• मंसिर १७ २०८१, सोमबार

नरहरिनाथलाई कुरौटे देख्नेका नजरमा सुगौली सन्धिकर्ता चन्द्रशेखर देशभक्त ?

मंसिर ३ २०७८, शुक्रबार

आफ्नो ब्रह्मले देखेको कुरा पैतलाले कुल्चंदै अरुको पैतलाको धुलो शिरोधारण गर्ने रोगलाई के नाम दिने होला ? नेपालमा यो रोगबाट ग्रसित स्वघोषित बुद्धिजीवी, कथित प्रगतिशील, वामपन्थी, प्रजातान्त्रिक, लोकतान्त्रिक, समाजवादी, पञ्च, पूर्वपञ्च, महापञ्च, मण्डले बुद्धिजीवीहरुको संख्या ठूलो छ । यस्तैमध्ये केहीले सन् १८१६ को सुगौली सन्धिमा चन्द्रशेखर उपाध्याय जस्तो सामान्य पुरेतले मुलुकको ठूलो भूभाग गुमाउने गरी हस्ताक्षर गर्ने क्षमता राख्दैनथे भनेका छन् । अझ त्यसमा पनि तामा, तुलसी र गीता छोएकाले चन्द्रशेखरबाट विश्वासघात हुनै नसक्ने दाबी गरेका छन् । चन्द्रशेखर उपाध्यायले नेपालको भूभाग अंग्रेजलाई जिम्मा लगाएका थिए भन्ने योगी नरहरिनाथ जस्ता देशभक्तलाई नामै नलिइ ती विद्वानहरुले कुरौटेको संज्ञा दिएका छन् ।

जबकी चन्द्रशेखर र गजराज मिश्रले नेपालको दुई तिहाइ भूभाग अंग्रेजलाई बुझाएको कुरा उठाउने पहिलो व्यक्ति देशभक्त योगी नरहरिनाथ हुन् । योगी नरहरिनाथले सुगौली सन्धिमा हस्ताक्षर गर्ने अधिकार चन्द्रशेखर उपाध्याय र गजराज मिश्रलाई नभएको, उनीहरु दुवैलाई निशार्थ नदिइ सन्देशहारका रुपमा मात्र खटाइएको तर दुवैजनाले अंग्रेजसँग अधिकार क्षेत्र भन्दा बाहिर गएर सुगौली सन्धिमा हस्ताक्षर गरेको बताएका छन् ।

सुगौली सन्धि गर्ने तिनीहरु को थिए ? भन्ने प्रश्नको जवाफमा योगी नरहरिनाथले यसो भनेका छन् :

चन्द्रशेखर उपाध्याय र गजराज मिश्र । तिनीहरुले उहाँको अंग्रेजी पत्र लिएर आए । यहाँको पत्र लिएर गए । सन्धिको सीमा निर्धारण गर्न उहाँहरुलाई कुनै अधिकार थिएन । यस्तो पत्रको दुई पत्रको दुई प्रकारको राजदूत हुन्छ । एउटा सन्देशहार अर्को हुन्छ निशार्थ । जस्तो बहादुर शाहको शासनकालमा दामोदरलाई चीन पठाउँदा दिएको निशार्थ थियो । यो सर्वाधिकार थियो । तर यिनीहरुलाई भने कुनै अधिकार दिएको थिएन । पत्रकार (दूत) मात्र थिए । तिनले यहाँबाट (सुगौली नामले सुगौली समेत बसेर) पत्र पठाएका थिए । राजा बालक, परिवार सिपाही मात्र अरु सबै ठगहरु र सम्पूर्ण भारदारहरु पूर्वपश्चिमको युद्धमा थिए । पत्रकारहरु त्यो बेलामा अचानक यो पत्र लिएर आए । यो पत्रको उत्तर दिने मान्छे पनि छैन, पत्रमा लालमोहर लगाउने र हस्ताक्षर गर्ने मान्छे पनि छैन । हाम्रा सैनिकहरु अगाडि बढ्दैछन् । हाम्रो सीमा पर सर्दैछ । युद्धमा विजय हुँदैछ । यस्तो बेलामा सन्धि गर्ने चलन छैन भनेर यहाँबाट हस्ताक्षर नगरी र लालमोहर नलगाइ यो पत्र फर्काइयो । त्यसपछि फिर्ता लगेर उनीहरुले अंग्रेजलाई दिए । अंग्रेजहरुले सन्धिमा हस्ताक्षर भयो, सन्धि भयो भनेर हचुवाका भरमा हल्ला मच्चाएर एकतर्फी निर्णय गरे । एकतर्फी निर्णय गर्दा पनि तिन जनाको हस्ताक्षर देखाए । उतापट्टीको एकजना र यतापट्टीको तिनै जना पत्रकार (दूत) मात्र छन् ।

तर, सुगौली सन्धिकर्ता चन्द्रशेखर उपाध्याय र गजराज मिश्रमाथि प्रश्न उठाउने देशभक्त योगी नरहरिनाथ भने यतिबेला चन्द्रशेखर उपाध्याय र उनका दरसन्तान शैलेन्द्रकुमार उपाध्यायका अनुयायीहरुको नजरमा फगत कुरौटे तर मुलुकको दुईतिहाइ भूभाग अंग्रेजको पाउमा चढाउने चन्द्रशेखर उपाध्याय र उनका सन्तान शैलेन्द्रकुमार भने देशभक्त हुन् ।

चन्द्रशेखरले सुगौली सन्धिगरे बापत भारतको मुजप्फपुरमा ३६ मौजा अनि दरसन्तानका लागि भारतमा मजिस्ट्रेट पद र अनि गजराज मिश्रले कलकत्ताको दमदममा कसरी जग्गा पाए ? भन्ने कुरा चन्द्रशेखरमार्गीले देख्ने कुरै भएन ।

पञ्चायतकालमा पञ्चहरुले योगी नरहरिनाथलाई किन करेन्ट लगाएर यातना दिँदै उनका सबै पुस्तक, ऐहिासिक दस्तावेज, सामग्रीहरु जफत गरी मृगस्थलीस्थित उनको आश्रम किन लाहाछाप सिलबन्दी गरियो ? उक्त कुरा रहस्यमय छ ।

कहीँ चन्द्रशेखरका दरसन्तान कै योजनामा त योगी नरहरिनाथलाई पञ्चहरुले करेन्ट लगाएर अमानवीय यातना दिँदै उनीद्वारा संकलित दुर्लभ ऐतिहासिक दस्तावेज धुलीसात पारेका थिएनन् ? खोजीको विषय ।