• मंसिर २० २०८१, बिहीबार

चुलो बाल्ने विषयलाई ‘नेपाल बन्द’ सम्म नपुर्याऊ

कार्तिक ३० २०७८, मंगलवार

मूल्य वृद्धिका कारण जनताका घरमा चुलो बाल्न नसकेको विषयलाई लिएर फेरि पनि नेपाल बन्द गरियो, संसीर ३० गते । आयोजकका रुपमा राजनीतिक पार्टी देखा परे पनि बन्दको कार्यक्रमलाई सर्वसाधरण तथा सम्बन्धित सबैले विरोध नै गरेनन् । उनीहरुको सक्रिय सहभागिता बन्दमा नभएको होला, तर यो कार्यक्रम मूल्य बृद्धिविरुद्ध गरिएकाले ‘ठीक छ’ भन्ने अवस्थामा सबै पुगेको देखियो ।

यो सरकार र जनताले अवलम्बन गरिरहेको वर्तमान व्यवस्थाका लागि राम्रो कुरो होइन । ‘नेपाल बन्द’को कार्यक्रम आफैमा उच्च प्रकृतिको वैधानिक संघर्षको कार्यक्रम हो । शायद, यो वैधानिक कार्यक्रको अन्तिम सीमामा पुगेको कार्यक्रम हो । यसपछिको चरण भनेको सडक बिद्रोहको कार्यक्रम हुन आउँछ ।

यस अर्थमा नेपाल बन्द ‘मजाक’ वा ‘ठट्टा’को विषय होइन । देशमा व्यवस्था फेरिएपछि शान्ति, सुशासन र स्थिरता तथा विकास निर्माणको अपेक्षा गरिएको हुन्छ । नयाँ शासनमा सापेक्ष स्थायित्व कायम हुनु पर्छ पनि । यसका लागि राज्यसत्ताको कार्यकारी भूमिकामा रहेको सरकारले जिम्मा र अभिभावकत्व लिन सक्नु पर्छ ।

नेपालमा संघीय संविधान निर्माण भएपछि राज्यको पुनर्संरचना भै तीन तहको संघीय सरकारको अभ्यासमा छ । सिंगो देश आफैमा संविधान कार्यान्वयनको अवस्थामा छ । तीनै तहका सरकार निर्वाचित र कार्यकारी भूमिकामा छन् ।

संघीय संरचनाहरु भर्खरै निर्मित र व्यवहारिक प्रयोगको अवस्थामा छन् । संक्रमणकालीन विकासको यस्तो अवस्थामा सिंगो देशलाई सापेक्ष स्थिरतातर्फ हाँक्नु र गतिदिनु सरकारको दायित्व हो ।

तर विडम्बना ! स्थिरता, स्थायित्व, सुुशासन र विकास निर्माणका काम त परै जाओस्, साँझ बिहान चुलो बाल्ने कुरामा पनि सरकार सकारात्मक हुन नसकेपछि सिंगो देश बन्दको स्थितिमा पुगेको छ । जनताको जनजीविका यति जर्जर अबस्थासम्म पुग्दा सरकारले न त राहतको घोषणा गरेको छ, न त जीविकाका कुनै नयाँ र उर्जाशील कार्यक्रमको विकास र कार्यान्वयन नै ।

हामीले भोगिरहेको प्रजातन्त्र भनेको ‘जनताले, जनताका लागि र जनताद्वारा गरिने शासन’ पद्धति हो । तर जनताले उपभोग्य बजारको आकाशिंदो महंगीको मार भोगिरहेकै बेलामा सरकार नियन्त्रित निगम र निकायबाट समेत् खर्चै धान्न नसकिने गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य बृद्धि गरी ‘घाउमा नुनचुक’ थप्न पुगेपछि आजको अवस्था सिर्जना हुन पुगेको देखिन्छ ।

‘नेपाल बन्द’को कार्यक्रम हेर्दा यसको नैतिक दायित्व र जिम्मेवारी देशको अभिभावकका रुपमा रहेको सरकारले लिन हिच्किचाउनु पर्ने अवस्था छैन । बरु यसबाट पाठ लिएर आगामी दिनमा चुलो बाल्ने विषयलाई लिएर जनता र उपभोक्तालाई सडकसम्म नपुर्याउने गरी सोच्नु र कदम चाल्नु नै सरकारका लागि हितमा हुनेछ । त्यसैले सरकार ! आगामी दिनमा नेपाल बन्द गर्नेजस्ता कार्यक्रम ल्याउनु पर्ने बाध्यात्मक अवस्थामा कसैलाई पनि नधकेल ।