काठमाडौं । चीनले भारतसँगको पूर्वी सीमानामा बमबर्षक हतियार परिचालन गरेर सीमा रक्षाको विषय संगीन हुँदै गएको संकेत गरेको छ । यता भारतले भने चीनले आफूहरुलाई उत्तेजित बनाउन यी सबै गतिविधिहरु गरिरहेको भन्दै बमवर्षक तैनाथीको विरोध गरिरहेको छ ।
पछिल्लो समयमा चीन र भारतबीच सीमा रेखालाई लिएर तनाब बढिरहेका बेला चिनियाँ बमवर्षक सीमाना नजिकै राखिएको कुराले अन्तर्राष्ट्रको चासो पनि बढेर गएको देखिन्छ । राजनीतिक विश्लेषकहरुका अनुसार दक्षिण एशियामा अमेरिकी चासो बढेसँगै चीनले आफूमाथि ‘थ्रेट’ नजिक आइरहेको महसुस गरिरहेको छ ।
सिमानामा भारतीय सेनाको गतिविधि केही नजिक र बाक्लो भएको महसुस गरेपछि चीनले आफ्ना गतिविधिमा पनि बढोत्तरी ल्याउन थालेको पाकिस्तानलगात अन्य छिमेकी देशहरुले पनि सार्वजनिक गरिरहेका छन् । त्यसो त चीन र भारतबीचको सीमा तनाव नयाँ भने होइन ।
अहिले आएर चीन, भारत र भुटानको त्रिदेशीय सीमा नजिकै चिनियाँ हवाई फौजले एच–६ बमबर्षक परिचालन गर्न थालेको छ । दुई देशको सीमालाई छुट्टाउने ‘लाइन अफ कन्ट्रोल’ नजिक ‘एच–६ के’ बम्बरले हवाइ गस्ती लगाइरहेको भिडियो फुटेजमा देखाइएको छ ।
एच–६ के बम्बर पहाडहरुमाथि उडिरहेको भिडियो फुटेज चिनियाँ सञ्चार माध्यमले सार्वजनिक गरेपछि यो आधिकारिक नै हो भन्नेमा प्राविधिकको एक मत रहेको छ । सान्सी प्रान्तमा राखिएको उक्त बम्बर भारतसँगको विवाद बढेसँगै सिन्जियाङ नजिकको कासगरमा सारिएको देखिन्छ ।
चिनियाँ जनमुक्ति सेनाको पश्चिम थियटर कमान्ड अन्तर्गत राखिएको एच–६ के बम्बरमा निकै लामो दूरीसम्म मार हान्न सक्ने क्रुज मिसाइलसमेत जडान गरिएको छ ।
यो दुविधापूर्ण पृष्ठभूमि तयार हुने क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरको ‘चीन–भारत सम्बन्ध खराब दिशातर्फ बढिरहेको’ भनी गरेको टिप्पणी बढि प्रचारमा आएको छ । योसँगै विदेशमन्त्री जयशंकरले दुई देशबीच भएका सम्झौता उल्लङ्घन गरेर चीनले एकतर्फी रुपमा सीमामा बस्ती बसालेको आरोप पनि लगाउँदै आएका छन् ।
एक वर्षअघि चीन र भारतका सेनाबीच दुई देशीय सीमा इलाकामा पटकपटक मल्ल युद्ध हुने गरिरहेको छ । दोक्लाम र गालवान उपत्यकामा गम्भीर खालका दोहोरो सैन्य झडप हुँदै आएका छन् । हालसम्म खुलेका विवरणअनुसार यस्ताखाले सैन्य झडपमा २० जना भारतीय तथा ४ जना चिनियाँ सेनाले ज्यान गुमाइसकेका छन् ।
(एजेन्सीको सहयोगमा)