• असार २५ २०८१, सोमबार

बस दुर्घटना भएको ठाउँबाट तल हेर्दा…..

मंसिर ३ २०७८, शुक्रबार

उत्तानो परेको बस देखियो । एक जोडा टायर अलि पर उछिट्टिएका थिए । बसले पल्टन बाजी खाएकोे गोयो हेर्यौँ । सिसा पिसिएका थुप्रा । तिहारका सेलरोटी फिनी, सिन्कामारीका खुज्रा, बच्चाका चप्पल लगायत थिए । बल्ड्याङ खाएको बसले ठाउँठाउँमा जमिन धस्सिएको माथिबाटै देखिन्थ्यो ।

अलि पर खोल्सो छ । त्यहाँबाट सोझिएको बस सुस्तरी मोडिंदै आफ्नो लिकमा सडकको घारीघारी उत्तरतर्फ जानुपर्दथ्यो । कथंकदाचित भित्तामा ठोकिन र उकालो चढ्न खोजेको भएपनि सामान्य मानिन्थ्यो । त्यो बस खोल्साबाट सोझिएर सिधा सडक मिच्दै अघि बढेको देखिन्छ । अर्काको लिकमा छेउतिर लाग्दै ढिकमै पुग्छ । जसै मोडिनु पर्ने डाँडो आइपुग्छ पल्टिसकेको बुझिन्छ । सडक मिच्दै मिच्दै अघि बढेको टायरका डामले देखाउँछन् । थोरै एक दुईमिटर जति अघि बढेको भए सल्लाको रुख भेट्ने थियो । त्यहाँ नपुग्दै भार थाम्न र मोडिन नसकी पल्टेको छ ।

त्यहाँको टायरका डाम हेर्दा बस ढल्किंदै ढल्किंदै ग्वाम्मै गएको अनुमान गर्न सकिन्छ । बरु सुस्तरी आएको भए यात्रुले अनुभव गरे होलान् । तिब्र गतीमा भए छेउ तिरकाले मात्रै डिल काटेर तल गएको महशुस गर्नुपर्छ । एउटा टायरले पिच बाटो छोडेपछि पनि बस निरन्तर अघि बढ्नु इञ्जिनको कमजोरी वा चालकको दोषमध्ये एउटा हुनुपर्छ । बस सरासर आफ्नो लिक छोडी अर्कातर्फ बढ्दै ढिक मुनी गुड्न थालेपछि यात्रुहरु पनि किन यसो भयो ? भनेर डराएको हुनुपर्छ । सामान्य अवस्थामा खाल्टामा ढल्किंदै गर्दापनि बस भित्रका यात्रुहरु ढल्यो, ढल्यो भन्दै कराउन थाल्छन् ।

त्यो बस त झन् पल्टिने गरी ढल्किएको छ । अघि बढ्न र मोडिन नसक्ने अवस्थामा पुगेपछि पल्टेको हुनपर्छ । अलिक अघि बढेर पल्टेको भए सल्लाहको रुखमा पर्ने रहेछ । त्यो रुख ढल्दैन्थ्यो भने त्यत्राको संख्यामा मानिसको नोक्सान हुने थिएन । बरु, भगवानले जोगाए भन्ने थिए । साँझको बसमा आएर त्यो दृश्य हेर्ने सबैले यस्तै अड्कल बाजी गर्दै अचम्म मानेर थकथकी मात्रै गरे । त्यो घटना स्थलले स्वभाविक अर्थ दिँदैन्थ्यो ।

यत्रो बाटोमा कसरी दुर्घटना भयो, यसरी बस ढिकतिर जाँदा पनि यात्रुले केही भने होलान्, चालकले किन मोडेनन् ? कि त चालकले मोड्न खोज्दा पनि इञ्जिनले काम गरेन होला, कि चालक चलाउँदा चलाउँदै निदाए यस्तै अनेक खालका अड्कलबाजी गर्न थालियो । धेरैले मोबाईलमा फोटा कैद गरे । आफू सवार बसतिर नजर लगाए । चालकको मुहार पनि अध्ययन गरे । सल्यान खलंगाबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस २०७८ कार्तिक २१ गते आइतबार कपुरकोट गाउँपालिका ५ खारखोलामा पल्टिएको थियो । त्यो दृश्य अवलोकन गर्न यात्रुहरुको आग्रहमा साँझ रुकुमबाट आउँदै गरेका यात्रु ओर्ले ।

