काठमाडौँ । उत्तरी छिमेकी देश चीनका सामाजिक सञ्जालहरुमा अहिले एउटा विवरण निक्कै चर्चित भएको छ । सो देशमा एकजना व्यक्तिले आफूलाई एउटा रेष्टुरेण्टले धेरै खाएको भनेर प्रतिबन्ध लगाएको बताएपछि सो विषय चर्चामा आएको हो । उनले खानेकुरा खाएको प्रत्यक्ष प्रसारण पनि गरेका छन् । काङ नाम गरेका ती चिनियाँ इन्टरनेटमा आफूले खाने कुरा खाएको प्रत्यक्ष प्रसारण गरेको र धेरै खाएको भन्दै एउटा चमेना घरले आफूलाई प्रतिबन्ध लगाएको बताएका हुन् ।
काङको सो भिडियोलाई चीनका सामाजिक सञ्जालहरुमा २५ करोड पटक हेरिएको छ भने त्यो हेरेर मानिसहरुले विभिन्न प्रतिक्रृया समेत दिएका छन् । ती पुरुषले हुनान टेलिभिजनलाई बताए अनुसार दुई पटक खाएपछि निश्चित पैसा तिरेर पेटभरी खाना पाइने हाण्डाडी सी फूड बीबीक्यु बफे रेस्टुराँले आफूलाई प्रतिबन्ध लगाएको बताए ।
काङले पहिलो पटक सुंगुरको डेढ किलो मासु र दोस्रो पटक साढे तीनदेखि चार किलो प्राउन खाएको बताएका छन् । सो रेष्टुरेण्टले धेरै खाने ग्राहक प्रति ‘भेदभावपूर्ण व्यवहार’ गरेको काङले बताए । उनले भने, ‘म धेरै खान सक्छु र मलाई धेरै खाना चाहिन्छ, के यो मेरो गल्ती हो ?’
आफूमाथि सो रेष्टुरेण्टले लगाएको प्रतिबन्धको विरोध गर्दै काङले आफूले कुनै पनि खानेकुरा नफालेको बताएका छन् ।
त्यस चमेना घरका सञ्चालकले भने उक्त टेलिभिजनका संवाददातालाई यदि काङ लागातर आफ्नो चमेना घरमा आएर यसैगरी खाए भने आफू टाट पल्टिने बताए । चमेना घरका सञ्चालकले भने, ‘उनी प्रत्यक पटक आउँदा मलाई केही सय युआन घाटा हुन्छ ।’ सञ्चालकका अनुसार काङले दुध नै पनि २०–३० बोतल पिउन सक्छन् ।
उनी सुंगुरको मासु खाँदा एकैचोटीमा पूरा ट्रे नै सकिदिन्छन् । चमेना घरका सञ्चालकको भनाइ छ, ‘प्राउन खाँदा अरु मानिसले चिम्टीले च्यापेर निकाल्छन् तर काङ भने पूरै ट्रे नै हातमा लिएर खान्छन् ।’ चमेना घरका सञ्चालकले आफ्नो रेष्टुरेण्टमा इन्टरनेटमा प्रत्यक्ष प्रसारण गर्दै खाने सबैलाई प्रतिबन्ध लगाएको बताएका छन् ।
गएको वर्ष चीन सरकारले खानेकुरा खाएर सामाजिक सञ्जालहरुमा चर्चित भएका मानिसहरुका विरुद्ध कदम चाल्ने बताएको थियो । जसका कारण खाना खाएका त्यस्ता भिडियोहरु चीन भर प्रतिबन्द समेत लाग्न सक्छन् । राष्ट्रपति सी जिन पिङले खानेकुराको अभावको समस्याका बीच खानेकुरा खेर नफाल्न भनेपछि त्यस्तो कदम चालिएको थियो ।