इलाम । ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार २०७८’ इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ ।
प्रजातान्त्रिक योद्धा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
दुलाल परिवारसँगको सहकार्यमा नेपाल प्रेस युनियन इलाम शाखाले स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा २० हजार रुपैयाँ राशिको पुरस्कार स्थापना गरेको थियो । शनिबार इलाममा एक समारोह आयोजना गरेर भट्टराईलाई २० हजार रुपैयाँ राशिको पुरस्कार प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदान गरे ।
करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील भट्टराई हाल नेपाल टेलिभिजनको संवाददाताको रूपमा कार्यरत छन् । यस अघि उनी सन्दकपुर दैनिक, नेपालबाणी एफएम, राष्ट्रिय समाचार समितिलगायतका सञ्चार माध्यममा कार्यरत थिए ।
इलाम जिल्लामा प्रजातान्त्रिक विचारधारा स्थापित गराउन क्रियाशील रहेर दुलाल समाजसेवामा समेत कहलिएका व्यक्ति हुन् । समाजसेवामा अग्रसर रहेका दुलाललाई ‘जिल्ला बा’ को उपनामले समेत चिनिने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।
समाज विकासमा दुलालले पुर्याएको योगदानलाई जीवन्त राख्नको लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रेस युनियनका केन्द्रीय सदस्य तथा उनका नाति माधव प्रसाद चम्लागाईंले बताए ।