काठमाडौं । नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट मतदान गरिने भएको छ । यसका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ भने विद्युतीय उपकरणबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास भइरहेको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ । “हामीले मतदान स्थल पनि हेरिसकेको छौं, उहाँले भन्नुभयो, “बन्दसत्र हुने होटेलको हलमा मतदान हुनेछ ।”
एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि प्रतिनिधिसमेत चयन भइसकेका छन् ।
उम्मेदवार दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव ८ देखि १० घण्टा लाग्ने जनाइएको छ । आयोगका अध्यक्ष डा सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुने र एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्ने बताएका छन् । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए ।
‘राम–लक्ष्मण भोटिङ मेसिन’द्वारा मतदान गरिने जनाइएको छ । “मङ्सिर १२ गते बिहानैदेखि हामीले निर्वाचन गरेर साँझ मतपरिमाण घोषणा गर्ने छाँै”, उहाँले भन्नुभयो, “मतदान सकिएपछि मुजुल्का बनाउन दुईतीन घण्टा र गन्नका लागि तीन–चार घण्टा लाग्ने छ ।” निर्वाचन लागि ९० उपकरणको प्रयोग गर्ने छ । महाधिवेशन स्थलमा १०० उपकरण प्रयोग गरिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय उपकरणबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ ।
निर्वाचन आयोगका अध्यक्ष डा सुब्बाले उम्मेदवारका लागि शुल्कको बारेमा भने अझै निर्णय हुन बाँकी रहेको बताएका छन् ।