• असार २५ २०८१, सोमबार

रुकुमको चुनगाउँमा बाटो पिसी, स्थानीय हर्षित

कार्तिक २८ २०७८, आईतवार

रुकुम पश्चिम, २८ कार्तिक ।
कालोपत्रे सडकमा जस्तै पहाडको उकाली ओरालीमा पनि हिंड्न सकिन्छ भन्ने बाटो पिसीले प्रमाणित देखाएको छ । उक्त बाटोमा यतिबेला न हिलो धुलो हुन्छ न त साँघुरिएर लर्किने डर नै छ ।

नयाँ बाटो निर्माणपछि खुट्टाले जमिन धस्सीने, अघिल्ला घुँडाले टेकेर भैंसीहरु बाटोमै थलापर्ने समस्या हटेको मुसिकोट १० चुनका नन्दकुमार खड्काले बताउनु भयो । उहाँका अनुसार झ्याङ चुन वर्षमा दुईपटक गोठ सार्नुपर्छ । गतिलो बाटो नहुँदा घरसम्म डिङाबाच्छा पुर्याउन निकै कठिन हुन्थ्यो । तर यति बेला फराकिलो बाटोमा सजिलै आवात जावत गरिन्छ ।

एक दुईदिन अघि नै गाउँभरीका मिलेर बाटो बनाउन झरा लाग्नु पर्दथ्यो । एउटा भैंसी डोर्याउन र पुच्छर समाउन दुईजना मानिस कम्तिमा चाहिन्थ्यो । अलि मन हुकेन भने तिन जनासम्म बाहुरे हुन्थे । हरेक वर्षको असोज कार्तिक र माघ फागुन त्यस क्षेत्रका बासिन्दाका लागि तनावै हुन्थ्यो । मेरो भैंसी सुरक्षित तरिकाले कसले लगिदेला भनेर बाहुरे खोज्नु पर्थ्यो ।

घरसम्म पुग्ने बाटोका लागि कम्दका ढिक फोर्ने बाहेक मुख्य बाटोमा यसपटक झारा गर्नु नपरेको स्थानीय प्रेमबहादुर खड्काको भनाई थियो । भैंसीहरु मकैबारीबाट डोर्याउँदै घरसम्म लगिएको थियो । मुख्य बाटोमा भने पहिरोले पुरेको एक दुई ठाउँमा बाहेक अन्त कोदालो चलाउनु परेन । काँधमा कोदालो बोकेर भैंसी डोर्याएर झ्याङबाट चुनगाउँ जाँदै गरेका लोकबहादुर खड्काको भनाइ थियो । उहाँका अनुसार नयाँ बाटोले हिंड्न सजिलो बनाएको छ ।

बाटोमुनी कम्द हुनेले घारीतिर गोल्थे । वर्षातमा पानीले बाटोका ढिक भत्काउँथ्यो । जग्गा चौडा हुन्थ्यो बाटो साँघुरिन्थ्यो । माथिबाट पहिरो खस्यो भने जग्गा धनिले अलिक बाटो च्यापेरै गाह्रो उठाउँथ्यो र बाटै संकटमा पर्दथ्यो । पैसामा बाहेक अरुकाममा मानिसहरु हलचल गर्नै छोडेका छन् । युवाहरु विदेश र वृद्धबृद्धा तथा महिलाले घर धानेका छन् । झारा गर्ने जनशशक्ति पनि छैन ।

आर्थिक वर्ष २०७३, ०७४ सालमा तत्कालीन चौखाबाङ गाविसका दलित नमुना बस्तिमा सांसद गणेमान पुनले पाँच लाख बजेट विनियोजन गर्नुभयो । मुसिकोट १० का सदस्य एवं नेकपा माओवादी केन्द्रका स्थानिय नेता धनबहादुर खड्का वसन्तका अनुसार केही बजेटले घरघरै मिचान र टंकी निर्माण गरियो । बचेको बजेटबाट खस्दाखस्दा सकिनै आँटेको बाटो संरक्षणका लागि पिसी गरियो । यो तरिकाले बाटो बनाउने योजना त्यस बेला टायलका रुपमा आएको हो ।

