• मंसिर १३ २०८१, बिहीबार

अनुकूल खोप भण्डारण गृह नै छैन नेपालमा

मंसिर ४ २०७८, शनिबार

काठमाडौं । नेपालमा खोप आजदेखि प्रयोगमा आएको होइन, धेरै पहिले देखि नै हो । तर खोपका लागि वातानुकुलन हुने भण्डारण कक्ष अझैसम्म पनि निर्माण गरिएको छैन । खोप बाहिरबाट ल्याइँदा निकै सतर्कता साथ ल्याइन्छ, तर यहाँ ल्याइ पुर्याएपछि ह्वाङ्ग परेको टिनको छानामुनि स्टोर गरिन्छ ।

प्रत्यक्षरुपमा फुट्न र कसैले चोरी गर्नबाट त बचाइन्छ, तर औषधीय गुण र प्रभावलाई वातानुकूलन मिलाई जोगाइ राख्न टहरोमुनि राखिएको औषधिमा थप अरु केही गरिदैन । औषधि भण्डारण गाइगोठमा राखिए झैं गरिएको हुन्छ ।

यसले औषधिको गुणस्तरमा के कति परिवतर्तन ल्याउँछ भन्न गाह्रो छ । तर यस्ता कच्चा ठाउँ तथा वातावरण अनुकूलन नभएका स्टोरेजमा राखिएका औषधि तथा भ्याक्सिनको प्रभावकारिता भने हराएर जान्छ ।

विश्वमा कोरोना महामारी फैलँदै गर्दा नेपालमा पनि यसको तरंग आउन थालिसकेको थियो । नेपालले पनि निकै चर्चा र तहल्का ल्याउने गरी चीनको सहयोगमा भक्तपुरको खरीपाटीमा क्वारेन्टाइन हल निर्माण गरेको थियो । तर यस्ता हल निर्माण यसपछि निरन्तरता दिइएन ।

महामारी नियन्त्रण गर्न खोप र खोपजन्य औषधिको जरुरी थियो र छ पनि । आम जनतालाई खोप दिइनु पर्ने भएकाले खोपको मात्रा निकै बढी हुने हुँदा भण्डारण कक्षको जरुरी थियो पनि । तर नेपालमा अहिलेसम्म पनि खोप भण्डारण कक्ष निर्माण गरिएको छैन ।

अहिले नेपालमा ३ लाख खोप तुरन्त भण्डारण गरिहाल्नुपर्ने अवस्थामा छ । तर देशको भण्डारण कक्ष टहरामा छ । अहिले कोरोना महामारीका कारण खोपको मात्रा बढी भए पनि पहिलेदेखि नै अन्य खोपहरु स्वास्थ्य मन्त्रालयको स्वास्थ्य विभागले देशमा वितरण गरिरहेको थियो ।

तर त्यतिबेला पनि सुरक्षित भण्डारण कक्ष भने बनेको थिएन । जनतालाई दिइने रुघाखोकी, हात्तीपाइले, पोलियो, रुबेला, दादुरा आदि खोपहरु पनि भण्डारण अभाव थियो ।