• मंसिर १५ २०८१, शनिबार

प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री लुले भने- एमसीसीबारे तपाईंहरुले छिटो निर्णय गर्नुस्, धेरै कुर्न सक्दैनौँ

मंसिर ३ २०७८, शुक्रबार

काठमाडौँ। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी सहायता परियोजना (एमसीसी) पास नभए फिर्ता लैजाने चेतावनी दिएका छन् । शुक्रबार दिउँसो प्रचण्डसँग माओवादी मुख्यालय पेरिस डाँडामा भेट गर्दै लुले एमसीसी परियोजनाबारे निर्णय गर्न समय सीमा समेत दिएको स्रोतले जनाएको छ।

भेट वार्ताका क्रममा लुले प्रचण्डलाई भने, ‘एमसीसीबारेबारे तपाईंहरुले छिटो निर्णय गर्नुभएन भने हामी फिर्ता लैजान्छौं, अरु देशले मागेका छन्, तपाईंहरुलाई धेरै कुर्न सक्दैनौँ, डिसेम्बर १४ सम्म यसबारे निर्णय भइसकोस्।’

जवाफमा प्रचण्डले भने, ‘एमसीसीको सुरुको जुन डकुमेन्ट छ, त्यसमा पछि परिमार्जन गरेर संसदबाट पास गर्ने लगायतका विषय राखिएको रहेछ यसले शंका जन्मायो, त्यो विषयमा तपाईंहरुबाट प्रष्ट धारणा आउनुपर्छ। हामी राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र पत्रकार लगायतसँग छलफल गर्छौं र राष्ट्रिय सहमति बनाएर जानकारी दिन्छौं।’

साथै उनीहरुबीच नेपालको हित, अमेरिकी लगानी, कोभिड महामारीमा अमेरिकी सहयोग र दुई देशको सम्बन्धका विषयमा छलफल भएको थियो ।

यसअघि एमाले अध्यक्ष केपी ओलीसँग पनि लुले एमसीसीबारे जिज्ञासा राखेका थिए । ओलीले भने एसबारेमा सरकारले आफ्नो दलसँग कुराकानी नगरेको बताउँदै आफ्नो पार्टीले यसबारेमा ठोस धारणा नबनाएको बताएका थिए ।