• आश्विन १३ २०८१, आईतवार

सिस्नुले किन पोल्छ ? महिलाको दाह्री-जुँगा किन आउँदैन ?

कार्तिक २७ २०७८, शनिबार

सिस्नुका हाँगा र पातमा ससाना रौँ जस्ता काँडाहरु हुन्छन् । यी काँडाहरुको टुप्पो तिखो र फेद फक्रेको थैली जस्तै हुन्छ । यस्ता थैलीमा फर्मिक एसिड भन्ने एक प्रकारको अम्ल हुन्छ । हलुको ढङ्गले मात्र छोयो भने पनि काँडाको टुप्पो हाम्रो छालामा छिर्छ, काँडा भाँचिन्छ र हाम्रो छालामा टाँसिएर आउँछ । काँडामा भएको फर्मिक एसिड हाम्रो छालामा पस्दछ र हामीलाई पोलेको अनुभव हुन्छ ।

सूर्यमुखी फूल किन सूर्यतिरै फर्किन्छ ?

सूर्यमुखी फूलमा अक्सिन भन्ने एक प्रकारको हर्मोन हुन्छ । यसले बिरुवाका कोषहरुलाई तन्किन वा लम्बिन मदत गर्दछ । अक्सिन सूर्यको प्रकाश परेको ठाउँबाट सरेर अझेल भएतिर आउँदछ । बिहान पूर्वबाट सूर्य उदाउँदा फूलको डाँठमा भएको अक्सिन घाम नभएपट्टि वा पश्चिमतिर जम्मा हुनजान्छ र त्यसतर्फका कोषहरु बढी लम्बिन थाल्छन् । त्यसैले फूल स्वतः पूर्वतिर ढल्कन जान्छ । सूर्य सर्दै जाँदा त्यही क्रमले अक्सिन पनि सर्दै जान्छ र सूर्यमुखी फूल सधैँ सूर्यतिर फर्किरहेको हुन्छ ।

महिलाको दाह्री–जुँगा किन आउँदैन ?

मानिसको उमेर बढ्दै गएपछि कपाल वृद्धि हुने प्रक्रियालाई लैङ्गिक ग्रन्थीले नियन्त्रण गर्न थाल्छ । यो ग्रन्थीलाई एडरेनल ग्लाण्ड भनिन्छ । एडरेनल ग्लाण्डले केटाहरुमा र केटीहरुमा भिन्नभिन्नै प्रकारको रस (हर्मोन) पैदा गर्दछ, जसलाई क्रमशः पुरुष हर्मोन (इन्ड्रोजीन) र महिला हर्मोन (ओईस्ट्रोजीन ) भनिन्छ । एन्ड्रोजीनले दाह्री–जुँगा र शरीर रौँको विकास गर्न मदत गर्दछ तर तालुको रौँ वृद्धिमा भने प्रतिकुल असर पार्दछ । ओइस्ट्रोजीनले तालुको कपाल बढाउन मदत गर्छ तर दाह्री जुँगा र शरीरका रौँ भने बढ्न दिँदैन । यसैले स्त्रीजातिमा दाह्री–जुँगा आउँदैन तर पुरुषहरुमा आउँछ ।

विष सेवनले मानिसको कसरी मृत्यु हुन्छ ?

