नेपालमा कोरोना महामारीले ल्याएको आर्थिक अवनति तथा बेरोजगारीलाई मध्यनजर गरेर जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना कार्यान्वयनमा ल्याइएको छ । यो हाल कार्यान्वयन हुँदै गैरहेको यो कार्यक्रम अन्तर्गत पर्यटकीय क्षेत्रको सरसफाइलाई प्राथमिकतामा राखिएको छ ।
यो कार्यक्रम हाल तार्केश्वर र विजयश्वरीमा कार्यान्वयनमा ल्याइएको छ । अन्य पर्यटकीय क्षेत्रहरुमा लैजाने यो कार्यक्रमको लक्ष्य रहेको छ । यस पछि पशुपति र स्वयम्भूमा लागु गरिदै छ । यसले हाल तत्काल रोजगारी सिर्जना गर्ने लक्ष्य लिएर अघि बढिरहेको छ ।
कोरोना महामारीका कारण नेपालको सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको पर्यटन क्षेत्र नै हो । यहाँ अहिले पर्यटकीय गतिविधि निकै कम भैरहेको छ । दषिण एशियामा सबैभन्दा राम्रो पर्यटकीय गतिविधि हुने र त्यसमा पनि ट्रेकिङ व्यवसाय निकै फस्टाएको देश नेपाल नै हो ।
कोरोना महामारीका कारण ट्रेकिङ लगायत समग्र पर्यटकीय क्षेत्र अस्तव्यस्त हुन पुग्दा नेपालले हालसम्म १४ मिलियन डलर घाटा बेहोरिसकेको छ । यो घाटा आपूर्तिको कुरा त छोडौं, पर्यटनलाई थला परेको अवस्थाबाट बिस्तारै उठाउन पनि सकिएको छैन ।
नेपालको कूल गार्हस्थ उत्पादनको ८ प्रतिशत हिस्सा पर्यटनले ओगटेको छ । तर यसैले गति लिन नपाएपछि देशको आर्थिक अवस्था निकै जर्जर हुन गएको छ । यसैलाई मध्यनजर गरी हाल अल्पकालीन कार्यक्रम कार्यान्वयनमा लागिपरेका छन् पर्यटन व्यवसायी पनि ।
युएनडिपी र नाटाको संयुक्त सहयोगमा अल्पकालीन कार्यक्रम कार्यान्वयनमा ल्याइएपछि तार्केश्वर , विजेश्वरी, पशुपति र स्यम्भूका क्षेत्रहरुमा मजदुरहरुले काम पाउने भएका छन् । यस कार्यक्रम अन्तर्गत तत्काल १० दिनको रोजगारी तथा वर्ष दिनमा ४० दिने रोजगारी कार्यक्रम दिइने छ ।
अहिलेको अनुमानमा यो कार्यक्रम अन्तर्गत ३२० जनालाई रोजगारी दिइने यस कार्यक्रमका संयोजकहरुले बताइरहेका छन् । उनीहरुका अनुसार अनलाइन पोर्टल खोलेर यसका लागि आह्वान पनि गरिसकिएको छ ।
यसका लागि प्राथमिकताक्रम निर्धारण गरी रोजगारी दिइने भनिएको छ । पर्यटकीय स्थल सरसफाइका लागि पनि प्राथमिताक्रम तोकिएको छ । पर्यटकीय स्थलमा काठमाडौंमा तारकेश्वर, विजेश्वरी, पशुपति तथा स्वयम्भूलाई प्राथमिकताको क्रममा राखिएको छ भने पोखरामा फेवाताल, बेगनास ताल, सराङकोट आदिलाई ‘फोकस’ गरिएको छ ।
नेपालमा धेरै चल्दै गरेका ट्रेकिङ, र्याफ्टिङ, माउन्टेनियरिङ तथा होटल जिर्भेसन कोभिडको महामारीपछि निकै ठूलो मारमा छन् । पर्यटनको क्षेत्रमा देशभरिमा परिचालित हुने कूल मजदूर संख्याको ५० प्रतिशत मजदुर यिनै सेक्टरका छन् ।