• मंसिर १३ २०८१, बिहीबार

मधुमेह अर्थात् ‘महको वर्षा’ !

कार्तिक ३० २०७८, मंगलवार

मधुमेहलाई चिनी रोग, सुगर, डायबिटिज आदि विभिन्न नामले पुकारिन्छ । यस वर्षको १४ नोभेम्बरमा पनि विश्व मधुमेह दिवस धुमधामका साथ मनाइयो । यसको नारा थियो, ‘मधुमेह उपचार पहुँच आजै सहज बनाऔं ।’

मधुमेह भनेको रगतमा ग्लुकोजको मात्रा बढी हुनु हो । मधुमेह हिन्दी शब्द हो । मधुको अर्थ ‘मह’ र मेहको अर्थ ‘वर्षा’ भन्ने हुन्छ । डायबिटिज भनेको ग्रीक शब्द हो । यसको अर्थ ‘पानी तान्ने पम्प’ हो ।

तसर्थ, डायबिटिजको ग्रीक शब्दावलीले मधुमेह भनेको ‘धेरै पिसाब लगाउने’ भन्ने अर्थ दिन्छ । मधुमेहले पानी तान्ने यन्त्रको जस्तो काम गर्छ । शरीरको पानी यसले निकै नै तान्छ । यसले गर्दा शरीरमा सुख्खापन आउँछ ।

 

मधुमेह रोग लागेपछि कतिपयमा लक्षण नै देखिदैन । तर धेरैमा लक्षण देखिन्छ । लक्षण नदेखिए पनि ममधुमेह लागेका बिरामी धेरै भेटिएका छन् ।

यसका लक्षण भनेको मुख सुक्ने, धेरै प्यास लाग्ने र धेरै पिसाब आउने हो । लक्षण नदेखिए पनि यो रोग लाग्न सक्छ । यो रोगले ३० वर्षभन्दा माथि उमेर समूहमा आफ्नो राज नै चलाएको हुन्छ ।

यसको निदानका लागि रगत जाँच गराए मात्र हुन्छ । त्यसैले हाल प्रचलनमा आएको ‘तीन महिने सुगर जाँच’ कार्यक्रम नबिराएर रगत जचाउँदा सुगरको आक्रमणबाट बेलैमा बच्न सक्छौं ।

सुगर उत्तेजनामा आउँदा बढ्छ । चिन्ता गर्दा बढ्छ । खानामा हुने असन्तुलनका कारण पनि सुगर बढ्न जान्छ । तर सुगर हुनुको मुख्य कारण चाहिं वंशानुगत गुण नै हो ।

यसबाट बच्ने उपाय भनेको वंशानुगत मधुमेह हुने परिवार मधुमेह बढाउने खालका खाना नखान सतर्क रहनु पर्छ । वंशानुगत भएमा नियन्त्रण गर्न कठिन त हुन्छ, तर पनि नियन्त्रणमा ल्याउनु भन्दा अर्को विकल्प हामीसँग बाँकी रहँदैन ।

मधुमेह कम गर्ने अर्को उपाय हो शरीरको मोटोपनमा कमी ल्याउने । शरीरको तौल घटाएमा मधुमेहमा मात्रात्मक कमी आउन थालिहाल्छ । यसले दैनिक जीवन सहज बनाउँछ । मधुमेह कम हुने बित्तिकै यसले मानसिक तथा शारीरिक सन्तुलन ल्याउन मद्दत गर्छ ।

मधुमेह नियन्त्रणको सवैभन्दा राम्रो उपाय भनेको शरीरबाट सक्दो पसिना बगाउनु हो । यो भनेको शारीरिक परिश्रममा ध्यान दिनु हो । शरीरको बाहिरबाट जति पसिना बगायो, यसले शरीरभित्र रहेको पानी तान्ने पम्पका रुपमा रहेको मधुमेहलाई निस्काम बनाउँदै लैजान्छ ।

यसका लागि मधुमेहका बिरामीले जीवनशैलीमा परिवर्तन ल्याउनु पर्छ । औषधि सेवनले अन्य ‘साइड इफेक्ट’ पनि ल्याउने भएकाले स्वनियन्त्रणमा ध्यान जानु जरुरी छ । त्याो भनेको परिश्रम, नियमित शारीरिक व्यायाम र सुगरजन्य खानामा नियन्त्रण हो ।