• मंसिर ११ २०८१, मंगलवार

‘मारुतीको कमाल’माथि नापतौल विभागको आँखा

मंसिर ४ २०७८, शनिबार

नेपालको गुणस्तर तथा नापतौल विभागले ढिलो गरी मारुती सिमेन्टको कमालमाथि आँखा लगाएको छ । मारुतीका बारेमा बारम्बार प्रश्न उठ्दा पनि आँखा चिम्लेर बसिरहेको यो विभाग अहिले उपभोक्ताको उजुरीका आधारमा भन्दै मारुतीमाथि कारबाहीको प्रक्रिया चलाएको छ ।

यसको आधार र कारण भनेको मारुती सिमेन्ट छानबिनका क्रममा पाइएको गुणस्तरहीनता नै हो । यस्तो गुणस्तरहीन अवस्थामा पाइएपछि विभागले मारुती सिमेन्टमाथि छापा मात्र होइन, बिक्रि वितरणमा समेत प्रतिबन्ध लगाएको छ । ।

प्रतिबन्धित सिमेन्ट हाल बजारमा चारैतिर रहेकाले देशभर बिक्रिका लागि राखिएको उक्त सिमेन्टका बिक्रिकक्षबाट सिमेन्ट फिर्ता ल्याइँदै छन् । यसका लागि सम्बन्धित निकायलाई सूचना पनि गरिसकिएको छ ।

गुणस्तर मापनका आधारमा मारुती सिमेन्टले उपभोक्ता ठगिरहेको पुष्टि हुन गएको छ । कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपिसी सिमेन्ट प्रयोगमा ल्याउँदा यसले भनेको जस्तो काम नगर्ने ठहर गरिएको छ ।

सिमेन्टको गुणस्तर मापन गर्दा त्यसमा म्याग्नेसियम ५ प्रतिशत मात्र हुनु पर्छ । अन्तर्राष्ट्रिय मापदण्डमा यो केवल ४ प्रतिशत मात्र हुनु जरुरी छ । सिमेन्टमा पाइने म्याग्नेसियम तत्व प्रकृतिमा आफै पाइने हुनाले यसको मात्रा सिमेन्ट उत्पादनमा घटाउने भनिएको हो ।

तर यिनै कमसल खालका निर्माण सामग्री नेपालको निजी तथा सरकारी भौतिक पूर्वाधार निर्माणमा प्रयोगमा आइरहेका छन् । सर्वसाधरण जनताका आँखामा के काम कति भयो र कति दिनमा पूरा भयो भन्ने कुरा मात्र परिरहेको हुन्छन् । गुणस्तर के छ सर्वसाधरणका लागि यो निकै प्राविधिक कुरा हो ।

नेपालमा सिमेन्ट मात्र होइन, निर्माण प्रयोगमा ल्याइएका छड, पाइप, तार, जाली, गिट्टी तथा अन्य सामग्री पनि निकै गुणस्तरहीन हुने गरेका छन् । कामको ठेक्का लिने ठेकेदारहरुले पनि रकम बचतका लागि यिनै सामग्री प्रयोगमा ल्याइरहेका हुन्छन् ।

यसको जाँचका लागि आधिकारिक निकाय भनेकै सरकार तथा सरकारी विभागहरु हुन् । यिनले अनुगमन तथा सुपरीवेक्षण गर्ने अधिकार पाएका हुन्छन् । यिनीहरुलाई एक दक्ष, क्षमतावान र कुशल निकाय वा व्यक्तिका रुपमा खटाइएको पनि हुन्छ ।

निर्माण कार्य आफैमा कम्तिमा पाँच दशक सम्मका लागि ढुक्क हुने गरी गरिएको विश्वास गरिन्छ । किनकि सिमेन्टको आयु पचास वर्षसम्मको हुन्छ भन्ने आँकलन हुन्छ । तर कमसल सिमेन्टकै कारण दीगो र बलियो निर्माण हुने नहुने कुराको फैसला भैसकेको हुन्छ । अन्य निर्माण सामग्रीले आकार दिने र सहयोग पुर्याउने काम गरिरहेका हुन्छन् ।

उद्योगी व्यापारीको रातारात धनी हुने सपना, उपभोक्ताको अज्ञानता र सरकारी उदासिनताले निर्माण कार्यमा ठूलो धोखा भैरहेको हुन्छ । उपभोक्ता खाने, लाउने र बस्ने कुरामा मात्र होइन, शिक्षा, स्वास्थ्यलगायतका अन्य सामग्रीको उपभोगमा पनि यही अज्ञानताका कारण सधैं ठगिददै आएका छन् ।

त्यसैले भौतिक पूर्वाधार निर्माण तथा अन्य उपभोग्य सामग्रीको अनुसन्धानमा नेपाल गुणस्तर तथा नापतौल विभागको समयमै ध्यान पुओस् ।