• मंसिर १० २०८१, सोमबार

मुगुमा भिषण आगलागी, २० भन्दा बढि घर जलेर नष्ट

कार्तिक ३० २०७८, मंगलवार

गमगढी । मुगु जिल्लाको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । आगलागीबाट २० भन्दी बढि घरटहरा जलेर नष्ट भएका छन् । थप आगो फैलन नदिन प्रहरीले एउटा घर भत्काएको छ ।

मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले गए राति करिब १२ः३० मा आगलागी सुरू भएको र बिहान ४ः३० मा मात्रै नियन्त्रणमा लिइएको बताए ।

‘स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ,’ भट्टराईले भने, ‘प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पानी र माटो प्रयोग गरेर चार घन्टापछि आगो नियन्त्रणमा लिइएको छ ।’

आगलागीबाट घरबारबिहीन भएकाहरूलाई छिमेकीका घर र आफन्त कहाँ राखिएको छ । उनीहरूलाई राहत उपलब्ध गराउन आज बिहान जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेको उनले बताए ।

दमकल नहुँदा आगो निभाउन समय लागेको हो । ‘दमकल थिएन । स्थानीयको सहयोगमा प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले पानी र माटोले आगो नियन्त्रणमा लिनुपर्दा समय लाग्यो । थप आगो फैलन नदिन एउटा घर प्रहरीले नै भत्काउनुपर्यो,’ भट्टराईले भने ।

आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण आइनसकेको भट्टराईले बताए । पसल भएका घरहरू पनि जलेकोले धेरै क्षति भएको अनुमान छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । सेतोपाटीले समाचार लेखेको छ ।