(हाल देशमा जनगणना चलिरहेको छ । नेपालको सन्दर्भमा यसपाली चलिरहेको जनगणना १२औं हो । जनगणनामा जनताको जनगणनाको मात्रै तथ्यांक आउँदैन । बरु यसबाट देशका जनताको आर्थिक अवस्था, विभिन्न समुदायका भाषा, धर्म, संस्कार र अन्य अवस्थाको बारेमा जानकारी आउँछ । यसबाट आएको तथ्यांकको आधारमा विभिन्न जाति र समुदायका अगुवाहरुले आफ्नो समुदायका लागि अधिकारको माग गर्दछन् । जनसंख्याको आधारमा जनताले अधिकार पाउने व्यवस्था संविधानमा गरिए अनुसार यसपटकको जनगणनालाई विभिन्न जातिका अगुवाहरुले त्यत्तिकै महत्वका साथ लिएका छन् र आफ्नो समुदायको पहिचानको रक्षाको लागि भन्दै गणकहरु घरघरमा आएका बेला आफ्नो जातिको पहिचान स्पष्ट हुने गरी फारम भर्न सिकाइरहेका छन् । र यसै सन्दर्भमा गोलखबरडटकमका संवाददाताले प्रकृतिपूजक मगर समाजका अध्यक्ष नन्द घर्तीमगरसित यसै सरोफोरोमा केही प्रश्न सोधेका छन् । प्रस्तुत छ सोही कुराकानीको सारसंक्षेप : सम्पादक ।)
१) मगर समुदाय कसरी प्रकृतिपूजक समुदाय हो ?
१२औं राष्ट्रिय जनगणनामा हामी प्रकृतिपूजक मगर समाजको तर्कबाट देश तथा विदेशमा रहनु भएका मगर समदायलाई जातिमा मगर र धर्ममा प्रकृतिपूजक लगायतका जुन मगर जातिको पहिचान खुल्नेगरी लेख्नु पर्ने हुन्छ । ती कुरालाई निकै ध्यान दिएर लेख्न र लेखाउने काममा लाग्न अनुरोध गर्दछौं ।
जनगणनामा आएको तथ्यांकको आधारमा नै विभिन्न विकास निर्माणका काममा सहभागिता जनाउन सजिलो हुने र मगर जातिको वास्तविक परिचानको तथ्यांक पनि आउने हुनाले हामीले यस्तो खालको अभियान चलाएका हौं । १२३ भाषा र १२५ जाति रहेको नेपालमा हामीले आफ्नो वास्तविक पहिचान स्थापित गर्न पर्दछ । हामी आफ्नै घर्म, भाषा, सांस्कार छ । त्यसलाई बचाउनु पर्दछ । त्यसकारण घरघरमा आउने गणनालाई सही तथ्यांक दिनु होला भन्न चहान्छौं ।
२) मगरहरुको धर्म बुद्ध धर्म हो भनिन्छ नी त ?
मानिस जन्मेपछि पृथ्वी अर्थात् ,प्रकृतिमै अन्त्य हुने भएकोले हामीले प्रकृतिमा रहेर हाम्रा पुर्खाले बनाएका प्राकृतिक नियमहरु मान्दै आएका छौं । विभिन्न संस्कारहरु जस्तैः मृत्यु संस्कार, जन्म संस्कार, विहे संस्कारहरु प्रकृतिको नियम भित्र रहेर गरिने भएकोले हामी प्रकृतिपूजक हौं । मगरहरुको वास्तविकता पनि यही हो । बौद्ध धर्म मान्ने कुरा कसैको इच्छाको कुरा हो तर वास्तविकता भने प्राकृतिक धर्म हो ।
त्यो भनेको प्रकृतिपूजक हो । प्रकृतिपूजक भएकोले मगरहरु धर्तीपूत्र हुन् । अहिले जसजसले धर्ममा बौद्ध लेख्नु पर्दछ भन्नु भएको छ, उहाँहरु पनि सुरुमा प्रकृतिपूजक मगर नै हो । माओवादी जनयुद्ध सुरु भएपछि ५४ सालदेखि मात्र उहाँहरुले बौद्ध धर्म लेख्न थाल्नु भएको हो । ५४ सालमा भएको मगर संघको महाधिवेशनबाट मात्र उहाँहरुले मगरको धर्म बुद्ध हो भनेर लेख्न भएको हो । गोरेबहादुर खपाङ्गीको पहलमा यस्तो हुन गएको हो तर अध्ययन बिना यस्तो हुन गयो ।
मगरहरु हिन्दु धर्मावलम्बी किन होइन ?
३) मगर जातिको आफ्नै धर्म, संस्कृति र परम्परा आफ्नै भएपछि कसरी हिन्दु धर्मावलम्बी हुन्छ र ? बरू हिजैदेखि राज्यले एक धर्म, एक भाषा, एक संस्कृति मान्दै र मनाउँदै आएका कारण सबैलाई एउटा घानमा हालेर मगरको पनि हिन्दु धर्म हो भनेर भनेको मात्रै हो । वास्तविकता त्यस्तो होइन ।
त्यसकारण हामी हाल नेपाल सरकारले जनगणना गरिरहेको अवस्थामा सबै मगर समुदायलाई मगर जातिको धर्म, भाषा, पुर्खाको भाषा मगर समुदायको पहिचान खुल्ने गरि फारम भर्न आह्वान गरेका छौं ।