• मंसिर १२ २०८१, बुधबार

ल हेरौं, संसारकै सबैभन्दा लामो नाच

मंसिर ५ २०७८, आईतवार

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले चलाएको कार्तिक नाँच हरेक वर्ष कार्तिक महिनामा देखाइँदै आइएको छ । ललितपुरको रहेको पाटन दरबार क्षेत्रको डबलीमा देखाइने सो नाच देश र जनताको कल्याण होस् भन्ने उद्धेश्यले देखाइँदै आइएको हो । नेपाल संवत् ७६१ अथवा विक्रम संवत १६९५ कात्तिकबाट कार्तिक नाँच सुरु भएको कुरा इतिहासमा उल्लेख भएको छ ।

यो नाँच झण्डै कार्किक महिनाभरि अथवा पुरै २७ दिन देखाइन्छ । प्रत्येक दिन फरक फरक कथावस्तुमा नाँच प्रदर्शन हुन्छ । यसकारण एक पटक यो नाँच हेर्न गएपछि अर्को दिनपनि जाऔं जाऔं लाग्ने भएको कारणले यस नाँच हुने स्थानमा दर्शकको कमि हुँदैन । यस नाँचले जनतामा भएको भय र त्रासबाट मुक्त हुने कुराको जनविश्वास रहेको छ । कार्तिक नाच सञ्चालन गर्न विभिन्न गुठीहरु रहेको भएता पनि हाल कार्तिक नाच संरक्षण गर्न संरक्षण समिति कृयाशील रहेको देखिन्छ ।

कार्तिक नाच राजा सिद्धिनरसिंह मल्लले संचालन गर्दा ५ दिन मात्र रहेतापनि पछि उनका छोरा यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ल लगायत नेवार समुदायका विभिन्न जातहरुको पनि प्रतिनिधित्व हुने गरेको छ । यस नाचलाई श्रीनिवास मल्लले समय थपेर १५ दिन पुर्याएका थिए । ‘बाथ प्वाँख, सुदामा प्वाँख, र सूरदास प्वाँख श्रीनिवास मल्लले थपेका थिए । यसबाट के कुरा स्पष्ट हुन्छ भने राजा सिद्धिनरसिंह मल्ल जस्तै उनका छोरा श्रीनिवास मल्ल पनि कला साहित्य र संगीतप्रेमी थिए भन्ने थाहा हुन्छ ।

कार्तिक नाँचको एक दृश्य
कार्तिक नाँचको एक दृश्य

वास्तवमा यो नाँच धार्मिक र तान्त्रिक विधि विधान अनुसार स्वयम् राजा उपस्थित भई देखाउने, राजा र प्रजाको सम्बन्ध निकै प्रगाढ छ भन्ने कुरा देखाउनलाई पनि सञ्चालन गरेको देखिन्छ । अझ भन्ने हो भने यो एक नेवारी समुदायमा देखाइएता पनि मल्लकालिन समयमा मैथिली भाषामा पनि देखाइन्छ । मानिसहरुले मैथिली भाषा नबुझ्ने भएकोले पछि यसलाई नेपाल भाषामा उल्था गरि देखाउन थालिएको हो । यसबाट मल्लकालिन समयमा मैथिली कला साहित्य र संगीत प्रभावित रहेको कुरा थाहा हुन आउँछ ।

यो नाँचमा नरसिंह अवतारबारे देखाउने भएको हुनाले यसलाई नरसिंह नाच पनि भन्ने गरिन्छ । हुन त यो नाच संसारकै लामो नाचहरुमध्ये पनि एक हो । यो नाँच देशमा विभिन्न कारण भूकम्प राजनैतिक उथल पुथल विभिन्न महामारीले कहिलेकाहीँ २७ दिन नै पुरा प्रदर्शन नगरि थपघट गर्ने गरिएको छ ।

आज भन्दा ३८० वर्ष पहिले देखि सञ्चालनमा आइरहेको यो नाच राजा सिद्धिनरसिंह मल्लले राज्य गरिरहेको समयमा ज्योतिषहरुले राज्यमा ‘मघाह दोष’ परेकोले राज्य सञ्चालन कठिन हुने र उक्त दोष निवारण गर्न नरबली अथवा मानिसको बली दिनुपर्ने सुझाव दिएका थिए । उक्त ‘नरबली’ राजा सिद्धिनरसिंह मल्ललाई उपयुक्त नलागेकोले त्यसको उपायको रुपमा मुकुट र हिरण्य पात्र बनाई कार्तिक नाच सञ्चालन गरेका थिए । पछि सोहि नाचमा उषा अनिरुद्र श्रृंगारको कथा, देवी नाच, युद्धकला बाणासुरको हजारौं हात टुक्रा पार्ने, विष्णु जल सयन, मधु कैटभ, बराह अवतार, नृसिंह अवतार वस्त्रहरण, दधि लिला जस्ता नाचहरु समावेश गरेका छन् ।

यो नाच प्रदर्शन गर्दा नेवार समुदायको आफ्नै मौलिक बाजाहरु पोङ्गा, खीं, ताः र झ्याली बजाउँदछन् । कार्तिक डबली वरिपरि चिराग बाली प्रकाशको व्यवस्था गरिएको हुन्छ । संस्कृतिको दृष्टिकोणबाट पनि यो नाँच महत्वपूर्ण छ । यस नाचले मल्लकालिन ऐतिहासिक कला र संस्कृतिको झझल्को प्रस्तुत गर्नुको साथै त्यस बेलाको समयलाई प्रतिनिधित्व गरेको हुन्छ ।

तत्कालिन राजा सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल तथा योगनरेन्द्र मल्लको शासन काललाई यसले सम्झना दिएको हुन्छ । त्यस समयका मानिसहरुको रहन, सहन, व्यवहार तथा सांस्कृतिक रुची साथै गतिविधिलाई प्रतिनिधित्व गरेको हुन्छ । त्यसकारण यो नाचलाई राज्यले नै प्रवद्र्धन गरि आन्तरिक धार्मिक तथा सांस्कृतिक पर्यटनलाई सेवा पुर्याउने हिसाबले संरक्षण संवद्र्धन एवं प्रचार प्रसार गरि स्थानीय आर्थिक पक्षलाई पनि उत्थान हुने गरि प्रवद्र्धन गर्नु आजको आवश्यकता तथा समयको माग हो ।