• असार २३ २०८१, शनिबार

लुम्बिनीमा दुर्घटनाको डरलाग्दो तथ्यांक, ट्राफिक प्रमुखले गरे कारणको खुलासा ?

कार्तिक ३० २०७८, मंगलवार

दाङ, ३० कार्तिक ।
कार्तिक २२ गतेदेखि २९ गतेसम्म लुम्बिनी प्रदेश अन्तरगतका रोल्पा, प्यूठान र दाङमा मात्रै तीनवटा जीप दुर्घनामा परे । जसमा ६ जनाको मृत्यु भयो भने २२ जना घाइते भए । घाइतेमध्ये आधाजतिलाई गम्भीर चोट लाग्यो । यसले के देखाउँछ भने सवारी दुर्घटनामा अझैपनि कमी आउन सकेको छैन । दिन प्रतिदिन सवारी दुर्घटना बढिरहेको छ भन्ने देखिन्छ ।

लुम्बिनी प्रदेशमा भएको सवारी दुर्घटनाको तथ्यांक हेर्ने हो भने पनि सवारी दुर्घटनामा कमी हुन नसकेको देखिन्छ । बितेको साढे दुई वर्षमा लुम्बिनी प्रदेशका १२ जिल्लामा २ हजार ६ सय २९ वटा सवारी सधान दुर्घटना भएका छन् । जसमा १ हजार १ सय १८ जनाको मृत्यु भएको छ । यो मृत्यु संख्या दैनिक एक जना भन्दा बढी हो । त्यस्तै सोही अवधिमा गम्भीर घाइते हुनेको संख्या पनि ठूलै रहेको छ । १ हजार ३ सय ५३ जना सामान्य घाइते हुँदा गम्भीर घाइते हुनेको संख्या २ हजार ४ सय ११ जना रहेको छ ।

गम्भीर घाइते हुनु भनेको पहिलेकै सामान्य अवस्थामा फर्कन नसक्ने अवस्था रहेको ट्राफिक प्रहरी बताउँछन् । यसरी दैनिक हुने सवारी दुर्घटनाले सवारी सधानको क्षति त भयो नै तर कयौँ मानिसले मृत्युवरण गर्नु परेको छ । कयौँ अंगभंगको अवस्थामा बाँच्नु परेको छ । सानातिना लापर्वाहीलाई ख्याल गर्न नसक्दा नै सवारी सधान दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको ठम्याई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक थम्मन जिसी सवारी दुर्घटनाको थुप्रै कारण भएपनि मुख्य कारण चारवटा रहेको बताउँछन् । मानवीय कारण पहिलो, सडक, सवारी र मौसमका कारणले सवारी दुर्घटना हुने गरेको उनको भनाई छ । मानवीय कारण अन्तरगत सर्वसाधारण या चालकको लापर्वाही पहिलो हो ।

सर्वसाधारण तथा चालक कसैले पनि ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटनामा कमी हुन नसकेको हो । त्यसपछि सडकको अवस्थाले पनि सवारी दुर्घटना हुने गरेको छ । सवारी साधनको चाप धेरै तर सडक भने साँघुरा हुनु, खाल्टाखुल्टी हुनु पनि सवारी दुर्घटनाको अर्को कारण हो । त्यस्तै सवारी साधनको अवस्था राम्रो नुहुनु र कहिले काँही मौसमको कारणले पनि सवारी दुर्घटना हुने गरेको छ ।

तराईमा हुस्सु लाग्ने कारणले सवारी दुर्घटना हुने गरेको छ तर, यी कारणमा पहिलो जिम्मेवार सवारी चालक नै हुने गरेको ट्राफिक प्रमुख जिसी बताउछन् । “अरु कारण जे भएपनि सवारी साधन कस्तो छ, कुन अवस्थामा चलाउनु पर्छ, कुन ठाउँमा लग्ने, कुन ठाउँमा नलग्ने, मापसे गरेर नलाउने भन्ने त चालक नै हो नी, तर चालकहरु त्यसमा पनि लापर्वाही गर्छन्” उनले भने ।

सवारी दुर्घटना हुनुमा सरकारी नीति पनि केही हदसम्म जिम्मेवार रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख जिसी बताउँछन् । “कुन बाटोमा कतिसम्म लोड गाडी चल्नु पर्ने हो, त्यसको मापदण्ड बनाएर कार्यान्वय गर्नु पर्दैन ?, भान्सारबाट ठूला गाडी धेरै लोड लिएर आउँछन्, यहाँ हामीले रोक्न मिल्दैन, भन्सारबाट नै थोरै लोड भएका हाम्रो सडकले धान्न सक्ने गाडीलाई मात्र पास दिने कुराहरु पनि रहन्छ” जिसीले भने ।

सवारी सधान दुर्घटना रोक्नका लागि सबै संयन्त्रहरुले राम्रोसँग काम गर्नु पर्ने उनको धारणा छ । ट्राफिक प्रहरीको थोरै जनशक्तिले गर्दा पनि आफूहरुले भनेको जस्तो नियमन गर्न नसकेको जिसी बताउँछन् । बितेको ६ महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा १ सय ९ जनाको मृत्यु भएको छ । जसमा सबैभन्दा धेरै रुपन्देहीमा २३ जनाको मृत्यु भएको छ ।

१२ जिल्लामा २ सय ८६ वटा दुर्घटना हुँदा १ सय ९ जनाको मृत्यु भएको र २ सय ७४ जना गम्भीर घाइते भएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बितेको ६ महिनामा पूर्वीरुकुममा ४ वटा सवारी दुर्घटना भएपनि मृत्यु भने कसैको नभएको प्रहरी कार्यालयको तथ्यांकमा छ । पूर्वीरुकुम प्रदेशको एक मात्र हिमाली जिल्लामा पनि हो । रुकुम र रुपन्देहीको तथ्यांक हेर्ने हो भने शहरी क्षेत्रमा दुर्घटनाको जोखिम निकै धेरै भएको देखिन्छ ।

त्यस्तै पश्चिम नवलपरासीमा ६ महिनामा सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । त्यसैगरी कपिलवस्तुमा १८, पाल्पामा २, गुल्मीमा ९, अर्घाखाँचीमा १, दाङमा १६, बाँकेमा २१, त्यस्तै बर्दियामा ५, प्यूठान र रोल्पामा ३-३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा छ ।