उसैदिन ११ बजे हामी मुसिकोट खलंगा रुकुम पश्चिमबाट फर्किदै थियौँ । संयोगले कार्तिक १८ गते घोराहीबाट नाइटमा जाँदाकै बसमा परिएछ । त्यस दिन बस चालक बाटोमा बेस्सरी निदाएका थिए । बस भित्रका यात्रुले चर्को स्वरमा गुरु जी….. हामिलाई ढिला भयो, बस छुट्छ भनेर चिल्लाउँथे । लामो समय सुत्दा तिहार मान्न फर्किंदै गरेका यात्रुहरुले धेरै दुःख मनाउ गरे । चालक निदाएको बखत सहचालक र सहयोगीले जवाफ दिन्थे हिजो गएको आजै फर्कियो सुत्नै पाउनु भा’छैन । त्यसैले निदाउनु भा’को होला ।

साँझ पाँच बजे घोराहीबाट छुटेको बस बिहान करीब आठबजे सितल पोखरी पुग्यो । यो समय अत्याधिक लामो हो । ढिला सुस्ती गरियो । त्यसको खास कारण थियो, लामो समय गाडी चलाएका चालकको थकान् । मौका परेको बेला कमाउनु पर्छ भनेर लामो दुरीका बसमा समेत एउटा चालक राख्ने लाछि बस साहुहरु । भत्ता धेरै हुन्छ भनेर रेष्ट नगरेरै कुदीहाल्ने चालक आफै दोषी हुन् । चाडबाडको मौकामा यही दाउ छोप्नकै लागि थकित चालक प्रयासरत थिए कि संका उब्जिन्छ । त्यसो हो भने आठ घण्टा भन्दा बढि समय नचलाउने र त्यो अवस्थामा पालो फेर्ने व्यवस्था मिलाउनुपर्छ । त्यसो नगरिए यस्तै दुर्घटनाहरु फेरी फेरि पनि सुन्नु र सहनुपर्ने छ ।

 

म चढेको बस संयोगले रुकुम जाँदा र फर्किंदा एउटै परेको रहेछ । कार्तिक २१ गते बिहान नौबजे मुसिकोट बसपार्कबाट छुट्यो । शितलपोखरी ११ बजे आइपुग्यो । दश पन्ध्र मिनेटको बाटोमा दुई घण्टा लाग्नुको कारण थियो, जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले सेरीगाउँ रोकेको थियो । त्यहाँ के सम्झौता भयो र बस छुट्यो । त्यसपछि करिब एक घण्टा समय शितलपोखरीमा मर्मतमै खर्चियो । त्यसपछि बल्ल बल्ल गुड्यो । पाँच छ बजे तुल्सीपुर पुग्ने र यात्रु घोराही छोड्ने भनेर कतिको घोराहीकै भाडा असुलेको थियो । आठ बजे भन्दा पछि तुलसीपुर पुग्यो । कपुरकोट र गोठीखोलामा पनि प्रहरीले लामै समय लगायो । यसरी ठाउँठाउँमा किन दुःख दिन्छ, हामी यात्रुहरु गएर प्रहरीलाई भन्यौ भन्दै केही यात्रुहरु उत्तेजित भए ।

चालक सहचालकले ‘दाई’ लाई फोन लगाई रहन्थे । बसका मालिक वा प्रालिका अगुवा भनेर बुझ्न सकिएन । यसरी दाईलाई फोन गरिरहनु पर्ने, यात्रुलाई अलमल पारी राख्ने कारण भने गजबको रहेछ । त्यो बसको रुट प्रमिट कागजात कपुरकोट प्रहरीले जफत गरेको रहेछ । त्यसैगरी गोठीखोला चेकपोष्टमा व्लुबुक जफत गरेको रहेछ । घोराहीमा बसपार्क प्रहरीले लाईसेन्स लगेको रहेछ । त्यो बसका चालक सहचालकसँग कुनैपनि कागज रहेनछ । धन्य हाम्रो प्रहरीको व्यवहारिकताले रुकुम पुगेर बस तुलसीपुर फर्कियो । केहीबेर रोकेपनि व्यवसाय रोकेन । हाम्रो भाषामा ठाउँ ठाउँमा प्रहरीले सतायो । प्रहरीको व्यवहारमा कानुन कार्यान्वयन गर्न खोज्यो । आआफ्नै लक्ष्य पुरा गर्ने क्रममा यात्रुलाइ तनाब भयो । यात्रा कष्टकर भयो ।

