• असार १७ २०८१, आईतवार

१८ वर्षीय किशोरले बनाए पछाडि गुड्ने मोटरसाइकल

कार्तिक २७ २०७८, शनिबार

काठमाडौँ । सन्धिखर्क नगरपालिकाको खेलकुद तथा सभा समारोह हुने मैदानमा गत बिहीबार एक छुट्टै खालको कार्यक्रम भयो । सधैंजसो खेलकुद, भाषण र विभिन्न कार्यक्रम हेर्न आउने सन्धिखर्कबासी स्थानीय त्यो दिन भने आफ्नै जिल्लामा सिर्जना भएको एउटा आविस्कार हेर्न आएका थिए । स्थानीय जनताको साथमा दर्शकको रुपमा जिल्लाका गन्यमान्य मानिसहरु पनि रहेका थिए । सन्धिखर्कमा भएको आविस्कार हेर्न नगरपालिकाका प्रमुख, वडा अध्यक्षहरु, विद्यालयका शिक्षकहरु, राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरु रहेका थिए ।

आविष्कारको प्रदर्शन गर्नेवाला थिए, १८ वर्षीय सागर पोखरेल । किशोर सागरले नेपालमै विद्युतबाट चल्ने मोटरसाइकल निर्माण गरेका थिए । अर्घाखाँची जस्तो देशको संघीय राजधानीबाट टाढा रहेको ठाउँमा एक किशोरले आफ्नै बलबुतामा विद्युतबाट चल्ने मोटरसाइकल आविष्कार गरेको कुराको सुइँको भने राजधानीले पाएको थिएन । आफूलाई देशको राजधानीहरुको पनि राजधानी हुँ भनेर घमण्ड गर्ने काठमाडौँले मोफसलमा पनि सिर्जना फुट्न सक्छ भनेर यतिकै विस्वास पनि कहाँ गर्छ र ? तर यसले विस्वास गरे पनि नगरे पनि मानिसको सिर्जना भने राजधानी बाहिर पनि प्रस्फुटन भएकै छन् ।

१८ वर्षीय सागर पोखरेलले आविस्कार गरेको विद्युतीय मोटरसाइकल

मैदानमा सागरले विद्युतीय मोटरसाइकल नकुदाउँदासम्म मानिसहरुले खासै पूर्णरुपमा विस्वास पनि गरेका थिएनन् । सबैको अगाडी आफैले निर्माण गरेको सो बाइक सागर पोखरेलले कुदाए । उनले सो मोटरसाइकल अगाडी मात्रै कुदाएनन् पछाडी समेत कुदाएर देखाए । हो त्यो उनले आविष्कार गरेको विद्युतीय मोटरसाइकलमा पछाडितिर पनि गुड्ने ब्याक गिएर समेत रहेको छ । ब्याक गिएर राखिएकै कारण सो मोटरसाइकल पछाडि पनि दौड्न सकेको हो ।

को हुन् सागर पोखरेल ?
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ पाणिनीचोक निवासी पोखरेल १८ वर्षीय किशोर हुन् । हाल उनले रुपन्देही जिल्लाको बुटवल देविनगरस्थित नविन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा १२ कक्षामा सिभिल ओभरसियर पढिरहेका छन् । वि.सं २०६० साल चैत्र १६ गते जन्मिएका किशोर वैज्ञानिक पोखरेल आमा भागवता पोखरेल र बुवा अनन्तमणि पोखरेलका दोस्रो सन्तान हुन् । आमाको कोखबाट दिदीले पहिलो जन्म लिएपछि दोस्रो सन्तानको रुपमा सन्धिखर्कको पाणिनीचोकमा उनी जन्मिएका हुन् ।

कक्षा १० सम्मको शिक्षा अर्घाखाँचीकै छत्रदेव गाउँपालिका वडा नम्बर ७ भुस्खातमा लिएका उनले कक्षा ९ बाटै प्राविधिक धारा तर्फ सिभिल इञ्जिनियरिङ्गको पढाई सुरु गरेका थिए । १० पास गरेर बुटवल झरेका उनले देविनगरको नविन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा सोही विषयमा आफ्नो पढाईलाई जारी राखेका छन् ।

