• असार २५ २०८१, सोमबार

निःशुल्क स्वास्थ्य शिविर : मन्त्रीले गरे उद्घाटन, डाक्टरले दिए सुझाव

कार्तिक २९ २०७८, सोमबार

घोराही, २९ कार्तिक ।

बिएस डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक प्रा.लि घोराही–१५ स्वर्गद्धारी एफएम रोडले तिनदिने निःशुल्क स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ । अहिलेसम्म दुईसय चार जनाले स्वास्थ्य जाँच गराएको पोलिक्लिनिकका प्रवन्ध निर्देशक शिशीर सुवेदीले जानकारी दिनुभयो ।

एक वर्ष अघिदेखि सञ्चालनमा आएको उक्त पोलिक्लिनिक लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले आइतबार उद्घाटन गर्नु भएको थियो । शनिबारदेखि सोमबारसम्म तिनदिने शिविर सञ्चालनमा ल्याइएको थियो । यो समाचार तयार पार्दासम्म सेवाग्राही प्रशस्त छन् । आफन्तजनलाई बोलाउने र जाँच गराउने क्रम चलिरहेको छ ।

विश्व मधुमेह दिवसको अवसर पारी चलाइएको निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रममा सुगर, किड्नी, पिसाब र आँखाको जाँच निःशुल्क गरिएको सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म निःशुल्क जाँच गरिन्छ ।

गत वर्षदेखि सेवा दिन थालेको सो पोलिक्लिनिकले रोग निदान गर्ने मुख्य लक्ष्य लिएको थियो । घोराहीमा रहेका ल्याव सेवा भन्दा फरक र अझ बढि स्तरीय सेवा दिन खोजेको सुवेदीले बताउनु भयो । उहाँका अनुसार हरेक हप्ता क्यान्सरको जाँच भइरहेको छ । विशेष खालको आधुनिक मेसिन आएको छ । दुई महिनामा दुई सय बढिले क्यान्सरको जाँच गराएको छन् । त्यसमा १५ प्रतिशतलाई रोग पुष्टि भएको सुवेदीको भनाइ छ ।

यस क्षेत्रका बिरामीको शरीरमा गाँठागुँठी देखिए, घाउचोटमा क्यान्सरको शंका लाग्यो भने अब चितवन पुग्नु पर्दैन । क्यान्सर भइसकेको छ–छैन भनेर यहिँबाट थाहा पाउन सकिने भएको छ ।

पोलिक्लिनिकमा एमबीबीएस, एमडी फिजिसियन डा.प्रकाश सुवेदीले विशेषज्ञ सेवा दिनुभएको छ । ल्याव रिपोर्ट अनुसार बिरामीलाई परामर्श दिने गर्नुभएको छ ।

यस क्षेत्रमा लामो समय अनुभव संगाल्नु भएका डा.सुवेदीलाई मधुमेह रोगको अवस्थाका बारेमा प्रश्न गरेका छौं ।

यस क्षेत्रमा मधुमेहको अवस्था कस्तो पाउनु भएको छ ?

घोराही सुगम हो । यहाँ धेरै मानिस सचेत पाएको छु । दुईतिन महिनामा एकपटक सुगर जाँच गर्छन् । त्यसलाई नियमित गरिरहेका छन् । तौल सन्तुलनमा राख्ने र खानपिनमा भने कमि पाएँ । त्यसलाई सुधार गर्ने हो भने मधुमेह रोगबाट बच्न सकिन्छ । यहाँ भन्दा ग्रामिण बस्तीमा अलि चिनी रोगका बारेमा ज्ञान कम छ । उपचारमा आउँदाखेरि औषधिको पहुँच र जाँचपास नपुगेको बुझिन्छ ।

खासमा सुगर (चिनी रोग) के हो नी ?

यो रोग सुगर, चिनी रोग, मधुमेह, डाइबिटिज लगायत धेरै नामले चिनिन्छ । हाम्रो शरीरमा भएको प्यांक्रियाज ग्रन्थीले इन्सुलिन निकाल्ने काम गर्छन् । हामीले खाएको खानेकुराबाट ग्लुकोज बन्छ त्यसलाई शरीरका कोषमा पुर्याउने काम इन्सुलिनले गर्छ । ग्लुकोज कोषमा पुगेपछि तागत दिन्छ । यदि शरीरमा इन्सुलिनको कमि भयो अथवा इन्सुलिनले आफ्नो काम गर्न सकेन त्यो काम रोकिन्छ । त्यसको कारण रगतमा सुगर (चिनी) को मात्रा अत्याधिक हुनसक्छ । समुद्रमा पानी पानी छ तर खान सकिन्न भनेजस्तै रगतमा चिनी–चिनी भयो भने शरीरका कोषहरुमा इन्सलिनले खानेकुराबाट उत्पादित ग्लुकोज पठाउन सक्दैन ।

सुगर भएकाले गुलिया फलफूल खान मिल्दैन र ?

सुगर हुने बित्तिकै चिनी खानै नहुने भन्ने होइन । त्यसमा पनि फलफूल खान मिल्ने भनिएको छैन । फलफूल खाँदा रेसा हुन्छ । भिटामिन पाइन्छ । त्यसले सुगर एकैचोटी बढाउने गर्दैैन । फलफूल खान बन्देज छैन । एउटा स्याउ, नास्पाती, केरा, एकमुठी अंगुर खान बन्देज छैन । धेरै खान भने हुँदैन । केक, कोकाकोला, फेन्टा, लड्डु, मिठाइ, मह, हर्लिक्स खानु भएन ।

सुगर बढ्नुको कारण के त ?

संसारमा एकसय जनामा ९ जनालाई सुगर भएको देखिन्छ । नेपालमा हरेक एक सयमा १२÷१५ जनालाई डाइबिटिज देखिन्छ । अध्ययनहरुले देखाए अनुसार यो दर दक्षिण एसियामै नेपालमा बढि हो । यसको प्रमुख कारण खानपिन नै हो । हाम्रो मोटाई पेट र कम्मर ठूलो हुन्छ । यूरोपियनको हात गोडा लगायत सबै शरीर उत्तिकै मोटाउँछन् । यसको काराण शहरीकरणले निष्कृय बनाएको छ । फास्ट फुडले मानिसहरु झन झन ठूला पेट बनाएको देखिन्छ ।

यसो हुन नदिन के गर्ने ?

निष्कृय जीवनलाई सकृयतामा बदलौँ, फास्ट फुड होइन घरकै प्राकृतिक र अर्ग्यानिक (रासायनिक मल प्रयोग नगरेर उत्पादन गरिएका) खाना खाऔं । पुरानै देखिका अन्नपात खानेकुरा घरमै बनाएको खाऔं । मकै, गहुँ, चना, भटमासका खाजा खाऔं । जीवनशैली कृतिम हुँदै गएको छ । प्रदुषण बढेर तनाव थपिएको छ । प्रदुषण घटाऔं । योगा तथा अन्य शारीरिक कृयाकलाप गरौँ । शरीरलाई चलायमान राखौँ । अब भिडियोको खेल होइन साँच्चैको मैदानमा गएर खेलकुदमा भाग लिऔं । कम्प्युटर खेलबाट युवालाई मैदानमा खेलिने खेलमा लैजाऔं । यसरी सकृय जीवन जीउन थालेमा मधुमेह कम हुन्छ । हामी सुरक्षित हुन्छौँ ।