काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गरेको बन्दको प्रभाव रूपन्देही र दाङ लगायत क्षेत्रमा परेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दमा सार्वजनिक र निजी सवारी साधन चलेका छैनन् ।
सडकमा प्रहरीको बाक्लो उपस्थिति छ । फाट्टफुट्ट मोटरसाइकल र साइकल चलेका देखिन्छन् । सडक सुनसान छ । बन्दकर्ता भने सडकमा देखिएका छैनन् । पसलहरू पनि खुलेका छैनन् । नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । बन्दका कारण भने गन्तव्यमा जानुपर्ने यात्रुलाई भने सास्ती भएको छ ।
यता पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन खटिएका नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । यो तनहुँको खबर हो ।
आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका नेत्रविक्रम चन्द नेतृत्वको सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्कर लगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले बताए ।
पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरे । बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।