• मंसिर १५ २०८१, शनिबार

सर्लाहीमा कांग्रेस निर्वाचन अधिकृतमाथि हातपात

मंसिर २ २०७८, बिहीबार

सर्लाही। सर्लाहीमा नेपाली काँग्रेस अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ । बिहिवार मध्यान्ह सदरमुकाम मलङ्गवास्थित पार्टी कार्यालयमा निर्वाचन अधिकृत दीवाकरराज पाण्डेमाथि काँग्रेसकै एक समूहले हातपात गरेको हो ।

जिल्ला पार्टी कार्यालयमा मतदान अधिकृत खटाउने विषयमा छलफल भइरहेकाबेला निर्वाचन अधिकृत पाण्डेमाथि हातपात भएपछि उनलाई सुरक्षित स्थानमा राखिएको काँग्रेसले जनाएको छ ।

अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । दुई पक्षबीचको विवादले गर्दा निर्वाचन गराउन नसकेपछि यसअघिका निर्वाचन अधिकृत विनोद कार्कीले राजिनामा बुझाएर गएपछि काँग्रेस केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई सर्लाहीको निर्वाचन अधिकृत बनाएर खटाएको थियो ।

पाण्डेकै अध्यक्षतामा बसेको बैठकले बिहिवार जिल्लाका २० वटै पालिकाका सबै २०० वटा वडामा अधिवेशन गराउने निर्णय गरेको थियो । तर जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीच मतदान अधिकृत खटाउने विषयमा सहमति हुन नसक्दा वडा अधिवेशन हुन सकेको थिएन ।