बस मालिकमाथि कानुन उल्लंघन, अटेरी लगायत अनेक खालका आरोप लगाउन सजिलो छ । तिनले तिर्ने किस्ता, बीमाको रकम, इन्धन र मरमतको बिल अनेक बाद्यताले जवरर्जस्त गुड्नै परेको होला । त्यसरी बस चलाउनै सकिन्न भने पेशा छोडे हुन्छ । यात्रुको ज्यान र समय नोक्सान गर्ने अधिकार छैन । प्रहरीले रोक्ने थर्काउने र अन्तमा लत्रक्कै गलेर कानुन कार्यान्वयन गर्न नसक्ने कहिलेसम्म ? शुसासनका गफ लगाउने सरकारहरुले यत्रो खति हुँदा पनि कागजात नभएको बस चल्न दिन्छन् ।

कुनै पनि कागज नभएको सवारी चल्ने दिने हो भने प्रहरीले किन चेक गर्छ ? ट्राफिकले किन कागज खोज्छ ? सवारी धनिलाई सताउने यात्रुलाई दुःख दिने नीति जनघाति छ । त्यसमा सवार सबै यात्रुहरुले खराब बस, कानून विपरीत चलाउने चालक र नियम कानुन लागु गर्न नसक्ने प्रहरी प्रशासनको मार खेप्दै यात्रा गरेका छन् ।

यस्तै अर्को प्रसंग पनि याद आयो तिहार बिदा हुँदाको दिनै जस्तो लाग्छ गिठेपानी जाने साँघुरो बाटो नयाँ बजारमा एउटा स्कूल बस रोकियो । त्यसका सहचालकले पछि हट्नुस् पछि हट्नुस् बे्रक लाग्दैन भन्दै कराउँथे । त्यसमा बच्चा थिएनन् । यदि बच्चा बोकेर गुडिरहेको बेला परेको भए कति जना जोखिममा पर्दथे ? मानिसको जीवन सजिलो बनाउने सवारी साधनमा किन ध्यान पुगेन । स्कूल बसहरु समेत थोत्रा मोत्राबाट काम चलाउने गरिएको छ ।

पहाड चल्ने गाडीका यात्रुलाई मानिस होइनन् जस्तै व्यवहार गरिन्छ । यात्रुले बान्ता गरेका डाम समेत धोइँदैन । डेन्टिङ पेन्टिङ गरिँदैन । खर्ले खर्ले गरेर सारा बसै थोत्रो बनेको हुन्छ । सिट कस्ने, नट टाईड गर्ने, प्वाल बुझ्ने जस्ता सामान्य मरमत समेत गरेको देखिँदैन । न त ठिक ठाउँमा बे्रेक लाग्ने, ह्याण्डील सहि समयमा मोडिने गरी मरमत नै गरेका हुन्छन् । बस चालकहरु आफ्नो ऋण धन मात्रै सोच्छन् । चेक पोष्टमा प्रहरीको अर्कै स्वार्थ छ ।

नागरिकको अनाहकमा ज्यान जान्छ । यो क्रम पहिल्यैदेखि चल्दै आयो निकास कहिल्यै पाउन सकिएन । त्यसैले यात्रुलाई सजिलो बनाउन लगानी कर्ता, चालक र नियामक निकायले गम्भिर भएर सोचौँ । बीमाको रकम पाउनका लागि दुर्घटनाका बनावटी कारण रच्ने होइन । वास्तविक समस्याको पहिचान गरी सदाका लागि निराकरण गर्न सबै एकमत हौँ । खारखोला बस दुर्घटना स्थलबाट तल हेर्दाको दिनदेखि आजसम्म मेरो मनमा यही कुरा खेलिरहेको छ । यसै मार्फत् दुर्घटनामा ज्यान गुमाउनु भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।