काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री लु शुक्रबार बिहान सिंहदरबार पुगेका हुन् ।
एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हितलगायतका विषयमा कुराकानी भएको थियो। साथै सहायक विदेशमन्त्री लुले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा समेत चासो राखेका थिए। जवाफमा अध्यक्ष ओलीले सत्तापक्ष गठबन्धन दलले अझै एमसीसीबारे स्पष्ट धारणा बनाई विपक्षी दललाई सहयोगको आग्रह नगरेकाले सोबारे धारणा नबनाएको भेटका क्रममा स्पष्ट परेको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिए ।
यसअघि लुले बिहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापित शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । बुधबार साँझ नेपाल आएका लुले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।