हाम्रो शरीरका लागि शक्ति खानाहरुको अक्सिडेसनबाट प्राप्त हुन्छ । यस
प्रक्रियाले खानालाई ग्लुकोज र पानीमा परिणत गरिदिन्छ । यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानका लागि साइटोक्रोम अक्सिडेज नामक इन्जाइमले मदत पुरायएको हुन्छ । विष सेवनबाट यी इन्जाईमलाई निस्क्रिय तुल्यादिन्छ । र यिनीहरु काम गर्न असक्षम हुन्छन् । फलस्वरूप शरीरमा विभिन्न प्रक्रिया संचालन हुन सक्दैनन र मानिसको मृत्यु हुन्छ । रक्सीको सेवनले मानिसको शारीरिक र मानसिक शक्ति गुम्दछ ,यस्तो कसरी हुन्छ ? रक्सी एक नसालु पदार्थ हो जुन हाम्रो नसाको कोषहरुभित्र एकदमै छिटो छिरेर त्यसलाई निस्कृयप्राय गर्न सक्दछ तर कुनै पनि नसालु पदार्थले त्यस्ता कोषहरुलाई निस्क्रिय पार्नु अघि ती कोषहरुलाई उक्स्याएर उत्तेजित स्थितिमा पुर्याउँदछ । त्यसैले रक्सीले पहिले उत्तेजकको काम गर्दछ जसले गर्दा हाम्रो हाउभाउ र बोलि केही छिटो हुन्छ, छाला अलि रातो हुन्छ, रक्तचाप र मुटुको धड्कन बढ्छ अनि स्वासप्रसाद प्रक्रिया छिटो हुनजान्छ । यसपछि रक्सीले मस्तिष्कमा असर पार्दछ र हामी मानसिक अवस्थालाई नियन्त्रणमा राख्न सक्दैनौं । रक्सीको सेवनले मानिसको शारीरिक र मानसिक शक्ति गुम्छ ।

माकुरो फस्दैन, किन ?

माकुरोले आफ्नो जालो सधैँ गोलो आकारको बनाएरको हुन्छ र आफूलाई बस्ने ठाउँ जालोको माझमा बनाएरको हुन्छ । जालोको बिचमा कुनै प्रकारको टाँसिने पदार्थ हुँदैन तर वरिपरि भने गुंद च्यापच्याप लाग्ने पदार्थले छोपेको हुन्छ । फलस्वरूप किराहरु जालोमा फस्छन् तर माकुराका खुट्टाहरुमा एक प्रकारको तेल जस्तो पदार्थ पोतिएको हुन्छ जसले गर्दा तिनीहरु जालोमा फस्दैनन् ।

पाकेको फल गुलियो हुन्छ किन ?

काँचो फलमा एक प्रकारको रासायनिक पदार्थ (अम्ल)को मात्रा बढी हुन्छ । फल पाक्दै जाँदा विभिन्न किसिमले विस्तारै अम्ल पनि चिनीमा बदलिन थाल्छ । फल पाक्दै जाँदा चिनीको मात्रा पनि बढ्दै जान्छ । यसैले फलफूलहरू हरियो हुँदा वा काँचो बेलामा अमिलो र त्यही फल पाक्दा गुलियो हुन्छ ।

गर्मी हावामा ध्वनि स्पष्ट सुन्न सकिन्छ किन ?

चिसो हावामा आद्र्रता तातो हावामा भन्दा बढी हुन्छ, फलस्वरूप ध्वनीको गीत तातो हावामा भन्दा चिसो हावामा बढी हुन्छ । त्यसैले चिसो हावामा भन्दा गर्मी हावामा ध्वनि स्पष्ट सुन्न सकिन्छ ।

डेसिबल भन्नाले के बुझिन्छ ?

डेसिबल भनेको ध्वनीको ठूलोपनाको तीव्रता नाप्ने एकाइ हो । अहिलेको युगमा विभिन्न उपकरणहरुको सहायताले ध्वनीका बारेमा वैज्ञानिक रूपमा अध्ययन गर्न सकिन्छ । एक डेसिबल भनेको अत्यन्त सानो एकाइ हो, जसलाई हाम्रो कानले ठम्याउन सक्दैन । बीस डेसिबलको आवाज दश डेसिबलको भन्दा सय गुणा बढी शक्तिशाली हुन्छ । तीस डेसिबलको भन्दा हजार गुणा बढी शक्तिशाली हुन्छ । मान्छेको मुटुको धड्कन निस्कने आवाज करिब दश डेसिबलको हुन्छ । टाइपराइटरबाट निस्किने आवाज चालिस डेसिबल हुन्छ । अरू साधारणतया सुनिने आवाजको डेसिबलहरु यसप्रकार छन् । कुकुर भुकेको ६५ डेसिबल, पियानो बजाएको ७५ डेसिबल, सानो मोटर, ट्रक बस चलेको ८० डेसिबल ठूलो स्वरले चिच्चाएको आवाज ८५ डेसिबल । १३० डेसिबल भन्दा माथिका सबै आवाज हाम्रो कानका लागि पीडादायक या हानिकारक हुन्छ ।