घोराही, ३ मंसिर ।
स्विटरको एउटा पातो बुन्नलाई २० देखि ३० मिनेट लाग्छ । त्यसको कमाई घोराही १३ बडहरा बस्ने भगवती थापाले १५० बुझ्नु हुन्छ । उहाँ प्रशिक्षक बनेर जानुहुन्छ । त्यहाँ दैनिक एक हजारसम्म कमाउने गरेको थापाको भनाइ छ । उहाँले जन्मेको आठ महिनामै जलेर दुवै खुट्टा गुमाउनु भएको छ ।
चिसोमा दुवै हातका औंला चल्दैनन् । दिउँसोका घाममा र गर्मी मौसममा मात्रै बालिकाका हातका औंला चल्छन् । घोराही–१६ सर्रा बस्ने चौधरी पनि सोही उद्योगमा आएर ऊनको धागोबाट बुन्नुहुन्छ । बेला मौकामा प्रशिक्षक बनेर गाउँमा पनि जाने गर्नु भएको छ । त्यहाँ पनि दैनिक हजार हुन्छ ।
बिहान निर्मला बुढाले बच्चा लिएर विद्यालय छोड्नुहुन्छ र आफू स्वप्न होजियारी उद्योग घोराही–१४ जानुहुन्छ । त्यहाँ ह्याण्ड क्याप मेसिन मार्फत् बुन्नुहुन्छ । उहाँका अनुसार करीब २० मेनेटमा एक पाता बुनेर सकिन्छ । त्यसको ज्याला उद्योग सञ्चालक रचना सुवेदीले एक सय ५० रुपैयाँ दिनुहुन्छ । यसरी कमाई गर्ने १० जना पुगेको उद्योग सञ्चालक सुवेदीले बताउनु भयो ।
कुनै कारणबस पाँच दश मिनेट तलमाथि परेपनि दिनभरीमा पाँच, छ पाता ऊनका कपडा बुनिसकिन्छ । त्यसको रकम सात सय ५० सम्म हुन्छ । साँझ जब विद्यालय बन्द हुन्छ तब घोराही–१४ कि निर्मला बच्चा लिन जानुहुन्छ । बच्चासँगै घर फर्किएपछि त्यस दिनको डिउटी पनि सकिन्छ । छठ पर्वको सार्वजनिक विदाको दिन भनेर बुढा बुधबार दिनैभरी उद्योगमा बस्नु भयो ।
यसरी नियमित उद्योगमा काम गर्ने शुसिला केसी पनि हुनुहुन्छ । उहाँहरु (बुढा र केसी) दुवै जनालाई निःशुल्कै मेसिन चलाउन सिकाएको उद्योग सञ्चालक सुवेदीले बताउनु भयो । उहाँका अनुसार मेसिनमा बुनेको बाहेक जोडेको छुटै पैसा पाइन्छ । फेन्सिङ गरेर तयारी पारेको पोषाकको मूल्य फरक हुन्छ र थप कमाई हुन्छ । त्यसैले महिलाहरुलाई रोजगारीको राम्रो अवसर छ ।
व्यरोजगार बसेका दिदी–बहिनीलाई पैसा र खुशी मिलोस् भनेर गत वर्ष फागुनमा मेसिन ल्याएको सुवेदीले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म १० जना महिलाले मेसिनबाट बुन्न सिकिसक्नु भएको छ । उहाँहरु मध्ये चार जना होजियारीका प्रशिक्षक बन्नुभएको छ । तिनै प्रशिक्षकबाट चमेली चौधरी गुल्मीमा प्रशिक्षण दिएर फर्किनु भयो । उहाँले त्यहा ४५ दिन सम्म होजीयारी सिकाउनुभयो । अरु तिनजनाले राजपुर, रोल्पा पुगेर प्रशिक्षण दिनुभएको छ । बाँकीले बुन्नु हुन्छ । उहाँहरुले लुम्बिनी प्रदेश मुख्यमन्त्री विकास कार्यक्रमबाट सिक्नुभएको हो ।
उद्योग सञ्चालक सुवेदी आफैले घोराहीमा अपांगता भएका १० जना, तुलसीपुरमा १५ जना, राप्तीमा २१ जना, गुल्मीको मजुवामा १६ जना, गुल्मीकै छत्रेकोटमा १६ जना, गुल्मीकै शान्तिपुरमा १६ जना गरी जम्मा ९४ जनालाई सिप सिकाउनु भएको छ । माग गरेमा मेसिन सप्लाईको काम पनि गर्दै आएको बताउनु हुन्छ । इच्छा र जाँगर भएकालाई सिक्न आह्वान गर्नुभयो ।
‘मन नडुलोस् काममा ध्यान जावस् र खुशी होउन भन्ने चाहन्छु’ प्रशिक्षण केन्द्र सञ्चालक सुवेदीले थप्नुभयो, ‘आफ्ना सिर्जनाले रमाउन भनेर बुन्न सिकाउँछु ।’ उहाँका अनुसार घर सम्हालेका उपाए बिहीन महिलालाई लक्षित गरिएको छ । श्रीमान्बाट भरथेग नहुने घर चलाउन समस्या परेकालाई सजिलो बनाउन खोजिएको छ । गिट्टी बालुवाको काम गर्ने बल सबैसँग नहुन सक्छ । तिनले कोठाभित्रै बसेर बुन्न सक्छन् । अनेक बुट्टा निकाल्छन् र त्यही सिर्जनामा खुशी भेट्छन् । आफ्नो खर्चपनि चल्ने व्यस्त पनि हुने महिलाका लागि उपयुक्त छ ।
एकजना प्रशिक्षार्थीबाट न्यूनतम पाँच हजार शुल्क तोकेपनि महिलाको अवस्था अनुसार निःशुल्क पनि सिकाउने गरेको सुवेदीले बताउनु भयो । उपाय खोजिरहेकालाई बाटो देखाउनेले पैसाकै कारण रोक्नु हुँदैन भन्ने उहाँको मत छ । उहाँका अनुसार चाहना हुने तर पैसाले नपुग्ने धेरै महिला दिदी–बहिनी हुनुहुन्छ ।
लगानी बिना नै कमाउने र घर चलाउने इमान्दार परिश्रमी महिलालाई अवसर हो । ऊनको धागोबाट बनाउन सकिने सबै फेसनहरु उद्योगले तयार गर्छ । विद्यालय र कलेजका पोषाकदेखि सबैसबै किसिमका ऊनी धागोका कपडा तयार गर्दै आएको छ । यसको महत्व बुझाउन सके बजारको समस्या नहुने उहाँहरुको बुझाई छ । बजारीया भन्दा आफैले छनोट गरेको धागो, नापेर अर्डर गरेको स्विटर लगाउन पाउने अवसर छ । मोजा, टोपी, हाप र फुल स्विटर लगायत सबै एक दुई दिनमै सिलाएर फिटिङ गरिन्छ ।