पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा-काठमाडौं सडक यात्रा दुई घण्टामा झार्ने दाबी गरेका छन् ।
दुई सय किलोमिटर लामो पोखरादेखि काठमाडौँसम्मको सडक यात्रा दुई घण्टामा झार्ने दाबी गर्दै अर्थमन्त्री शर्माले बाटोको यात्रा छोटो बनाए मात्रै आर्थिक विकासले तीव्रता पाउने बताए ।
पोखरामा उद्योगी व्यवसायीहरूसँग कुरा गर्दै अर्थमन्त्री शर्मले भने- ‘पोखरा–काठमाडौँको सडक यात्रा २ घण्टामा झार्नका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको छु । बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिन्छ,’ उनले भने । शर्माले कोरोना भाइरसका कारण निजी क्षेत्र जटिल अवस्थामा पुगेको भन्दै पुनरुत्थानका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए ।
‘पीडित व्यवसायीहरूको लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन गरिरहेका छौं । कसरी बढी लाभ दिन सकिन्छ भन्नेमा सरकार संवेदनशील छ,’ उनले थपे, ‘साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया समेत सुरु भैसकेको छ । उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य हो ।’
उत्पादन गर्ने उद्योगहरूलाई राज्यले जुनसुकै सुविधा पनि दिन सक्ने उनको प्रतिबद्धता छ । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ ? त्यो दिन सरकार तयार छ’, उनले भने, ‘भन्सार छुट चाहियो कि, विद्युत वा कर छुट के चाहिन्छ ? सरकारले त्यो तत्कालै व्यवस्था गर्छ ।’