• असार १७ २०८१, आईतवार

शिक्षालाई उमेरले छेकेन : १०४ वर्षीया बृद्धाले ल्याइन् उत्कृष्ट नम्बर

मंसिर २ २०७८, बिहीबार

काठमाडौँ। भनिन्छ, शिक्षा समयमै लिंदा बढी प्रभावकारी हुन्छ । युवा अवस्थामा जस्तो बुढ्यौलीमा दिमाग तेज हुँदैन । कसैलाई बुढ्यौलीमा साक्षर बनाउन खोज्यो भने हाम्रो देशमा बुढापाकाहरुले यदाकदा भन्ने गर्नुहुन्छ, भैगो बाबु मर्नेबेला हरियो काँक्रो के गर्नु ?

माथिका यी र यस्ता वाक्यहरुलाई माथ गर्दै भारतमा एउटी बृद्धा आमा भेटिनु भएको छ । जो अहिले साक्षरताको परिक्षामा उत्कृष्ट नम्बर ल्याएर संसार भरिका बृद्धबृद्धाहरुको प्रेरणाको स्रोत बन्नु भएको छ ।

शिक्षा लिन उमेर बाधक हुंदैन । जसले जतिबेला अथवा जो सुकैले जुनसुकै बेला अध्ययन गर्न सक्छन् भन्ने विषयको उदाहरण बनेकी आमाको नाम हो, कुट्टीआमा । १०४ वर्षीया कुट्टीआमाले भारतको केरला राज्य सरकारले हालै लिएको साक्षरता परिक्षामा उत्कृष्ट नम्बर ल्याउनु भएको हो । उहाँले सो परिक्षामा १०० पूर्णाङ्कमा ८९ नम्बर ल्याएर दुनियाँलाई चकित बनाउनु भएको छ ।

१०४ वर्षीया आमाको सफलताको यस्तो खबरलाई भारतको केरला राज्यका शिक्षामन्त्री भी शिभन कुट्टेले आफ्नो लागि खुशीको क्षण भएको उल्लेख गरेका छन् । ट्विटरमा आफ्नो भनाई ट्वीट गर्दै शिक्षामन्त्री कुट्टेले सो परिक्षामा उत्कृष्ट नतिजा ल्याएकोमा आमालाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले भनेका छन्,‘उच्च माया र सम्मानसाथ कुट्टिआमा र अन्य नयाँ शिक्षार्थीलाई शुभकामना दिन चाहन्छु ।’ शिक्षामन्त्री कुट्टेले ती बृद्धा आमाको हाँसिरहेको तस्विर पोष्ट गर्दै आफ्नो खुशी व्यक्त गरेका हुन् ।

भारतको केरला राज्य सरकारले ल्याएको निरन्तर शिक्षा योजना अन्तर्गत हालै सो परिक्षा संचालन गरिएको थियो । सो शिक्षा योजनामा सहभागी नहोउञ्जेल आमा कुट्टिमाया कहिल्यै विद्यालय जानु भएको थिएन । साक्षरता अभियानमा सहभागी हुनुभन्दा पहिलो दिनसम उहाँलाई पढ्न र लेख्न केही आउँदैनथ्यो ।