडेको छ । जनतालाई भ्रममा पार्नका लागि नारामा लेखिनु एउटा कुरा हो, तर प्रजातान्त्रिक समाजवादको समकालीन व्याख्या र प्रयोगको हैसियतमा नेपाली कांग्रेस छैन ।
त्यसैले यसको महाधिवेशनमा सभापति देउवासहित उपाध्यक्षहरु, महासचिव, वरिष्ठ नेता र अन्य नेताहरु सभापतिको भाले जुधाइमा छन् । उनीहरुले प्रजातान्त्रिक समाजवादी विचारको न त व्याख्या गरेर दस्तावेज नै तयार गरेका छन्, न त यसको सिर्जनात्मक प्रयोगका लागि कार्यक्रम नै ।
अर्कोतिर प्रमुख प्रतिपक्षी एमालेले पनि बहुदलीय जनवादको उपादेयता सकिएको र आफूहरु समाजवाद निर्माणको दिशामा उन्मुख हुन थालेको कुरा गरिरहेको छ । तर बहुदलीय जनवादको चरण के कसरी पूरा भयो, के त्यसले समाजवादमा जाने आधार तयार पारेको छ ? त्यसो भए ती के के हुन्, तिनको व्याख्या गर्ने झन्झट नै उठाएको छैन ।
महाधिवेशनमा ठगी प्रचारको खेती निकै हुने गरिरहेको छ । समाजवादतिर जाने कुरा गरिएन भने त पछि परिन्छ भन्ने अवैज्ञानिक, अतर्कवुद्धिवादी, अल्पज्ञानले काम गरिरहेको छ । यो कुरा सबै राजनीतिक पार्टीमा समान रुपमा लागु हुँदै आएको छ ।
माओवादी केन्द्रले पनि आफ्नो विचार राखेको छैन । यो त २१ औं शताब्दीको जनवाद कसरी लागु भयो, जनवादी क्रान्ति कसरी सम्पन्न भयो, अनि अहिले समाजवादको दिशामा अघि बढ्ने आधार कसरी तयार भयो भन्ने बारेमा रनभुल्ल छ । तर प्रचार भने समाजवाद निर्माणको दिशामा अघि बढ्ने भनी गरिरहेको छ, कारण एउटै छ यसो नभनेमा एमालेले पछि पार्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यी पार्टीलाई पछ्याउन छाडेको छैन । उनीहरुको ‘राजासहितको प्रजातन्त्र’ को विकल्प भनेको पश्चगामी प्रकृतिको छ, जो जनताको चासो र चिन्ताबाट अलगथलग देखा परिरहेको छ । गुटका हिसाबले यो पनि निस्कन नसक्ने दलदलमा फसेको छ । विचारका हिसाबले राप्रपाको महाधिवेशन पनि जनताको चेष्टामा छैन ।
नेपालमा राजनीतिक दलले शासन गर्ने प्रणाली छ । यसलाई नेपालको विशिष्टतामा संघीय लोकतान्त्रिक गणतन्त्र नामाकरण गरिएको छ । यसका शासकीय तथा प्रशासकीय संरचना तीन तहका छन् । सरकार पनि संघीय, प्रादेशिक र स्थानीय छन् । हात्ती आकारको यो संरचना ‘अँ, चलिहाल्छ’ भन्ने पाराले चल्ने देखिदैन । यसको सञ्चालनका लागि तदनुरुपको विचार र व्यवहार जरुरी छ । नेताहरु महाधिवेशन वैचारिक बनाऊ, दस्तावेजमा सिर्जनशील नीति, विचार र कार्यक्रम ल्याऊ ।