काठमाडौँ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमामा मनाइने गुरु नानक दिवस आज पनि भव्यताका साथ मनाइँदै छ । नेपालमा रहेका शिख सम्प्रदायका लाबिग यो शिख धर्म प्रवर्तक गुरु नानक जन्म दिन हो । शिख सम्प्रदायले यसलाई आफ्नो महान् पर्वका रुपमा मनाउँदै आएका छन् ।
गुरु नानकको सोह्रौं शताब्दीको पूर्वाद्र्धमा भएको थियो । नानकको जन्म वि.सं. १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन तात्कालीन पञ्जाव प्रान्तमा भएको थियो । यो स्थान अहिले पाकिस्तानमा पर्छ । त्यति बेला नै उनले शिखधर्मको पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरिसकेका थिए ।
त्यति बेला धर्मका बीचमा निकै हानथाप र एकले अर्कालाई धर्मका हिसाबले भिन्न देखाउने प्रचलन पनि बढ्दै गएको थियो । आआफ्ना धर्मको अधिपत्य स्वीकार गर्न लगाउने प्रचलन पनि निकै थियो । हिन्दू र मुस्लिमका बीचमा त अकल्पनीय बैमनस्याता पनि थियो ।
यो बेलामा गुरु नानकले जातिवादको अन्त्य गरी मानवतावाद स्थापनाको सोच र दर्शन प्रतिपादन गरे । यही कुराको स्मरण र कार्यान्वयनका लागि नेपालमा रहेका शिख सम्प्रदायका मानिस आज गुरु नानक जयन्तीको अवसर पारेर पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गरी त्यहाँ रहेका साधुसन्तलाई भण्डारा खुवाउने तयारीमान छन् ।
स्वामी गोकुलानन्दले दिएको जानकारी अनुसार आजको कार्यक्रमको तयारीमा पशुपतिस्थित भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीस्थित गुरु नानक मठमा विविपूर्वक कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाउने तयारी पूरा भैसकेको छ । कोरोना महामारी कायमै रहेकाले आगन्तुक तथा श्रद्धालु सबैलाई भौतिक दूरी कायम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने व्यवस्था पनि गरिएको छ ।
आजको दिन पवित्रस्थलहरुमा गुरुद्वारामा विशेष पूजाअर्चना गरिन्छ । साथै, गुरु ग्रन्थ साहिबको वाचनसहित वर्तमान समाजमा रहेको अन्धविश्वास, रुढीसहित घृणा र भेदभावको अन्त्यको पनि आह्वान गरिन्छ ।
गरीबहरुका लागि ‘लङ्गर’ भोजको परम्परा पनि यही दिनबाट सुरु गरिएको मानिन्छ । यसले मानवता र मानवबीचको भ्रातृत्वलाई स्थापित गर्ने काम गरिरहेको छ । यसले शिख सम्प्रदायका बीचमा मात्र होइन, सम्पूर्ण मानव जातिमा आपसी सद्भाव, प्रेम र भ्रातृत्वको भावना प्रगाढ बनाउने काम गरिरहेको छ ।
हिन्दु धर्मको शाखा भनिए पनि मानवता र समानताजस्ता व्यवहारिकताका हिसाबले बुद्धधर्मसँग नजिक देखिन्छ । फेरि यो धर्मले ईश्वर एक छन् र सर्वशक्तिमान छन्, ईश्वर नै एकमात्र सत्य हो भन्ने गरेको कुरा गरिएकाले आस्थाका आधारमा हिन्दु धर्मको नजिक देखिन्छ । तथापि, हिन्दू धर्मले एक ईश्वर होइन, ३३ कोटी देवतामा विश्वास गर्छ ।