• असार २५ २०८१, सोमबार

पुर्खाको चिनो बचाउन मयुर नाच नाँच्दै रुकुमेली युवा

मंसिर १ २०७८, बुधबार

रुकुम पश्चिम, मंसीर १ ।
आफ्ना पुर्खालाई स्मरण गर्ने उपाएको रुपममा रुकुमको मुसिकोट नगरपालिका–१० चुन खड्का टोलका युवाहरुले मयुर नाचलाई बनाएका छन् । उनीहरु आफैमा नचारु भनेर पहिचान बनेको छ । त्यससँगै रुकुम पेउघाबाट चुन पुगेका पुर्खा सुभान खड्काको स्मरण गर्न नाचले सजिलो बनाएको छ ।

 

‘गुर्कुच्याउँ, गुर्कुच्याउँ, घिन्घी नकिन गुर्कुच्याउँ’ बज्न थालेपछि मुसिकोट नगरपालिका–१० का शुदर्सन खड्का हौसिए । अघिल्लो वर्षदेखि नाच्न नपाएका खड्का भाईटिकाको दिन सिमूहमा मिसिए । उनले मयुर नाचको ताल टिपे । वाद्यवादनको लय पकडे । मध्यरातसम्म नाचमा सहभागी भए । यसरी पढाइ तथा पेशा व्यवसायले बाहिर बस्नेहरुपनि नाच्न भने भुलेका हुँदैनन् ।

समूहमा झारडारीका लालबहादुर खड्काले मादल बजाउनुहुन्छ । त्यसमा स्वर मिलाउन डिल्लीरमण खड्काको डौरी बजाउने सीप छ । बच्पनैदेखि बाँसुरीमा सौखिन पवन खड्काले मिठो धुन निकाल्नु हुन्छ । त्यसपछि नचारुका शरीर हल्लीन थाल्छन् । खुट्टा टकटक्याउने, हात नचाउने र कम्मर हिल्काउन शुरु गर्छन् । वाद्यवादनको मादक स्वरले नचारुलाई गर्रवा न पहिरींदै उत्तेजित बनाउँछ । बजाउने नाच्नेदेखि पुरै समूह युवा पुस्ताको बनेको छ ।

नाचका अगुवा रेशम खड्काले फुकेको सिठीको स्वर डौरी मादलको आवाज भन्दा पर पुग्छ । तिनै मिठा संगीतका धुन पच्छ्याउँदै दर्शकहरु खेरीन थाल्छन् । नाच शुरु भईसक्दा नसक्दै दर्शकले आफ्नो ठाउँ ओेगटी सक्छन् । दौडादौड गर्दै तिहारका पाहुना मैतालुहरु सबैतिरबाट नाचस्थलमा जमघट भए ।

नाच सकिएला र अवसर छुट्ला भन्ने पिरले हतारहतार कुंदेका देखिन्थे । कतिपय मैतालुले भेटघाटमा अल्झिंदा नाच हेर्न नपाएको भन्दै दुःख पोखिरहेका थिए । जुन घरमा पुग्दा पनि हेर्नेहरुको जमात उत्तिकै ठूला बन्थ्यो । एक ठाउँ हेरेर अघाउँदैन्थे ।

त्यस क्षेत्रमा मयुर नाचको नाम लियो नै सुभान मयुर युवा क्लवको नाम आउँछ । साविक चौखावाङ गाविस अहिले मुसीकोट नगरपालिका ९ र १० बनेको छ । त्यस क्षेत्रमा मयुर नाच नाच्ने क्लव स्थापित भईसकेको छ । दशैँमा माईपुजा गरेर विधिवत् नाच सञ्चालनमा ल्याइएको थियो ।

त्यसबेला कोरोनाका कारण नाच्न मिल्छ कि मिल्दैन भन्ने दोधार थियो । देशमा फिल्म हल खुले, सवारी साधनको रोक हट्यो, मास्क र सेनिटाइजरको झञ्जटपनि खुकुलो पारियो नाच्न सहज वातावरण बन्यो । त्यसै मौका छोपेर क्लबले यस पटकको तिहारमा आफ्नो कला देखायो ।

यस पटकको नाचको अगुवाई सुनिल खड्का, अनिल खड्का, शुसिल खड्का, चन्द्र खड्का लगायतका युवाले गरे । क्लबमा अलि पाका व्यक्तिलाई नेतृत्व दिएको तर उनीहरु सहभागी नभएको युवाको गुनासो छ । तिनका अनुसार नाचको नेतृत्व गरेर हिंड्ने होइन भने जिम्मेवारी दिएर पनि काम छैन ।

त्यसैले समूहमा हिंड्ने, संरक्षण गर्ने र साथ दिनेलाई मात्रै क्लबमा अवसर दिने छ । शिक्षक कर्मचारी जस्तालाई भेट्न नपाएको नचारुको गुनासो छ । कतै लुकेर तास खेल्न थालेपछि नाच नहेरेका हुन कि भन्ने शंका लागेको एक युवाको भनाइ थियो ।

यतिबेला पुजा पाठ, विवाह लगायत अवसरहरुमा पनि मयुर नाचको माग हुने गरेको वडासदस्य एवम् क्लबका संरक्षक धनबहादुर खड्काको भनाई छ । उहाँका अनुसार चाडपर्वमा मयुर नाचले रमाइलो बनाएको छ । युवालाई एकजुट हुने थलो बनेको छ ।

धेरै मानिसहरुका लागि मनोरञ्जनको साधन भएको छ । अब क्लबलाई कानुनी रुप दिएर बलियो बनाउने र आवश्यक स्रोत जुटाउने योजना रहेको सदस्य खड्काको भनाई छ । पच्छिल्लो पुस्तालाई सिकाउँदै पुस्तान्तरण गरेर दिगो बनाउने लक्ष्य छ ।

कलाको संरक्षण गर्न खोजिएको छ । पेउघाबाट बसाई सरी चुन पुगेका आफ्ना पुर्खा सुभानको चिनारी मयुर नाच बनाइंदै छ । क्लबलाई दर्ता गर्ने र नाचलाई पुस्तान्तरण गर्दै लैजाने दिर्घकालिन योजना रहेको छ ।

रुकुमबाट फर्केपछि ।