• असार १७ २०८१, आईतवार

कमलाले पाइन् अमेरिकी राष्ट्रपतिको अधिकार, कहाँ गए बाइडन ?

मंसिर ४ २०७८, शनिबार

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई एक घण्टा २५ मिनेटको लागि संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको अधिकार प्रदान गरिएको छ । नोभेम्बर १९ का दिन शुक्रबार उनलाई छोटो समयका लागि त्यस्तो अधिकार प्रदान गरिएको हो । छोटो समयको लागि अमेरिकाको राष्ट्रपतिको अधिकार प्राप्त गर्ने ह्यारिस पहिलो अमेरिकी महिला बनेकी छिन् ।

शुक्रबार राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परिक्षण सुरु भएपछि उपराष्ट्रपति ह्यारिसलाई राष्ट्रपतिको सो अधिकार प्रदान गरिएको थियो । राष्ट्रपति बाइडनलाई नियमित कोलोनोस्कोपी परिक्षणका क्रममा इनेस्थिया दिइएको समयमा ८५ मिनेटका लागि ५७ वर्षीया ह्यारिसलाई राष्ट्रपतिका रुपमा अधिकार प्रदान गरिएको थियो । राष्ट्रपतिको उपचार र स्वास्थ्य परिक्षण प्रकृयापछि उनका चिकित्सकहरुले विज्ञप्ति जारी गरेर राष्ट्रपति स्वस्थ्य र आफ्नो काम गर्नको लागि सक्षम रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका उच्च अधिकारीहरुका अनुसार कमला ह्यारिसले ह्वाइट हाउसको वेष्ट विङ्गमा रहेको आफ्नो कार्यालयबाट त्यसबखत कार्य सम्पादन गरेकी थिइन् । राष्ट्रपति बाइडनले ७९औं जन्मदिन मनाउनु भन्दा एकदिन अघि उनको स्वास्थ्य परिक्षण र उपचार गरिएको हो ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अवस्थामा अस्थायी रुपमा अधिकार प्रत्यायोजन गर्नु नयाँ र अच्चमको नभएको र यो कार्य अमेरिकाको संविधान अनुरुप रहेको बताएकी छिन् । उनले भनेकी छिन, ‘सन् २००२ र २००७ मा राष्ट्रपति जर्ज डब्लु बुस यस्तै प्रकृयामा सामेल हुँदा यस्तै गरिएको थियो ।’ कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै प्रथम अश्वेत तथा दक्षिण एशियाली अमेरिकी समेत हुन् । साथै बाइडन अमेरिकामा राष्ट्रपतिका रुपमा पदभार गर्ने हालसम्मकै सबैभन्दा बुढा मानिस रहेका छन् । डिसेम्बर २०१९ मा उनको पुरै स्वास्थ्य परिक्षण गरिएको थियो ।