• मंसिर १४ २०८१, शुक्रबार

हिमाल नाङ्गै हुने अवस्था आएको छ, समयमै सचेत हुनुपर्छ : प्रधानमन्त्री देउवा

कार्तिक ३० २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ ऊर्जाको विकास र प्रवर्द्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९औँ र २०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि स्वच्छ ऊर्जाको विकास नै अहिलेको आवश्यकता रहेको बताए । उनले भने , ‘जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसको मारमा हामी पनि परेका छौँ । त्यसको निराकरणका लागि स्वच्छ ऊर्जाको विकास नै अहिलेको आवश्यकता हो ।’

जैविक इन्धनका कारण समस्या विकराल बन्दै गएको, बाढीपहिरो, बेमौसमी वर्षामा वृद्धि भएका कारण त्यसको मारमा नेपालसमेत परेकाले त्यसको निराकरणमा जुट्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए ।

प्रधानमन्त्रीले हिमाल नाङ्गै हुने अवस्था आएको र त्यसले ठूलो समस्या निम्त्याउने भएकाले समयमै सचेत हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले हालै अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा समेत त्यस विषयले प्राथमिकता पाएको र नेपालले स्पष्ट ढङ्गले आफ्ना मत दर्ज गराएको उल्लेख गरे ।