रोल्पा । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका– ५ नम्बर वडा (साविक ७ नम्बर वडा) ओखरबोटबासी लोकगायक वर्ष ६९ का पहलबहादुर पुनको निधन भएको छ ।
पुनको मङ्सिर २ गते बेलुकी निधन भएको हो । पुन पुरानो भाका साँइला बरै, मालै भाका, उतरा हान्ने भाका, सोरठी भाका, सिङ्गारु भाका, सानिमाई भाका जस्ता प्रख्यात भाकाहरु गाउने गायकको रुपमा परिचित थिए ।
उनी रोल्पामा कला र गलाको माध्यमबाट चिरपरिचित थिए । पुनले पुराना लोकभाकाहरुलाई असाध्यै माया गर्थे र ती भाकाहरु गाउनमा दख्खल पनि हासिल गरेका थिए ।
उनले रोल्पाली पत्रकार तथा साहित्यकार नवीन विभाषको ‘बरै’ गीति एल्बममा पनि कलाकारको भूमिका निभाएका छन् । त्यस्तै झन्कार बुढामगरको ‘जनसमरका आवाजहरु’मा पनि आफ्ना विचार प्रकट गरेका छन् ।
उनी स्थानीय परम्परादेखि चल्दै आएको पैंसरी नाचको मादले गुरुको भूमिकामा पनि अब्बल थिए । उनको निधनले रोल्पा तथा राप्ती क्षेत्रको सांगतिक क्षेत्रमा क्षति पुगेको छ ।