वाग्मती । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
मकवानपुरको मनहरीमा आज आयोजित एमाले गाउँकमिटीको शपथग्रहण कार्यक्रममा नेता भट्टराईले विभाजनले एमालेलाई खासै असर नगरेको उल्लेख गरे ।
भट्टराईले मङ्सिर १० गतेदेखि चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए । ‘देशको सबै जिल्ला र सङ्घ सङ्गठनबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन्, त्यसैले हामीलाई नेतृत्व पनि सर्वसम्मत चयन गर्न दबाब छ, हाम्रो अध्यक्ष पनि सोही कुरामा चिन्तित हुनुहुन्छ’, भट्टराईले भने ।
कार्यक्रममा भट्टराईले नवीन सुवेदीको अध्यक्षतामा गठित नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको शपथ गराएका थिए ।