काठमाडौं । विप्लव नेकपाका नेता कुमार पौडेलको हत्यामा संलग्न रहेको आरोप लागेका नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई मानवअधिकार उल्लंघन सम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यही बीचमा निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत यो ‘पक्राउ पुर्जी’ जारी गर्नेसम्मको तयारी भएको खुल्न आएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पौडेलका आफन्तले ‘इन्काउन्टर फेक’ भएको भन्दै गत असोज १७ गते सर्लाही जिल्ला प्रहरी कार्यालयमा हत्यामा संलग्न रहेको आरोप लागेकाहरू विरुद्ध जाहेरी दिएका थिए ।
सो जाहेरीमा पालमाथि पनि छानबिन होस् भन्ने माग गरिएको छ तर प्रहरीभित्रको आन्तरिक राजनीतिका कारण उनलाई कार्यकाल अघि नै मुद्दा चलाएर हटाउने तयारीमा केही प्रहरी लागि परेका थिए ।
उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेटेर पालविरुद्ध मुद्दा चलाउनु पर्ने सुझाव दिएका थिए तर प्रधानमन्त्री देउवाले यो विषयमा अहिले ध्यान दिनुनपर्ने भनेपछि मात्रै सो कार्य रोकिएको स्रोतको दाबी छ । ‘ यो समाचार नागरिक दैनिकमा छ ।