• असार २३ २०८१, शनिबार

दाङमा बढे सिकलसेल एनिमियाका बिरामी

मंसिर ५ २०७८, आईतवार

 दाङ, ५ मंसीर ।
दाङ जिल्लामा सिकलसेल एनिमियाका बिरामीको संख्या ३ सय ३९ पुगेको छ । नियमित औषधि सेवन गरिरहेका १ सय ६९ जना घोराही उपमहानगरपालिकामा गतवर्ष गरिएको परिक्षणमा ५२ जना र दंगिशरण गाउँपालिकामा गरिएको परिक्षणमा १ सय १८ जनामा पोजेटिभ देखिएपछि सिकलसेल एनिमियाका बिरामीको संख्या बढेको पाइएको हो ।

गतवर्ष घोराही उपमहानगरपालिकाले गरेको परिक्षणमा ५२ थपिएका थिए । त्यो भन्दा अगाडी विभिन्न शारीरिक समस्याका कारण उपचार गर्न गएकाहरु मध्ये १ सय ६९ जनामा उक्त रोग भेटिएको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयसँग रहेको छ । दाङको जिल्ला स्वास्थ्य कार्यालयले पनि सिकलसेल एनिमियाका बिरामीहरु बढिरहेको जनाएको छ । मानव रगतमा पाइने रातो रक्त कणिकाको स्वरूप विकृत भएपछि सिकलसेल एनिमिया रोग लाग्ने गर्दछ ।

नेपालमा विशेष गरेर थारु समुदायमा देखापरेको यो रोग दाङमा भने एकजना गैह्रथारु समुदायका मानिसमा समेत देखापरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । नेपाल सरकारले सिकलसेल रोगको उपचारका लागि एक लाखसम्मको रकम सुविधा उपलब्ध गराउँदै आएको छ । जसका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट दाङ जिल्लाको हकमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा लिन सकिने व्यवस्था गरेको छ । यो रोग मलेरिया प्रजातिको प्लाज्मोडियम प्यालिस्परेम प्रजातिको जिवाणुका कारण लाग्ने गर्दछ । यो रोग कस्तो कडा हुन्छ भने, रोगीलाई संक्रमित लामखुट्टेले टोके पनि औलो हुँदैन । दाङ जिल्लामा यो रोगबाट कुनै रोगीको मृत्यु भएको तथ्याङ्क भने जिल्ला स्वास्थ्य कार्यालयसंग नभएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले दिए ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओको आँकलन अनुसार विश्वभरिमा करिब पाँच प्रतिशत व्यक्तिले सिकलसेल रोगको जिवाणु बोकेका छन् । बर्सेनी तीन लाख बालबालिका हेमोग्लोबिनको मात्रा कम भएर जन्मने गर्छन् । सिकलसेल एनिमिया रोग भएका बुवा आमाबाट जन्मिएका २५ प्रतिशत सन्तानहरुमा यो रोग लाग्ने सम्भावना हुने गर्दछ । जिल्लामा झण्डै एक सय पचास बढिको उपचार भइरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सिकलशेल एनिमिया विशेषगरी वंशागुणत रुपमा मात्र देखापर्ने रोग हो, तर अहिले अन्य समुदायमा पनि यो रोग देखापर्न थालेको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरका कन्सल्टेन्ट फिजिसियन डाक्टर मिनचन्द्र अधिकारी बताउँछन् ।

“यो रोग अहिले थारु समुदायका युवा युवतीले अन्य समुदायका युवा युवतीसँग बिहेगर्ने भएकाले गैर थारु समुदायमा पनि देखापरेको छ” डाक्टर अधिकारीले भने । यो रोग लागेपछि बिरामीको शरीरमा रहेका हँसिया आकारका रक्तकणिकाहरू छिटोछिटो नष्ट हुने डा.अधिकारीको भनाई छ । यो रोग लागेका बिरामीको शरीरमा सधैं रगतको अभाव भइरहन्छ । सिकलसेल एनिमियाको रोकथाम मात्र गर्न सकिने डा.अधिकारीले बताए ।

यो समस्याले ग्रस्त मानिसमा रगतको कमी हुने हुँदा उनीहरू कमजोर भएर बारम्बार विभिन्न रोगको संक्रमणमा पर्ने गर्दछन् । बाल्यकालमै यो रोगको पहिचान भएको र रक्तमासी प्रत्यारोपण नगरिएपनि विज्ञसँग उपचार गराउँदा भविष्यमा हुने थप जटिलताबाट जोगिन सकिने डा.अधिकारीको भनाई छ । सिकलसेल एनिमियाका विरामीहरुलाई नेपाल सरकारले एकलाख रुपैया बराबरको औषधि उपचार निःशुल्क हुने व्यवस्था गरेको छ तर, नियमित औषधि सेवन गरिरहेका बिरामीले नियमित औषधि नपाउने गरेको घोराही उपमहानगरपालिका–१७ चौघेराकी सिकलसेल बिरामी कमला चौधरीको भनाई छ ।

अस्पतालले औषधि छैन भनेर फर्काउँछ, हामी बिरामीलाई औषधि चाहिने बेला नपाएपछि रुपैडियासम्म पुगेर ल्याउनुपर्ने बाध्यता छ” कमलाले भनिन् । अस्पतालमा गएपछि एकपटकमा २ महिनाकोलागि औषधि दिने गरेको उनले बताइन् । निःशुल्क दिने भनेर सरकारले घोषणा गरेपनि व्यवहारमा भने त्यसो नभएको उनको भनाइ रहेको छ । “माथिबाट औषधि नपठाएको भन्ने जवाफ अस्पतालका कर्मचारीहरुले बताउँछन्” उनले भनिन् । त्यस्तै रोग पत्ता लागिसकेका बिरामीले पनि निःशुल्क उपचार कसरी पाईन्छ भनेर जानकारी नभएको बताएका छन् ।

सिकलसेल रोगलाई छिटै उपचार गर्न ग्रामिण महिला उत्थान केन्द्र दाङले सचेतनाका कामहरु गरिरहेको संस्थाकी अध्यक्ष आशमानी चौधरीले जानकारी दिईन् । त्यसैगरी संस्थाले सबै सरकारी अस्पतालहरुमा सिकलसेल एनिमियाको उपचार निःशुल्क रुपमा गराउनु पर्ने भन्दै पैरवी समेत गर्दै आएको छ । संस्थाको पैरवीकै कारण घोराही उपमहानगरपालिकाले गत वर्षदेखि बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क गर्ने ब्यवस्था मिलाएको छ भने उपमहानगरपालिका भित्रका विभिन्न स्थानमा गएर निःशुल्क परिक्षण समेत गरेको छ ।