• मंसिर १० २०८१, सोमबार

एमालेमा जनवाद कमजोर, केन्द्रीयता हाबी

कार्तिक २८ २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ ।

पार्टीको मूल नेतृत्वले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो । पार्टी संकटमा रहेको र एमालेभित्र एकता कायमै रहेको देखाउनु पर्ने बाध्यतालाई ध्यान दिँदै मूल नेतृत्वले प्रतिनिधि छनोटका लागि सर्वसम्मत तरिका अपनाउन निर्देशन दिएको हो ।

सबैभन्दा लोकतान्त्रिक विधि नै सर्वसम्मत विधि भएकाले पनि प्रतिनिधि छनोटमा यसलाई अपनाइएको एमाले नेताहरूले बताएका छन् । राति अबेरसम्म सबै जिल्ला र कमिटीहरूलाई सर्वसम्मत प्रतिनीधि छनोट गर्ने बाध्य पारिएको जिल्ला नेताहरूले बताएका छन् ।

शनिबार सर्वसम्मत नभएका स्थानमा भने आइतबारसम्ममा सर्वसम्मत रूपमै छनोट गरी केन्द्रमा प्रतिनिधिको नाम पठाउन पनि निर्देशन दिइएको छ । ‘सबै स्थानमा सर्वसम्मत गराउने निर्देशन छ, त्यही अनुसार सबै कमिटीमा प्रतिनिधि छनोटको प्रक्रिया सर्वसम्मत हुन्छ,’ निर्वाचन प्रक्रियामा रहेका एक नेताले भने ।

एमालेले करिब ८ लाख संगठित सदस्यबाट १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश छनोट गर्ने कार्यलाई सर्वसम्मत बनाइसकेको छ । एमालेले देशका सबै भौगोलिक, गैरभौगोलिक कमिटी, जनसंगठन र प्रवासमा शनिबार एकै दिन प्रतिनिधि छनोट सुरु गरेको थियो ।

केही जिल्लाले बिहीबार र शुक्रबार नै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिसकेका पनि छन् । आगामी १० देखि १२ मंसिरमा चितवनमा हुने दसौं महाधिवेशनमा यसरी छनोट भएका १ हजार ९ सय ९९ प्रतिनिधिले पार्टीको मूल नेतृत्वसहित केन्द्रीय कमिटी सदस्यहरू निर्वाचित गर्नेछन् ।

आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।