• मंसिर १३ २०८१, बिहीबार

आजबाट घट्यो विद्युत् महशुल

मंसिर १ २०७८, बुधबार

काठमाडौँ। विद्युत नियमन आयोगले घोषणा गरेको नयाँ विद्युत उपभोक्ता महशुल दर आजबाट लागू भएको छ । गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी गत कार्तिक १० गते सार्वजनिक गरिएको नयाँ महशुल दर आजबाट लागू भएको हो ।
आयोगका अनुसार, नयाँ महशुल दर यस महिनाको विद्युत खपतका आधारमा पुस महिनामा बिलमा उल्लेख हुनेछ ।

नयाँ महशुलअनुसार ५ एम्पियरबाट मासिक २० युनिटसम्म विद्युत खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क निःशुल्क गरिएको छ । यस्तै न्यूनतम शुल्क मासिक ३० रूपैयाँ मात्रै तोकिएको छ ।

आयोगले गार्हस्थ्यस्तरमा विद्युत उपभोग बढाउनका लागि मूल्य निर्धारण गरेको हो । विद्युतको उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ्य वर्गको महशुलमा औसत २.८४ प्रतिशतले घटाइएको आयोगले जनाएको छ ।

नयाँ महशुल दरअनुसार, सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रूपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रूपैयाँ तिर्नुपर्ने छ ।

सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रूपैयाँले कटौती गरी क्रमशः १५०, १७५, २०० र २५० रूपैयाँ कायम गरिएको छ ।

सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रतियुनिट ५० पैसा घटार्ई प्रतियुनिट ९.५० रूपैयाँ कायम गरिएको छ ।

सिंगल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट १ रूपैयाँ घटाई प्रतियुनिट ११ रूपैयाँ कायम गरिएको छ ।

मुलुकमा हाल विद्युत ग्राहक संख्या ४९ लाख ८९ हजार ४९४ रहेको छ ।

जसमा २० युनिटभन्दा कम खपत गर्ने न्यून आय भएका ग्राहकको संख्या १९ लाख ८६ हजार ५०७ छ ।