लगत्तै स्थानीय तहको चुनाब भयो । वडाको नेतृत्व गोप्यश्वर केसीको अध्यक्षतामा माओवादीकै बन्यो । त्यसले बाटो पिसी गर्ने योजनालाई पछ्यायो । एक वर्षको अनुभवले बाटो संरक्षण गर्ने र धुलो मुक्त बनाउने उत्तम उपाए भनेर संश्लेषण गरेको सदस्य खड्काले जानकारी दिनुभयो । त्यसै आधारमा वडाको पहिलो बैठकले सवै भित्रि बाटाहरु पिसी गर्ने निर्णय लियोे । पहिलो बजेट बाटै हरेक वर्ष बजेट विनियोजन गर्ने र बाटो पिसी अघि बढाउँदै लगियो ।

अहिले दलित नमुना बस्तीको शुरुको दुई सय ५९ मिटर सहित धेरै ठाउँमा पिसी गरिएको खड्काको भनाई छ । जसमा चुन खोलादेखि झ्याङगाउँसम्म सात सय १४ मिटर छ । खोलादेखि मालिका माध्यमिक विद्यालयसम्म एक हजार तिन सय मिटर, स्कुलदेखि सनिगैराहुँदै चौरसम्म एक हजार एक सय मिटर बाटो बनेको खड्काले बताउनु भयो ।

उहाँका अनुसार अब कामी बुढा पार्क, होलटाकुरी, मुलबाटो, झाडुङा गलम्पाटी जुगेखोरीया, परिवार टोल जेवालेडाँसे दलित नमुना बस्ती लगायतमा बाटो पिसी बनाउने योजना छ । यस वर्ष पचास लाख रुपैयाँ विनियोजन भएको खड्काको भनाई छ । अब चाडबाड सकिएसँगै काम शुरु हुन्छ । चैतमा चुनाब हुने सम्भावना रहेकाले त्यस अघि नै सबै योजना सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ता समिति गठन गरेर सबै काम दु्रत गतिमा अघि बढाउदै लगिने छ ।

यसरी हरेक वर्ष बजेट हालेर बाटो बनाउँदा स्थानीयलाई अत्याधिक फाइदा भएको वडाको बुझाई छ । सिमेन्ट, गिटी, बालुवाले बनेको पक्की बाटो सानातिना ढिस्को जाने पैहिरोले तल तान्दैन । माथिबाट खसेपनि सिमेन्टको प्लाष्टर मिचेर पर्खाल उठाउन मिल्दैन । त्यसैले संरक्षण भएको छ । यसो नगरिएको भए परम्परागत बाटाहरु मासिएर मानिस हिंड्ने लाएक गोरेटा हुँदैन्थे । हरेक वर्ष गाह्रो उठाए पनि एक वर्ष भन्दा बढि टिकाउ हुने थोरै ठाउँ मात्रै थिए ।

खानेपानीको पाइप व्यवस्थित नहुँदा बाटै भरी फिंजिएको छ । ठाउँ ठाउँमा त्यसका जोरनहरु छन् । बाटोमा धाराका पानी छोडेका ठाउँमा भने निकै चिप्लो छ । कसैको घरबाट बाटोमा बग्ने पानीले पनि धराप बनाएको छ । चिप्लो हुन्छ । बाल बच्चा एवम् बृद्धबृद्धा ढले भने सिमेन्टेड बाटोमा चोटपटक लाग्ने खतरा छ । त्यसो नगरे अँध्यारोमा समेत सजिलै हिंड्न सकिने फराकिलो बाटो छ ।

अँध्यारोमा पनि सेतोबाटो देखिन्छ । गाई,भैंसी र भेडा बाख्राका खुट्टा पनि चिल्प्लिदैंनन् । धुलो पनि उड्दैन । त्यसैले यो वर्ष एक हजार नौ सय मिटर बाटो बनाउने लक्ष्य रहेको सदस्य खडकाको भनाई छ । सोचे जस्तै उपलब्धी दिएको सुनाउनु हुन्छ । आगामी सरकारले पनि बाँकी रहेका बाटाहरुलाई पिसी गरेर व्यवस्थित बनाउनुको विकल्प नरहेको भनाई छ ।

स्थलगत रिपोर्ट, रुकुमबाट फर्केपछि ।