जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका हुन् ।
‘चुनावमा जनताले नक्कली जलपबालालाई बढार्नेछन्’, प्रचण्डले भने, ‘मधेश र मधेशी जनताको मुक्तिको शङ्खनाद हामीले गरेका हौँ, मधेशी जनताले आगामी निर्वाचनमा पहिलो मत दिएर हामीलाई नम्वर एक बनाउनेछन् ।’ यसअघिका मधेशका भ्रमणमा मधेशसँग आफ्नो गहिरो ‘प्रेम’ परेको उनको भनाइ छ । आफैँले दुई पटक मधेशी जनताको हक अधिकारका निम्ति संविधान संशोधनको प्रस्ताव लगेको प्रसङ्ग सम्झाउँदै उनले त्यतिखेर सफल हुन नसकेको त्यो कुरा अब पहिलो पार्टी बनेर पूरा गर्ने बताए । ।