• मंसिर १४ २०८१, शुक्रबार

संवैधानिक आयोगका पदाधिकारीको आग्रह : न्याय पाउने अधिकार सुनिश्चित होस्

कार्तिक ३० २०७८, मंगलवार

काठमाडौँ। विभिन्न आठवटा संवैधानिक आयोगका पदाधिकारीले सर्वोच्च अदालतमा न्याय सम्पादन कार्य रोकिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले बार र बेन्चको सहकार्य, सहअस्तित्व र समन्वयमा मात्र प्रभावकारी न्याय सम्पादन हुने हुँदा त्यसको विपरीत बार र बेन्च बीच फाटो आउनु दुर्भाग्यपूर्ण भनेका छन्।

विज्ञप्तिमा राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, दलित आयोग, थारु आयोग, मधेशी आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोग र मुस्लिम आयोगका पदाधिकारीले हस्ताक्षर गरेका छन्।

‘मुलुकको वर्तमान न्यायिक परिदृश्यबाट संविधान, संविधानवाद, कानुनको शासन,नागरिकको मानव अधिकार र मौलिक हकको उपभोगमा नै बाधा अवरोध पुगेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यस प्रकारको बाधा अवरोध जहाँबाट भए पनि राम्रो मान्न सकिँदैन।’

न्यायालयमा यस प्रकारका विवाद वा समस्या उत्पन्न हुँदा संविधान र लोकतन्त्र उपर नै चुनौती आउने हुँदा समस्या समाधानको लागि विधिसम्मत, संविधानसम्मत र न्यायसंगत मार्ग अवलम्बन गर्नु बाहेक अर्को विकल्प नहुने उनीहरुको ठहर छ।

‘अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरु न्याय सम्पादनका लागि बराबर जिम्मेवार छन्। प्रधान न्यायाधीश, न्यायाधीश, न्यायालयका कर्मचारी र बारको समष्टि नै न्यायालय हो’ विज्ञप्तिमा लेखिएको छ, ‘यस विषम परिस्थितिमा सबै सरोकारवालाहरूले आआफ्ना अडानमा लचिलो भई न्याय र जनताका हितका लागि आफ्नो असहमतिका कारणबाट सिर्जना भएका विवादबाट पछि हटेर वर्तमान समस्याको समाधान खोज्नु राष्ट्रिय हितमा छ।’

उनीहरुले संविधान र कानुन बमोजिम वार्ता र संवादको माध्यामबाट समस्याको निकास खोज्न पनि सुझाएका छन्। ​