एक सिर्जनशील विद्यार्थी
दुई वर्षदेखि नविन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा प्राविधिक धारा तर्फ सिभिल ओभर सियर पढाईलाई जारी राखेका सागर पोखरेल अरु सामान्य विद्यार्थीभन्दा भिन्दै स्वभाव र चरित्र भएका विद्यार्थी भएको विद्यालयका प्रधान अध्यापक प्रेमबहादुर बस्नेतले बताए । बस्नेतले भने, ‘उनी अलि फरक विद्यार्थी छन्, सिर्जनशील छन्, सबैको साथ पाएपछि पछि केहि गर्न सक्छन् ।’ शैक्षिक पाठ्यक्रम अनुसारको पढाईमा सरदर भएपनि कुनै न कुनै दिन पाठ्यक्रम बाहिरबाट केहि न केहि सिर्जनात्मक काम गरिरहने बानी पोखरेलमा रहेको प्रधान अध्यापक बस्नेले गोलखबर डटकमलाई जानकारी दिए ।

सागरले बनाएको विद्युतीय मोटरसाइकलका विशेषता
आफूले बनाएको मोटरसाइकलको नाम ‘एलेक्ट्रो एमएएसबी’ राखेका उनले सो मोटरसाइकल ४५ देखि ५० किलोमिटर प्रतिघण्टा दौड्न सक्ने जानकारी गोलखबर डटकमलाई दिए । ‘एलेक्ट्रो’ भनेको विद्युतबाट चल्ने र ‘एमएएसबी’ भनेको आफ्नो परिवारसँग सम्बन्धित नाम भएको उनले बताए । आफूले ७५० वाट क्षमताको मोटर प्रयोग गरि सो इन्जिन तयार परेको र यसको आरपिएम ४५० प्रतिमिनेट क्षमता रहेको बताए ।

पछिल्लो दसैं तिहार विदा भएको समयमा अर्घाखाँची घरमा आएका उनले सो विदाको समयलाई सदुपयोग गरेर निरन्तर लागि परेर सो मोटरसाइकल तयार गरेको बताउँछन् । अरु मोटरसाइकल अगाडी मात्रै गुड्न सक्ने रहेका हुन्छन् भने उनले निर्माण गरेको सो मोटरसाइकल पछाडी समेत गुड्न सक्ने विशेषता रहेको उनले विशेष जानकारी दिए ।

निरन्तरताले सफलता
किशोर अवस्थामै कसैको सल्लाह र निगरानी बिना नै नयाँ आविष्कार गर्न भने उनी यत्तिकै सफल भएका होइनन् । यसको लागि उनले धेरै प्रयास गरेका थिए । यसभन्दा पहिले सागरले सानैदेखि विद्युतबाटै चल्ने रोबोट, भ्याकुम क्लिनर, पावर प्लाण्ट, रेफ्रिजेरेटर लगायत निर्माण गरेर सफलला प्राप्त गरेका थिए । सफलता प्राप्त गर्न उनले धेरै प्रयोगात्मक प्रयोगहरु गरेको बताए । प्रयोगात्मक रुपमा काम गर्दा धेरै सरसमानहरु खेर गएको र धेरै पटक आफ्ना प्रयोगहरु असफल भएको उनले बताए ।

साना साना असफलताबाटै ठूलो सफलता प्राप्त हुन्छ भने जस्तै उनले अहिले विद्युतबाट चल्ने मोटरसाइकल निर्माण गरेर कुदाउन सफल भए । आमाबुवा लगायत परिवार र आफन्तहरुको भरपुर सहयोग पाएका उनले आफूले निर्माण गरेका मोटरसाइकल बाहेकका समानहरु घरमै राखेका छन् । भविष्यमा मेकानिकल इन्जिनियर बनेर यही देशमा यही देशको सेवा गरेर देशकै नाम उचो राख्ने चाहना राखेका उनलाई नेपाल सरकार अथवा कुनै निकायले गर्ला त सहयोग ?