• मंसिर ११ २०८१, मंगलवार

मैलाउँदो दण्डहीनता र भ्रष्ट आचार

कार्तिक २७ २०७८, शनिबार

नेपालको सन्दर्भमा भ्रस्टाचार र दण्डहीनता एक सिक्काका दुईपाटाजस्ता हुँदै आएका छन् । यी दुबै ब्याप्त हुँदा नागरिकका प्राप्त हुँदै गरेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवम् विकाससम्बन्धी अधिकार कुण्ठित हुन पुगेका छन् ।

यस कारण मानवअधिकार, जवाफदेहिता, पारदर्शिता, सहभागिता, र विवेक आदिको उल्लङ्घन हुँदै गएको छ । सिद्धान्त कमजोर बनेर गएको छ । यस्तो विकृतजन्य अवस्थामा न्याय प्रशासन नराम्ररी प्रभावित हुन पुगेको छ ।

न्याय र न्यायालयप्रति जनताको विश्वास हराउँदै गएको छ । न्यायिक प्रणालीको क्षमतामा ह्रासको संकेत देखिइरहेको छ । मानव अधिकारको संरक्षण अदालतबाटै हुन सकिरहेको छैन ।

समाजमा स्रोतसाधनको संग्रह भ्रस्ट र संगठित अपराधीका हातमा पग्न गएको छ । साधारण नागरिक अधिकारबाट बञ्चित हुँदै गएका छन् । सेवाका कुराहरु एकादेशका कथा बन्न पुगेका छन् ।

न्यायाधीश, अपराधकर्मको अनुसन्धान गर्नेहरू, कानून व्यवसायीहरू सबैले आफ्नो ब्यवसायिक मूल्य र मान्यतामा असमझदारी ल्याएर अस्तव्यस्तता सिर्जना गरिरहेका छन् ।

निस्पक्ष सुनुवाई हुन छाडेको छ । न्यायाधीशहरू न्यायिक मनले आफ्ना निर्णयहरू गर्न सक्दैनन् । राज्य संयन्त्र बिस्तारै संगठित अपराधी तथा भ्रष्टाचारीको नियन्त्रणमा पुग्दैगैरहेको छ ।

यस्तो अवस्था सृजना हुँदा सबैभन्दा पहिला र बढी मात्रामा समाजका कमजोर, असहाय, जेष्ठ नागरिक, महिला आदि प्रभावित बन्न पुगेका छन् । यस स्थितिमा कानूनी व्यवस्था र यसको कार्यान्वयनका बीचको भिन्नता ठूलो दरार आएको छ ।

भ्रस्टाचारको प्रभाव सबै क्षेत्रमा परेको छ । आर्थिक समृद्धिमा संकुचन आएको छ । कर्मचारीतन्त्रमा जटिलता सिर्जना हुन गएका छन् । कानूनी प्रावधानहरू सेवाग्राहीमैत्री हुनसकेका छैनन् ।

सेवा प्रबाह अत्यन्त असहज र खर्चिलो बन्दैगैरहेको छ । सेवाग्राहीलाई मर्कामा पारी सेवा प्रदायक ठूलो फाइदा लिन आतुर छन् । यसले गर्दा विभिन्न प्रकारका अनिश्चितता र अस्थिरता उत्पन्न हुन गएको छ ।

स्रोतसाधनको अनुपयुक्त बिनियोजन भैरहेको छ । लगानीको अवस्था कमजोर छ, देशको राजनीति र सुशासनको अवस्था अत्यन्त दयनीय हुँदै गएको छ ।

संगठित अपराध र दण्डहीनताको अवस्थामा सुधार ल्याई भ्रस्टाचार नियन्त्रण गर्दै मानव अधिकारको प्रत्याभूति दिलाउन सकिएको छैन । भोको पेट लिएर रात कटाउनेहरुको संख्या बढ्दै गएको छ ।

अभाव र भयबाट मुक्तिदिलाई सबै प्रकारका अधिकारहरू समानरुपमा उपयोग गर्नसक्ने अवस्था केवल मानव अधिकारले मात्र सिर्जना गराउन सक्छ । बढी भ्रस्ट देशहरूमा मानव अधिकारको उल्लङ्घन धेरै हुनुको पछाडिको कारण यही हुन गएको छ ।

भ्रष्ट देशहरुले सबै प्रकारका अपराधकर्मबाट अपराधीलाई अभयदान प्रदान गरेका हुन्छन् । यसै कारण दण्डहीनताको अवस्थाबाट भ्रस्टाचार लगायतका अपराधकर्मले संस्थागत स्वरूप ग्रहण गरिरहेको हुन्छ ।

दण्डहीनता, भ्रस्टाचार र संगठित अपराध बढ़दा यसले प्रत्यक्ष प्रभाव मानव अधिकारमाथि पार्दछ । यस कारण पनि मानव अधिकारको प्रत्याभूतिका लागि भ्रस्टाचारविरुद्ध आवाज बुलन्द गर्नसक्नु पर्दछ ।